कारोबार


रोजेको पेसामा रमाइरहेका तीन युवती

रोजेको पेसामा रमाइरहेका तीन युवती

दीपक भट्ट
मंसिर १३, २०७६ शुक्रबार ९:१२,

युवा उमेरमा नयाँ काम गरूँ गरूँ कसलाई लाग्दैन र ! सबैलाई हुन्छ । किनकि त्यो युवाजोस हो नि !

नेपालमा धेरैजसो पुर्ख्याैली पेसामै लाग्ने गरेको पाइन्छ। बाबुबाजेले गरेको काममा सफलता पाए केही पुस्ताले यसलाई निरन्तरता दिने र सोचेजस्तो सफल हुन नसके नयाँ पेसा अंगाल्ने गरेका छन्। तर पछिल्लो समय युवाहरु परिवारलाई ‘कन्भिन्स’ गरेर रोजेको पेसामा संलग्न समेत हुनथालेका छन्।

त्यसैको उदाहरण हुन् तीन चेलीहरु; अनुष्का भट्टराई, दीक्षा कँडेल र प्रतिष्ठा भण्डारी।

la firm from girl 5प्रतिष्ठा भण्डारी, अनुष्का भट्टराई र दीक्षा कँडेल। तस्बिरः स्नेहा केसी

झापा, सुर्खेत र पोखरा घर भएका यी तीन चेलीहरुले काठमाडौंमा महिला अधिवक्तामात्रै रहेको ‘ल फर्म’ खोलेका छन्। वकिल पेसामा व्यक्तित्वले पनि धेरैै प्रभाव पार्ने गर्छ। पुरुष प्रधान समाज र औपचारिक काममा पनि पुरुषलाई नै प्रभावशाली मानिने नेपालमा वकिल भएर मुद्दा जिताउन महिला वकिलकै सहारा लिनेहरु खासै छैनन्।

केही गरूँ भन्ने युवाजोस र पारिवारिक पेसाभन्दा फरक काम यी तीन युवाका लागि चुनौती र अवसर दुवै हो। त्यसमाथि शून्यबाट काम सुरु गर्दा चुनौती ज्यादा नहुने कुरै भएन। उपत्यकामा बस्दै आएका उनीहरुले बबरमहलमा संविधान दिवसको दिन अर्थात् करिब दुइ महिनाअघि मात्रै ‘विधि लिगल कन्सर्न फर्म’ सञ्चालनमा ल्याएका हुन्।

... जब फरक पेसा रोजियो
अनुष्का भट्टराईको परिवारमा कसैले पनि कानुन पेसा गरेनन्। पेसाले इन्जिनियर उनका बुबालाई छोरीले आफ्नै बाटो समातोस् भन्ने लागेको थियो तर रहर एकै हुँदैन। उनी कानुन नै पढ्न चाहन्थिन्। स्कुल पढ्दादेखि नै बोल्न बढी मन पर्ने उनको स्वभाव तर्क वितर्कहरुमा रमाउँथ्यो। शिक्षकहरु त उनलाई ‘झापाली पनि हौ बाठी पनि छौ’, वकिल बनेर केही गर्न सक्छौं भन्ने हौसला दिन्थे। जसले उनको मानसिकता वकिल बन्नेतिरै डोर्‍यायो।

la firm from girl 2दीक्षा कँडेल। तस्बिरः स्नेहा केसी

त्यस्तै, दीक्षा कँडेलको परिवारका लागि पनि कानुन व्यवसाय नयाँ थियो। उनी सानैदेखि स्कुलमा अगाडि बढेर बोल्ने विद्यार्थीमा पर्थिन्। यही स्वभाव उनका लागि वकिल बन्ने संकेत थियो। पछि पछि उनी स्वयं यो पेसामा जसरी पनि लाग्ने मानसिकताअनुसार अघि बढिन्।

विज्ञान संकाय अध्ययन गरेकी प्रतिष्ठा भण्डारीलाई भने अलि ठूलै भएपछि वकिल पेसा रोज्न मन लाग्यो। उनको विषय नै विज्ञान भएकाले डाक्टर र इन्जिनियर बन्नेबाहेक विकल्प थिएन तर उनी त्यो विकल्पभन्दा फरक हुन चाहिन्। कानुन उनको परिवारमा पनि नौलो क्षेत्र थियो तर जब प्रतिष्ठा यसमै लागिन्, अब नौलो रहेन।
............

‘पायाेनियर’देखि ‘विधि लिगल कन्सर्न’सम्म
उनीरुको कथा सुरु हुन्छ, पायोनियर ल एसोसिएटबाट। पायोनियर ल एसोसिएट नेपालको ल फर्ममध्येकै चर्चित नाम हो।

तीनै जनाले यसमा चार वर्षअघि काम सुरु गरेका थिए। एलएलबी तहको पढाइ सकेपछि काममा प्रवेश हुँदा फर्ममा धेरै महिलाहरु काम गरिरहेका थिए। तर नाम भने कतै पनि महिला जोडिएर आउँदैनथ्यो। अहिलेसम्म आफ्नो स्तर खस्किन नदिएको यो ल फर्म अहिले पनि वरिष्ठ कानुन व्यवसायी भरतराज उप्रेतीकै नामले चर्चित छ।

ल फर्ममा सबै काम महिलाले ‘ह्याण्डल’ गरेको देखेपछि तीन जनालाई हामी नै केही गर्न सक्ने रहेछौँ भन्ने महसुस गरे। अन्ततः त्यही आत्मबलले बबरमहलमा विधि लिगल कन्सर्न फर्म खुल्यो।

la firm from girl 6

‘कलेजमा जतिसुकै सिके पनि पायोनियरबाट नै प्राक्टिकल कुराहरु सिकेको हो’, अनुष्का भट्टराईले नेपालखबरसँग भन्छिन्, ‘मैले इन्टर्नसिपबाट नै त्यहाँ काम सुरु गरेकी हुँ। करिब चार वर्ष त्यहाँ काम गर्दा धेरै सिक्ने अवसर मिल्यो।’

कलेज पढ्दा उनी अदालत जाने, बहस गर्ने र आफ्नो पक्षलाई जिताउने त हो भन्ने खालको सोचाइ आउँथ्यो। तर पायोनियर पुगेपछि उनले नीतिगत तहकै कुराहरुमा कानुनी बहस कसरी गराउने भन्ने व्यावहारिक पक्षहरु सिकिन्।

‘जस्तो कि कम्पनी ल तथा ‘कन्ट्रयाक्ट’ ल अदालत जानुपहिले नै ल फर्ममा छलफल हुँदो रहेछ’, उनी भन्छिन्, ‘कुन कानुनको प्रयोग गर्दा कम्पनीको फंक्सनिङ (कार्यक्षमता)मा प्रभाव पार्दो रहेछ भन्ने कुराहरु सिक्ने मौका पाएँ।’

पायोनियरबाट सिकेर आफ्नै ल फर्म खोल्ने आँट गरेका उनीहरुले भरतराज उप्रेतीसँगै बसेर काम गर्ने मौका त पाएनन् तर उनको काम गर्ने अवधारणाचाहिँ राम्रैसँग सिके। जुन उनीहरुको लागि ढाडसको कुरा थियो।

पायोनियरमा रहेर अनुभव बटुल्दा उनीहरुले व्यक्ति होइन, ल फर्म नै बलियो हुनुपर्छ भन्ने सिके। हुन त कुनै ल फर्ममा रहेर काम सिकिसकेपछि अहिले पनि पुरुषहरु आफ्नै ल फर्म खोल्नतिर लाग्छन् भने महिलाहरुचाहिँ कुनै कर्पोरेट हाउसमा आबद्ध भएर कानुनी विज्ञको रुपमा राम्रै तलब सुविधा लिन्छन्। किनकि त्यसैलाई उनीहरुले भविष्य सुरक्षित हुने उपायका रुपमा लिन्छन्।

la firm from girl 3प्रतिष्ठा भण्डारी। तस्बिरः स्नेहा केसी

यी तीन युवाको हकमा उक्त कुरा लागू हुँदैन। फरक सोच तीन युवाको मुख्य विशेषता बन्यो जुन उनीहरुले अंगालेको पेसामा पाउन सकिन्छ। उनीहरुले खोलेको विधि ल फर्म व्यावसायिक क्षेत्रको कानुनी परामर्श दिने फर्म हो।

व्यावसायिक क्षेत्रका मुद्दामा मात्रै यसले काम गर्छ।

तीनमध्येकी अर्की युवा प्रतिष्ठा भण्डारी कर्पोरेट हाउसमा काम गर्ने मान्छे सानो मुद्दामा मात्रै केन्द्रित हुने बताउँछिन्।

‘जस्तै टेलिकम्युनिकेसनसम्बन्धी कुनै कम्पनीमा कानुनी विज्ञको रुपमा काम गरिन्छ भने टेलिकम्युनिकेसन मात्रै आफूले ध्यान दिने हो, अरु कुरामा जानै सकिँदैन’, उनी भन्छिन्, ‘त्यसले पर्सनल ग्रोथ हुँदैन भन्ने भयो। अर्कोचाहिँ जति च्यालेन्जिङ भए पनि केही गराउन सकिन्छ भन्ने भयो।’

त्यो पनि महिला अधिवक्ताले मात्रै सेवा दिने प्रकृतिको र व्यावसायिक क्षेत्रका मुद्दा मात्रै हेर्ने आफ्नै ल फर्म सुरु गर्नु चुनौती नै पार गरेसरह हुन्थ्यो। तर पायोनियरलाई महिलाहरुले नै हाँकेको अनुभवले आफैँ केही गर्न सकिन्छ भन्ने लागेको प्रतिष्ठाको भनाइ छ।

फरक व्यक्ति फरक सेवा
विधिमा अहिले अनुष्काले कर्पोरेट, दीक्षाले टेलिकम, हाइड्रोलगायत र प्रतिष्ठाले कर र लेबर (श्रम)का क्लाइन्ट (सेवाग्राही)हरुलाई सेवा दिन्छन्। कामलाई राम्रो र दख्खल बनाउन यसो गरेको उनीहरु बताउँछन्।

उनीहरुको भनाइ छ, ‘आफ्ना रुचि र काम बाँडफाँटको आधारमा बिजनेस क्षेत्र मात्रै होइन, त्योभन्दा पनि भित्रको क्षेत्र बाँडेर हेर्न थालेका हौँ।’

la firm from girl 4अनुष्का भट्टराइ। तस्बिरः स्नेहा केसी

काम गर्दैगर्दा उनीहरुलाई नेपालमा एकै व्यक्तिले धेरै क्षेत्रका मुद्दामामिलामा सेवा दिनेभन्दा विषयविज्ञताको आधारमा सम्बन्धित क्षेत्रको मात्रै सेवा दिनुपर्छ भन्ने लाग्नथालेको छ। घरजग्गा पनि हेर्न र ज्यान मुद्दा पनि हेर्ने गर्दा त्यसमा सफलता पाउन गाह्रो हुने बताउँछन्।

काममा खुसी छौँ, रम्दै छौँ
लामो समय नभए पनि काम गर्दा खुसी लागेको छ तीनै जनालाई। उनीहरु भन्छन्, ‘जब गर्दा कसैलाई खुसी पार्नको लागि गरिँदो रहेछ तर आफ्नै काम गर्दाचाहिँ आफ्नो सन्तुष्टि पनि खोजिँदो रहेछ।’ अहिले काम गर्न एकदमै मज्जा आइरहेको उनीहरुको भनाइ छ।

‘कहिलेकाहीँ हामी तीन जना बसेर कुरा गथ्र्यौँ’, नेपालखबरसँग उनीहरुले भने, ‘सबैले महिलाले मात्रै काम गर्न सकिँदैन भन्छन्। सरकारी अफिसमा पनि पैसाविना कुनै पनि फाइल अघि बढ्दैन। हामीले नयाँ अफिस स्थापना गरेको अहिले दुई महिना पुगेको छ। यो समयमा चारवटा जति ठूलै केसहरु समेत पाएका छौं।’

आफूहरुसँग राष्ट्रिय अर्थतन्त्रलाई नै प्रभाव पार्ने मुद्दा रहेको उनीहरुको भनाइ छ। त्योभन्दा बाहेक अरु २० वटा हेरिरहेका छौं। त्यसले एकदमै हौसला भएको उनीहरुले बताए। ‘तर हामी युवा छौं। त्यसकारणले अहिलेसम्म मुद्दा नै लड्ने खालको कामचाहिँ पाएका छैनौं’, तीनै जना भन्छन्, ‘तर अब त्यसको लागि पनि तयारीचाहिँ गरिरहेका छौँ।’

देखाउन होइन राम्रो गर्ने उद्देश्य
उनीहरु आफूहरु अघि बढेको बाटो कसैलाई देखाउनभन्दा बढी राम्रो काम गर्ने उद्देश्य रहेको बताउँछन्। तर नेपालको कानुनमा नै क्षेत्रगत रुपमा जाने परिपक्वता नआएकोले काममा अप्ठ्यारो हुने गरेको छ। लिंग, उमेर, नयाँ पेसा आदिका कारण धेरै चुनौतको सामना गर्नुपरेको उनीहरु बताउँछन्।

कुनै दिन १८ घण्टासम्म काम गरेका उनीहरुले सोहीअनुसार सिक्ने अवसर पनि पाए। पढ्दा जति सजिलो भयो उति नै गाह्रो भयो काम गर्दा। व्यावसायिक क्षेत्रको मुद्दामामिलामा कानुन व्यवसाय गरिरहेका उनीहरुलार्ई नेपालमा भ्रष्टाचारको चक्कर आश्चर्यजनक लागेको छ।

‘सिधै माथि मात्रै होइन, ग्राउण्ड लेभलदेखि नै त्यसको चरणहरु रहेको छ’, तीनमध्येकी एक दीक्षा कँडेल भन्छिन्, ‘मैले धेरै करप्सन (भ्रष्टाचार) देखेँ, काम गर्न गाह्रो पार्ने तत्वहरु देखेँ।’ यस्तो परिवेशमा उनी आफ्ना सिनियरहरुलाई सोध्थिन्, ‘तपाईंहरु कसरी काम गर्नहुन्छ?’

उनीहरु दीक्षालाई प्रत्युत्तर दिन्थे, ‘नानी अहिले बाग्मतीको किनारमा गएर उभिँदा गनाउँछ तर त्यहाँ बसिराख न, त्यो गन्ध नै कम हुँदै गएजस्तो अनुभव हुन्छ।’

गन्ध नै हैन भन्नेखालको लाग्दै जाने उनीहरुको भनाइ हुन्थ्यो। तर नेपालको बढीजसो भ्रष्टाचार गैरकानुनी कामलाई कानुनी गराउन नभएर काम छिटो र राम्रो गराउन हुने गरेको उनीहरुको भनाइ छ।

‘एउटा पुरुष पनि राख, काम गर्न सजिलो हुन्छ !’
कामको सिलसिलामा उनीहरुले अनौठा सुझावहरु समेत पाउँछन्। ‘एउटा पुरुष पनि राख तिमीहरुले काम गरे पनि देखाउनको लागि एक जना पुरुष चाहिन्छ’, यस्ता सुझावहरु आउने गरेको छ। अझ रोचक कुरा त कतिपय महिला सेवाग्राहीले नै यसो भन्ने गरेका छन्।

‘तर हाम्रो भनाइ के हो भने हामी सक्षम छँदाछँदै मुख देखाउनकै लागि पुरुष किन ?’, एउटा उदाहरण सम्झिँदै उनीहरु भन्छन्, ‘अफिस सञ्चालन गरेपछि नै एउटा हाइड्रोको क्लाइन्ट आयो, जसले हामीलाई पत्याउननै गाह्रो बनायो, हामी तीन जना फिमेल त्यो पनि भर्खरका युवा हामीलाई देख्नेबित्तिकै ऊ उठेर हिँड्न खोज्यो। तर उहाँलाई कन्भिन्स गराएर पठायौँ।’

अहिले ती व्यक्ति एकदम सन्तुष्ट देखिएको उनीहरुले सुनाए।

वकालती पेसाका विकृति
विकृति सबै क्षेत्र र पेसामा हुन्छ। यसमा नहुने कुरै भएन।

नेपालमा नाम कहलिएका वकिलहरुले त आफ्नो छोराछोरीलाई पनि यही पेसामा ल्याएर मुद्दाहरु निजी घरजग्गा भागबण्डा गरेझैँ गर्छन्। यसले विषयविज्ञताका आधारमा वकालत गर्ने उनीहरुजस्ता कानुन व्यवसायीलाई सेवाग्राही खोज्नु नयाँ चुनौती आइपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad