ad ad

कारोबार


हचुवाको भरमा खसी-बोका किनबेच, ठगिँदै किसान

हचुवाको भरमा खसी-बोका किनबेच, ठगिँदै किसान

नेपालखबर
असोज १५, २०७९ शनिबार १२:२८, सर्लाही

सर्लाहीको हरिवन–११ स्थित खसी बजारमा शनिबार बिहान दसैँको लागि खसी–बोका किन्नेको ठूलो भिड थियो। ठूला सहर बजारबाट आएका व्यापारी किसानसँग खसी–बोका किन्न तँछाडमछाड गरिरहेका देखिन्थे। 

काठमाडौं, पोखरा, नारायणगढ, बीरगञ्ज, जनकपुर, हेटौँडा लगायतका सहरबाट आएका व्यापारी सकेसम्म किसानलाई कम मूल्य दिएर खसी–बोेका फुत्काइरहेका थिए। 

हरिवन सर्लाहीकै सबैभन्दा ठूलो खसी बजार हो। यहाँ सर्लाहीसँगै सिन्धुली र रौतहटबाट समेत किसानले बिक्रीका लागि खसीबोका ल्याउने गरेका छन्। 

दसैँ अघिको अन्तिम बजार भएकाले स्थानीय किसान आज जसरी पनि आफ्नो उत्पादन बिक्री गर्न हतारिँदै थिए। बिक्दैन कि भन्ने चिन्तामा समेत थिए।

‘आफूले वर्ष दिन, डेढ वर्षसम्म पालेको खसी–बोका बेचेर दसैँ खर्च जुटाउने किसानको चाहना हुन्छ,’ हरिवन–२ अत्रौलीका किसान रामबहादुर मगरले भने, ‘तर दसैँको मुखमा पनि खसी–बोकाको भाउ छैन। व्यापारीले सस्तैमा किनिरहेका छन्। जताबाट पनि ठगिने किसान नै हुन्छन्।’

केही दिनअघि गाउँमै गएका व्यापारीले २० हजार दिएको खसी आज आफूले १७ हजारमै बेच्नुपरेको गुनासो उनले गरे। ‘दसैँको बेला बजार लगेर बेच्दा २२–२३ हजार आउला भन्ने सोचियो। अहिले झन् घटेर बेच्नुपर्यो,’ उनले भने। 

इसराइल दबाडी चितवनको नारायणगढबाट खसी किन्न भनेर शुक्रबार साँझै हरिवनमा आएर बसेका थिए। बिहान ६ बजेदेखि नै किसानसँग खसी–बोका र बाख्रा किन्न सुरु गरेका उनले आठबजेसम्म दुई गाडी खसीबोका किनिसकेका थिए। उनले खसी–बाख्राको व्यापारमा करोडौँ लगानी गरेका छन्।

‘यो दुई घण्टामा मैले १० लाख जतिको खसी–बोका किनिसकेँ,’ दबाडीले भने, ‘पाए अझै २० लाख जतिको किन्ने सोच छ,’ किसानसँग खसीबोकाको दलाली गरिरहेका उनले हतारिँदै भने। उनी जस्ता सयौँ व्यापारी किसानसँग खसीबोकाको कारोबार गरिहेका थिए।

नारायणगढमा दबाडीको आफ्नै मासु पसल पनि छ। ‘धेरैजसो खसीबोका काठमाडौं, पोखरा पठाउँछु, केही आफ्नै पसलबाट पनि बिक्री गर्छु,’ उनले भने। 

काटेको मासु किलोको १२ सयमा बेच्दै आएका उनले किसानसँग जिउँदो खसी–बोका भने प्रतिकिलो पाँच सय भन्दा कम मूल्यमा खरिद गरिरहेका थिए।

‘हामी किसानसँग जोखेर खसी–बोका किन्दैनौँ। हचुवामै किन्ने हो,’ वीरगन्जका व्यापारी मिश्राइल अन्सारीले भने, ‘हामी वीरगन्ज पुर्‍याएपछि ग्राहकलाई बेच्दा भने जिउँदै खसीबोका पनि जोखेर बेच्छौँ। आम्दानी राम्रै हुन्छ।’ 

उनले भण्डै २०–२२ किलोको खसी आज आफूले १० हजारमै किनेको सुनाए। ‘खसीबोका धेरै आएकाले आज त्यति महंगो मूल्य हाल्नु परेको छैन,’ खुसी हुँदै उनले भने। 

हरिवन नगरपालिकाकाले चालु आर्थिक वर्षको लागि खसी बजार ६५ लाख रुपैयाँमा ठेक्का लगाएको छ। तर, किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन भन्नेतर्फ भने नगरपालिकाले चासो दिएको छैन। 

किसानले ल्याएका खसी–बोका जोखेर बेच्ने व्यवस्था नगरपालिकाले गर्ने हो भने व्यापारीले मौका हेरेर किसानलाई ठग्न पाउने थिएनन्।
 
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी भने किसान र व्यापारी कतैबाट पनि अहिलेसम्म खसी बजारमा काँटाको व्यवस्था गर्नुपर्यो भन्ने माग नआएको दाबी गर्छन्। 

‘किसान र व्यापारीले खसीबोका जोख्न बजारमा काँटा राख्नुपर्यो भन्ने माग गरे भने त्यसको व्यवस्था नगरपालिकाले गर्छ,’ उनले भने, ‘तर धेरैजसो व्यापारी किसानसँग जोखेर खसीबोका किन्न चाहँदैनन्।’

केही समयअघिसम्म पूर्वपश्चिम राजमार्गसँगै जोडिएको हरिवनको मुख्य बजार क्षेत्रमा खसी–बोकाको कारोबार हुन्थ्यो। त्यतिबेला कतिपय किसान र व्यापारी स्थानीय खाद व्यापारीका काँटामा खसीबोका जोखेर किनबेच गर्थे। 

तर, अहिले हरिवनको मुख्य बजारबाट दुई किलोमिटर पूर्व बासाटोलको खाली ठाउँमा खसीबोका किनबेच गर्ने क्षेत्र नगरपालिकाले तोकेको छ। खसीबोका जोखेर किनबेच गर्न चाहने व्यापारीको लागि भने नगरपालिकाले काँटाको व्यवस्था गरेको छैन। 

यस वर्ष बडा दसैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ तोकेको छ। कम्पनीले जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ।

तर, सर्लाहीका किसान भने दसैँको मुखमा व्यापारीलाई कौडीको मूल्यमा खसीबोका दिन बाध्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .