ad ad

कारोबार


रसुवा ओभरसिजमा विभागकाे छापा, बढी असुलेकाे रकम कामदारलाई फिर्ता

रसुवा ओभरसिजमा विभागकाे छापा, बढी असुलेकाे रकम कामदारलाई फिर्ता

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १५:२४,

सरकारले भिसा र टिकट समेत निःशुल्क हुने गरी सम्झौता गरे पनि मेनपावरहरुले रकम असुल्न नछाडेको पाइएको छ।

आइतबार वैदेशिक रोजगार विभागले सिनामंगलमा रहेको रसुवा ओभरसिजमा छापा मार्ने क्रममा दुई युवासँग मेनपावरले पैसा असुल्दै गर्दा करिब दुई लाख बरामद गरेको हो। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार दुई जना युवाबाट उक्त मेनपावरले १ लाख ८५ हजार बुझिसकेका थिए।

सोही क्रममा विभागको अनुगमन टोली आकस्मिक रुपमा पुगेको थियो। दुवईको तामायाज इम्प्लोयमेन्ट सर्भिसमा बिल्डिङ लेवरको रुपमा मासिक ८ सय दिराम (दुवईको मुद्रा) तलब पाउने भन्दै उनीहरुसँग रसुवा ओभरसिजले उक्त रकम लिएको थियो।

विभागमा सुरेन्द्र राना मगर, बालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर, सन्त बहादुर गरञ्जा मगर र योगबहादुर गरुम्छानले उजुरी गरेपछि विभागले आकस्मिक अनुगमन गरेको हो। सो क्रममा मेनपावरका जितबहादुर बम्जनले योगबहादुर गरुम्छानबाट ७० हजार र सन्त बहादुर गरञ्जा मगरबाट एक लाख १० हजार बुझिसकेको र बाँकी तीन जनासँग रकम बुझ्नै लाग्दा अनुगमन टोलीले रंगेहात फेला पारेको हो।

बाँकी तीन जनासँग यसअघि नै जितबहादुरले नगद ३५ हजार र बाँकी बुझाउन आइतबार उनीहरुलाई मेनपावर बोलाएका थिए। मेनपावरका सञ्चालक सुवर्ण लामा हुन्। उनले जितबहादुरलाई रकम लिन खटाएको स्वीकार गरेको विभागले जनाएको छ।

पाँच जनामध्ये चार जनाको श्रम स्वीकृति निक्लिसकेको अवस्थामा मेनपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट नदिइएको पाइएको छ। विभागको टोलीले पाँचै जना कामदारलाई सरकारले तोकेको शुल्कमा वैदेशिक रोजगारीमा पठाउने र नगदै लिएको बढी रकम उनीहरुलाई नै फिर्ता दिने गरी विभागले कागज गराएको छ।

पाँचै जनालाई बुधबारको टिकट मेनपावरले उपलब्ध गराएको महानिर्देशक भुसालले जानकारी दिए। सञ्चालकलाई भने विभागले मंगलबार विभागमा उपस्थित हुन भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .