ad ad

कारोबार


स्वदेशी लगानीमै निजगढ विमानस्थल बन्ने

सरकार र प्राधिकरणले ६० र ४० प्रतिशत लगानी गर्न सुझाव
स्वदेशी लगानीमै निजगढ विमानस्थल बन्ने

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १५:९, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन्। 

महानिर्देशक अधिकारीले प्रश्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानी बिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिहरुबाट नै बनाउने बताएका हुन्। 

उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए। महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिरगरे। 

उनले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताए। उनले विमानस्थल बनाउने लागतका हिसावले जङ्गल कटानदेखि अन्य निर्माणको लागि ७ वर्षको समय अविधमा १ खर्ब २० अर्बमा वार्षिक १७ अर्ब रुपैयाँ जम्मा गर्दा पुग्ने बताए। 

महानिर्देशक अधिकारीले वार्षिक १७ अर्बमा १० अर्ब नेपाल सरकारले र ७ अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनसक्ने बताए। उनले नेपालले विमानस्थल बनाउन सकिँदैन भन्ने सोचलाई परिवर्तन गरेर आत्मविश्वास बढाउनु आवश्यक रहेको बताए। उनले प्रस्तावित विमानस्थल योजना नेपाल सरकारले आफैँले गर्ने प्रतिवद्धता हुनपर्ने बताए। 

उनले भने, ‘नेपालले निजगढ विमानस्थल बनाउनसक्दैन भनेर बाहिर धेरै प्रचारप्रसार गरिएको छ। तर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नेपाली प्राविधिकहरुले बनाउनै नसक्ने विषय होइन।’

सरकारको भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा मुआब्जा समेत गरेर करिब ३०  अर्ब खर्च भएको उनको भनाइ छ। 

‘अझै अर्को ३० अर्ब खर्च हुन्छ त्यसरी ६० अर्ब भयो। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा खर्बौं खर्च गरेका छौँ। अहिले पनि निर्माणको काम गरिरहेका छौँ। निजगढ विमानस्थललाई एक खर्ब २० अर्ब भनेका छौँ। लागतका हिसावले पनि १ गुणा ठूलो होइन’, उनले थपे, ‘यो नेपालले गर्न नसक्ने आयोजना होइन । गर्न सकिन्न भन्ने नेपालीहरुको सोचाइमा छ त्यो परिर्वतन गर्नु जरुरी छ । यो विमानस्थल आफैँ बनाउन सक्छौं। विज्ञ समूहले पनि स्पष्ट मोडालिटी दिएको छ । जसमा ६० प्रशित नेपाल सरकारले ४० प्रतिशत नेपाल नागरिक उड्डयन प्राधिकरण लगानी गर्नेछ।’ 

महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माण सम्बन्धि ऐनलाई नै संशोधन गर्नुपर्ने बताए। उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बौं रुपैयाँ खर्च भएको दाबी गरे। महानिर्देशक अधिकारीले प्रस्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि वृहत छलफल गर्नुपर्ने बताए। 

उनले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाइ यात्रु बढ्दै गएको बताए। अधिकारीले अब एसिया प्यासेफिक क्षेत्रमा नै हवाइ यात्रु बढ्दै जाने देखिएको बताए। उनले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयको लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताए। 

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्णरुपमा सञ्चालनमा आउन नसक्ने बताए। उनले पूर्णरुपमा सञ्चालनमा आउनको लागि समय लाग्ने बताए। उनले वार्षिक १० लाख हवाई यात्रु थपिँदै गएकाले १० वर्षमा पाँच करोड पुग्ने बताए। 

उनले नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुको लागि पनि नभएको उल्लेख गरे। उनले हवाई यात्रु बढ्दै गएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता छैन भन्नु नै निरर्थक भएको बताए। न्युज एजेन्सी नेपालबाट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .