राष्ट्रको पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदको लागि अहिले धेरै आकांक्षी देखिए पनि आवेदन माग भएको नौ दिनसम्म उम्मेदवारी भने परेको छैन।
अर्थ मन्त्रालयको संस्थान महाशाखामा आवेदन दिनसक्ने गरी गत हप्ता १५ दिनको अवधि दिएर आवेदन माग गरिएको थियो। तर नौ दिनसम्म कसैले आवेदन नदिएको अर्थ मन्त्रालयले जनाएको छ।
अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा राजस्व सचिव शिशिर ढुंगाना र चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष कृष्णप्रसाद शर्मा रहेको एक समिति गठन गरिएको छ। उक्त समितिको सचिवालय अर्थ मन्त्रालयको संस्थान महाशाखामा रहेको छ।
सरकारले बिजनेस प्लानिङसहित आवेदन माग गरेकोले पनि आकांक्षीहरुले अन्तिम दिनसम्म आवेदन गर्न पाउने अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन्। अन्तिम दिनसम्म अर्थात् आगामी २० गतेसम्म आकांक्षीहरु आउने उनको भनाइ छ। आवेदन खुलेको दिनदेखि बिजनेस प्लानिङ गर्ने गर्छन् र अन्तिम दिन वा सोभन्दा एक दिनअघि मात्रै आवेदन आउने उनको भनाइ छ।
कसरी छनोट हुन्छ अध्यक्ष?
उक्त समितिले उपयुक्त व्यक्तिलाई छनोट गरी अर्थमन्त्रीलाई सिफारिस गर्ने गर्छ। अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र मन्त्रिपरिषदले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ।
छनोट हुनको लागि सबैभन्दा महत्वपूर्ण पक्ष उम्मेदवारको योग्यता नै हो। आवेदन उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रका कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनुपर्ने माग आवेदनमा छ। त्यस्तै उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको समेद आवेदनमा उद्यदेख गरिएको छ। साथै आवेदनकर्ताले आफ्नो बिजनेस प्लानिङ समेत बुझाउनुपर्ने व्यवस्था छ।
कुनै राजनीतिक दलको सदस्य नभएको, बोर्डलगायत सार्वजनिक निकायको कुनै ठेक्कापट्टामा सम्झौता गरी वा नगरी काम गरिरहेको, धितोपत्र वा वस्तु विनिमय बजारमा आफू वा आफ्नो परिवारको सदस्य संलग्न नभएको वा बजारसँग निजको स्वार्थ नरहेको पुष्टि समेत गराई आवेदन दिनुपर्नेछ।
उम्मेदवारको योग्यता र कार्ययोजनाका आधारमा सम्भव भएसम्म पाँच जनालाई योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिने व्यवस्था समेत रहेको छ।
छनौट भएको उम्मेदवारलाई उक्त समितिले अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष सिफारिस गर्नेछ। उक्त सिफारिसको आधारमा मन्त्रिपरिषदमा प्रस्ताव लानेछन् र मन्त्रिपरिषदले अध्यक्षको अन्तिम निर्णय गर्नेछ।
को–को छन् आकांक्षी?
सेबोनको अहिले सबैभन्दा दाबेदार सेबोनकै पूर्वसञ्चालक समिति सदस्य तथा नेप्सेका पूर्वप्रमुख टंक प्रसाद पनेरु नै देखिएका छन्। अर्थमन्त्री पहिले पुँजीबजार क्षेत्रमा धेरै विवादित बनेपछि उनी अलि टेक्निकल मान्छे ल्याउन चाहन्छन्। नेप्सेमा नै बसेर काम गरेको अनुभव तथा तथा सेबोनको समेत अनुभव भएकोले उनीलाई ल्याउन सक्ने आँकलन छ।
त्यस्तै दोस्रा दाबेदार भनेको नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक परिष्ट नाथ पौड्याल हुन्। हाल बोर्डमा नै रहेका उनलाई बढुवा गरेर अध्यक्ष दिन पनि सक्ने देखिएको छ। लामो समय बोर्डमा रहेर काम गरेको अनुभव र उनको प्रस्तुतिलाई हेरेर पनि अध्यक्षको जिम्मेवारी दिनसक्ने देखिएको छ।
उनलाई हाल अध्यक्षले गर्ने कार्यसम्पादनको जिम्मेवारी समेत अर्थ मन्त्रालयले दिएको छ। असोजमा सेबोनको अध्यक्ष रेवत बहादुर कार्की आफ्नो कार्यकाल सकिएर बाहिरिएपछि उनलाई अर्थ मन्त्रालयले कार्यसम्पादनको जिम्मेवारी दिएको हो।
उनी धितोपत्रसम्बन्धी पनि विषयमा नै विद्यावारिधि गरेको तथा सेबोनमा राम्रो काम गरिरहेको आधारमा अर्थमन्त्रीले रुचाएको मान्छेको रुपमा पनि उनलाई हेरिएको छ।
त्यस्तै अरु आकांक्षीहरुमा भीष्मराज ढुङ्गाना, बासुदेव अधिकारी, निल सारु मगर र सेबोनको हालमा बोर्डको कार्यकारी निर्देशकहरु निरज गिरी, नवराज अधिकारी पनि आकांक्षी देखाएका छन्।

प्रतिक्रिया