ad ad

कारोबार


गुल्मीका ज्ञवालीको कस्टोमेड टेलरिङ : २५ वर्ष थाइल्यान्डमा बसे, ‘बोस’ काठमाडौं ल्याए

गुल्मीका ज्ञवालीको कस्टोमेड टेलरिङ : २५ वर्ष थाइल्यान्डमा बसे, ‘बोस’ काठमाडौं ल्याए

कस्टोमेड टेलरिङ व्यवसायी डिल्ली ज्ञवाली। तस्बिर : सरोज बैजु/नेपालखबर


वसन्त अर्याल
भदौ २५, २०७९ शनिबार ६:५३, काठमाडौँ

बैंकककै परिधिमा पर्ने सुकुम्वित विदेशीको जमघट हुने थाइल्यान्डको चर्चित ठाउँ हो।

थाइल्यान्ड जाने अधिकांश पर्यटक यहाँ सपिङ गरेर मात्रै फर्किन्छन्। विदेशी मन र आँखालाई आफूतिर एकोहोरो तानिरहेको त्यही सुकुम्वितमा एक नेपाली २५ वर्षदेखि कस्टोमेड टेलरिङ व्यवसायमा मुग्ध छन्।

कस्टोमेड कपडा अर्थात् ग्राहकको चाहना र डिजाइनअनुसार तयार हुने पहिरन। थाइल्यान्डमा यसकै लागि युरोप, सिंगापुर र मलेसियादेखि सपिङ गर्न आउँछन् पर्यटक।

तिनलाई रोजेको कपडा चाहेको डिजाइनमा तयार गरी सन्तुष्ट बनाउनेमध्ये एक हुन् गुल्मीका डिल्ली ज्ञवाली।  

दुई दशक बढी समयदेखि सुकुम्वितमा ज्ञवालीको व्यवसाय चलिरहेको छ। उनका युरोप–अमेरिकादेखि एसियाकै सिंगापुर, मलेसिया र भारतका ग्राहक छन्।   

‘१ हप्ताको होलिडे थाइल्यान्डमा मनाउँछु भनेर कस्टोमेड कपडाको योजनासहित आउँछन्’, ती ग्राहकबारे उनी भन्छन्, ‘सिङ्गापुरबाट समेत विकेन्ड (सप्ताहान्त)मा कस्टोमेड सपिङको लागि आउँछन्।’

विदेशीबाटै व्यवसाय सिकेका ज्ञवाली उनीहरुकै इच्छा र चाहनाअनुसार डिजाइन तयार पारी सन्तुष्ट बनाउँछन्।  

‘हरेक कपडा नापेर मात्रै बनाउँछौँ’, हाल काठमाडौंमा रहेका ज्ञवाली भन्छन्, ‘कस्टोमेड टेलरिङ व्यवसायकै सिलसिलमामा विश्वका धेरैजसो देशमा पुगिसकेँ।’ 

उनले त्यहाँ विवाह, उत्सव र औपचारिक कार्यक्रमका लागि एस्क्लुसिभ कस्टोमेड कपडा बनाउने गरेका छन्। तिनको नाप लिनकै लागि युरोपका अधिकांश देश घुमेका उनले अमेरिकासम्म पुगेको अनुभव सुनाए।  

‘त्यहाँ पुगेर नापेर ल्याएका कपडा थाइल्यान्डमा बनाई पार्सल गर्छौँ’, उनले नेपालखबरसँग भने।

थाइल्यान्डमा कोभिडअघि राम्रै व्यापार हुने गरेको ज्ञवाली बताउँछन्। ‘तर अहिले पर्यटक आवागमन कम हुँदा व्यवसाय बढ्नसकेको छैन’, उनले थपे।  

ग्राहकले कस्ता डिजाइन चाहन्छन् त? उनका अनुसार ग्राहक आफ्नो रीतिरिवाज अनुसार फरक–फरक डिजाइन खोज्छन्। 

‘दक्षिण अफ्रिकीले आफ्नै खोज्छन्, श्रीलंकालीले आफ्नै। त्योमात्र होइन, जापानी, अमेरिकी सबैको आफ्नै डिजाइन हुन्छ’, उनी भन्छन्। 

त्यसो त युरोपमा विदा हुँदा थाइल्यान्डमा व्यवसाय बढ्छ। थाइल्यान्डमा १ दिनमै सुट तयार हुने गरेको उनले जानकारी दिए।  

थाइल्यान्डको ‘बोस’ काठमाडौंमा 
थाइल्यान्डमा ‘बोस सुकुम्वित’ चलाएका ज्ञवालीले नेपालमा पनि ‘बोस काठमाडौं’ सञ्चालन गरिरहेका छन्। उनी दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। 

कम्पनी सञ्चालनको सिलसिलामा उनको थाइल्यान्ड र नेपाल आउजाउ नियमितजस्तै हुन्छ। थाइल्यान्डमा बटुलेको करिब साढे २ दशक लामो अनुभव नेपालमा प्रयोग गरिरहेको उनी बताउँछन्। 

‘नेपालमा करिब ४ वर्ष हुँदा २ वर्ष बढी कोभिडकै कारण सोचेजस्तो भएको छैन’, उनले सुनाए, ‘नेपालमा व्यवसाय सञ्चालन खर्च धाने पनि ठूलो कारोबार गर्नसकेका छैनौँ।’

थाइल्यान्डमा जस्तै उनले नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी काठमाडौंको लाजिम्पाटमा व्यवसाय सुुरु गरेका थिए। तर कोभिडको कारण उल्लेख्य मात्रामा पर्यटक आउन पाएका छैनन्। अहिले बोस काठमाडौंका ०.५ प्रतिशत मात्रै विदेशी ग्राहक रहेको उनले जानकारी दिए। 

नेपालमा कस्तो छ कस्टोमेड टेलरिङ?
थाइल्यान्ड र हङकङ टेलरिङका लागि विश्वमै प्रसिद्ध छन्। तर नेपालको टेलरिङले यस्तो सफलता पाउनसकेको छैन। यद्यपि हातले बुनेका कपडाको भने विश्वास बढी रहेको उनको बुझाइ छ। 

‘नेपाललाई टेलरिङको लागि फेमस बनाउन खोजेका हौँ’, उनी भन्छन्, ‘टेलरिङको प्रक्रिया थाइल्यान्डभन्दा नेपालमा राम्रो छ। तर नेपालमा विश्वास जगाउनै सकेका छैनौँ।’

कामदार स्थायी हुँदा थाइल्यान्डमा व्यवसाय गर्न सहज रहेको उनी सुनाउँछन्। तर नेपालमा त्यस्तो छैन। पैसा कमाउन विदेशिने प्रवृत्ति बढी छ। नेपालमा सुट सिलाउनेले ६०–७० हजार कमाउन सके पनि नेपालीहरु ४०–४५ हजार कमाउन खाडी जाने गरेकोमा उनको चिन्ता छ। 

‘यहाँ गर्न छोडेर विदेश काम गर्न जाने संस्कृतिको विकास हुनु राम्रो होइन’, उनले भने। 

‘बोस’ महिला र पुरुष दुवैका लागि कस्टोमेड टेलर हो। तर अन्तर्राष्ट्रिय बजार नहुँदा नेपालमा अझै विकास गर्न नसकेको उनी बताउँछन्। 

सिजनमा राम्रो व्यापार 
नेपालमा दशैँ तिहार, विवाहको सिजनमा बढी व्यापार हुने गरेको छ। तर बोस काठमाडौंमा भने व्यक्तिगत ग्राहक बढी आउने गरेका छन्। 

‘हाम्रोमा सिजनेबलभन्दा पनि व्यक्तिगत आवश्यकताको आधारमै बढी बिक्री हुन्छ’, उनले सुनाए। 

ज्ञवालीले सुटसँगै नेपाली दौरा सुरुवाल पनि सिलाउँछन्। दौरा सुरुवालको कपडा भने स्थानीय नै प्रयोग गर्छन्। 

‘नेपाललाई टेलरिङको लागि राम्रो बनाउन गुणस्तरको कपडा, सिलाइ र छोटो समयमा काम गर्नसक्ने हुनुपर्छ’, उनको बुझाइ छ। 

उनीहरुले कपडा आफैँ आयात गर्छन्। अरुसँग कपडा खरिद गर्दैनन्। यसो गर्दा गुणस्तरमा तलमाथि नहुने भएकाले ज्ञवालीले आगामी दिनमा कस्टोमेड व्यापार राम्रै देखेका छन्। अहिले नेपाली ग्राहकलक्षित भए पनि मुख्य योजना विदेशी ग्राहक नै भएको उनले सुनाए। तर त्यसको लागि नेपालमा पर्यटक आगमन बढ्नुपर्ने उनको शर्त छ। 

उनका अनुसार नेपालमा गाँजा, अल्लोबाट बनेका कपडाको एकदमै राम्रो सम्भावना छ। त्यसका लागि आधुनिक प्रविधिबाट बनाउन सक्नुपर्ने र सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्। विदेशमा प्रवर्द्धन गर्नसके टेलरिङमा राम्रो कमाइ देख्छन् ज्ञवाली। धुँदा कलर जाने कपडाभन्दा गुणस्तरलाई बढी ध्यान दिनुपर्ने उनको सुझाव छ।

१४ हजारदेखि २ लाखसम्मका सुट
ज्ञवाली कस्टोमेडको लागि इटालियन र थाइल्यान्डको कपडा बढी प्रयोग गर्छन्। बढी मिसमास हुने भएकाले भारतीय कपडाको प्रयोग नगरेको उनी बताउँछन्।

कस्टोमेड बुझेका ग्राहक आउने भएकाले उनीहरुप्रति ज्ञवाली इमानदार देखिन्छन्।     

‘हामीले दिन खोजेको गुणस्तर हो। ग्राहकलाई गुनासो गर्ने ठाउँ नै दिँदैनौैँ’, उनी भन्छन्, ‘कस्टोमर आर अलवेज राइट। जे चाहन्छन्, त्यो दिनुपर्छ।’

कामकै सिलसिलामा गल्ती पनि हुन्छ। यस्तोमा उनी अर्को बनाएर ग्राहकको मन जित्छन्। सुट कस्तो लगाउने आफ्नो हैसियतअनुसार उपलब्ध गराउँछन्। 

बोस काठमाडौंमा सुटको न्यूनतम १४ हजार र एक्सक्लुसिभ सुटको २ लाख रुपैयाँसम्म मूल्य छ। सस्तोमा बैंककको कपडा र महंगोमा इटालियन कपडा प्रयोग हुन्छ।  

‘यस्तोमा कपडाभन्दा डिजाइनको मूल्य धेरै पर्छ। जुन ग्राहकले गुणस्तर बुझ्छ, ऊसँग कारोबार गर्न सहज हुन्छ’, ज्ञवाली भन्छन्, ‘हेर्दा उस्तै छ। लेखेको उस्तै हुन्छ। फाइबरबाट गुणस्तर थाहा पाइन्छ।’

विदेशी ग्राहकले जीएसएम १००, १५०, २०० भन्दा कपडाको गुणस्तर बुझे पनि नेपालीलाई भने गुणस्तर बुझाउन गाह्रो रहेको उनको अनुभव छ। 

नेपालमा ‘हतोत्साहित’, विदेशमा सम्मान
ज्ञवाली यो व्यवसायमा लाग्ने समयताका नेपालमा ‘कस्टोमेड’ टेलरिङ व्यवसाय सुरु गर्ने समयमा ‘डिमोरलाइज’ अर्थात् हतोत्साहित गर्ने चलन थियो। निश्चित जाति र थरकाले मात्रै यस्तो व्यवसाय गर्नुपर्छ भन्ने थियो। अहिले नेपालमा पनि सोच परिवर्तन भएको छ। सबै जाति र थरका मानिस चाहेको पेशा गर्न सक्छन्। 

त्यो बेला नै विदेशीले टेलरिङ प्रोफेसनलाई सम्मान गर्थे। २ दशकअघि युरोपमा कस्टोमेड कपडा पाउनै मुश्किल थियो। अहिले युरोपका बजारमा रेडिमेड कपडा बढी जान थालेका छन्। 

‘युरोप/अमेरिका भ्रमणमा गएको बेला ग्राहकले आफ्नो छोराछोरीलाई गौरवका साथ चिनाउँथे’, २००२–२००३ तिरको कुरा सम्झिँदै उनी भन्छन्, ‘युरोपमा कस्टोमाइज कपडा पाउनै मुश्किल थियो। त्यसैले कस्टोमेड प्रोफेसनलाई सम्मान गर्थे।’

दीक्षित हुन गएका थिए, व्यवसायी बने
ज्ञवाली उच्च शिक्षाको लागि सन् १९९४ मा थाइल्यान्ड गएका थिए। त्यो बेलासम्म उनले कस्टोमेड व्यवसायमा जीवन बित्छ भन्ने सोचेकै थिएनन्। 

‘थाइल्यान्डमा आफन्त हुनुहुन्थ्यो। मेहिडोलमा पढ्दापढ्दै टेक्सटायल व्यवसायमा छिरेँ’, उनले भने, ‘टेक्सटाइलसम्बन्धी धेरै सिक्न पाएँ। अहिले त २५ वर्षदेखि थाइल्यान्डमा यही व्यवसाय चलाइरहेका छौँ।’

अहिले उनलाई अरु व्यवसाय चाहिएको छैन। अंग्रेजी राम्रो बोल्न जान्ने ज्ञवालीसँग बैंकक आउने विदेशी ग्राहकलाई आकर्षित गर्ने खुबी छ।

‘नेपाल हुँदा सुती र ऊनका कपडा चिन्न सक्दैनथेँ’, उनी भन्छन्, ‘त्यहाँको वातावरणले अहिले छामेरै कुन कपडा कस्तो हो भन्न सक्छु।’

विदेश गएका धेरै नेपाली फर्किएपछि थुप्रै ठाउँमा लगानी गर्छन्। ज्ञवालीले पनि नेपालमा स्ट्यानलेस स्टिलको व्यवसाय सुरु गरेका थिए। ३–४ वर्ष आफैँ चलाएपछि अरुलाई बिक्री गरे। राष्ट्रपति कार्यालयदेखि तारे होटलसम्म स्ट्यानलेस स्टिलका सामग्री बिक्री गरेको उनी सम्झिन्छन्। अनुभव कम र प्रतिस्पर्धा ज्यादा भएपछि साढे २ दशकदेखि संलग्न रहेको व्यवसायमा नै उनको ध्यान गयो।     

‘आफ्नो ज्ञान र अनुभव जेमा छ त्यसैमा प्रयोग गर्नु राम्रो हुँदो रहेछ’, उनले भने। 

गुल्मीबाट २०४५ सालमा एसएलसी दिएका ज्ञवाली पहिलो जनआन्दोलनको समयमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा ११–१२ पढिरहेका थिए। 

त्यसपछि काठमाडौं मीनभवनबाट स्नातक अध्ययन सुरु गरे। सोसँगै उच्च शिक्षाका लागि थाइल्यान्डको मेहिडोल युनिभर्सिटी हानिएका उनी कस्टोमेड टेलरिङ व्यवसायी बने। 

नेपाल–थाई चेम्बरका सदस्य, गैरआवासीय नेपाली
ज्ञवाली नेपाल थाई चेम्बर अफ कमर्सका सदस्य पनि हुन्। थाइल्यान्ड एनआरएनएका संस्थापक सदस्य समेत रहेका उनी थाइल्यान्ड जाँदा कमै मात्र नेपालीहरु देख्थे। अहिले भने फुकेट, बैंककलगायतका ठाउँमा नेपालीहरु रहेको उनी बताउँछन्। 

त्यहाँ गएपछि उनले एनआरएनए दर्ता गरेर संस्था बनाएका थिए। थाइल्यान्डको एनआरएनएमा गुट उपगुटको राजनीति नभएको उनी बताउँछन्। उनी सेन्ट्रल रिजन कोअर्डिनेटर समेत भएका थिए।

थाइल्यान्डमा नेपालीले सबै किसिमका व्यवसाय गरिरहेका छन्। कस्टोमेड व्यवसायमा भारतीय प्रतिस्पर्धी छन्। उनले पनि भारतीयबाटै बढी सिकेका हुन्। तर पछिल्लो समय नयाँ पुस्ताले यो काम गर्न झन्झट मान्ने गरेको उनको अनुभव छ।  

‘मानिसलाई सन्तुष्ट बनाउन सहज छैन। नयाँ पुस्ता यो काममा आउनै चाहन्नन्’, उनी भन्छन्।

बोस काठमाडौं
पानी पोखरी
फोनः ९८५१००००८३ ०१४४१०५५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .