ad ad

कारोबार


हरेक २ हप्तामा धरहराको एक तला थपिने

हरेक २ हप्तामा धरहराको एक तला थपिने

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १०:४७,

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण तिव्रगतिमा अगाडि बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताएका हुन्। तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ। अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिएपनि अब हरेक २ हप्तामा १ तला बनाउने गरि काम अगाडी बढेको उनले बताए।

गोश्वरा हुलाक कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय स्तानान्तरण गर्न समय लागेपनि काममा सन्तोषजनक प्रगति भएको उनले बताए। हुलाक कार्यालयका लागि प्रिक्याब भवन निर्माण गरिएको र राष्ट्र बैंकलाई नेपाल औषधि लिमिटेको कम्प्लेक्समा भवन निर्माण गरि स्तानान्तरण गरिएको उनले बताए। ज्ञवालीले स्थानीयहरुको माग अनुसार उत्तरतर्फ सडक खेलिएको र मुल सडकमा जोड्ने गरि गुरुयोजना स्वीकृत भएको बताए।

ज्ञवालीलले बैशाखम्म सम्पन्न गर्नेगरि रानीपोखरी पुनर्निर्माणको काम अगाडि बढेको बताएका छन्। रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा समस्या आएको बताउँदै उनले विज्ञ लगायत सरोकारवालाहरुको सल्लाह अनुसार ग्रन्थकुट शिखर शैलीमा निर्माण गरिने बताए। पोखरीको पिँधमा त्यही भएको कालीमाटी प्रयोग गरिएको उनले बताए। पुस मसान्त भित्र पोखरीको पिँधको काम सकिने, मन्दिर र वरिपरिको काम बैशाखभित्र सम्पन्न हुने उनले बताए।

प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५५३ विद्यालय भवनमध्ये ५ हजार ३४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३८९ भवन पुननिर्माण हुन बाँकी रहेको बताए।

विद्यालय भवनहरुको नर्निर्माण उल्लेख्य देखिएपनि कक्षाकोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन्। धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरि ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उनले जानकारी दिए।

१ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६६५ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको, १४९ पुर्ननिर्माणको क्रममा रहेको र ३८३ पुर्ननिर्माण सुरु हुन बाँकी रहेको उनले बताए। विद्यालय र स्वास्थ्य संस्थाको लागि स्रोत व्यवस्थापन गर्दै जानुपर्ने भएकाले एकैपटक काम सम्पन्न गर्न नसकिएको उनले बताए।

निजी आवास पुर्ननिर्माण तर्फ ८ लाख २० हजार ६९१ लाभग्राहीमध्ये ७ लाख ७९ हजार ८५६ सँग अनुदान सम्झौता भएको उनले बताए। अनुदान सम्झौता भएका मध्ये ७ लाख ६९ हजार ६१६ ले पहिलो किस्ता लगेको र ४ लाख ८१ हजार ५६ घरको निर्माण सम्पन्न भएको छ।

४१५ सरकारी भवनमध्ये ३५१ पुर्ननिर्माण सम्पन्न भएको, ५७ पुनर्निर्माणको क्रममा रहेको र ७ वटा भवनको पुर्ननिर्माण नै बाँकी रहेका छन्। त्यसैगरि ३८३ सुरक्षानिकायका भवन पुर्ननिर्माण गनुपर्नेमा १९४ वटा सम्पन्न भएको, २२ वटा पुर्ननिर्माणको क्रममा रहेको र १६७ वटाको पुर्ननिर्माण सुरु नगरिएको उनले बताएका छन्। सरकारको निर्णय अनुसार बाँकी रहेका भवनहरु अब नियमित कार्यक्रम अन्तर्गत पुननिर्माण गरिने छन्।

७५३ पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गर्नुपर्नेमा ३८७ वटा पुर्ननिर्माण सम्पन्न भइसकेका छन् । १२३ वटा पुर्ननिर्माणको क्रममा छन्, भने २४३ वटाको पुर्ननिर्माण सुरु भएको छैन्। त्यसैगरि क्षति भएका १३२० गुम्बाहरुको मर्मत तथा निर्माणका लागि ३७ करोढ ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। भारतीय एक्जिम बैंक तर्फको बजेट रकम स्रोतान्तरको लागि अनुरोध गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .