नबिल बैंकले नेपालका हिरोहरु नामको सिरिज कार्यक्रम सुरु गरेको छ। बैंकले कठिन काम गरेर नेपालीहरुको लागि प्रेरणाका पात्र बनेका नेपालीहरुको सम्मानका लागि सिरिज कार्यक्रम सुरु गरेको जनाएको छ।
यसको उद्देश्य अरुले पनि केही जानून् र सिकून् भन्ने रहेको बैंकले जनाएको छ। सिरिजको सुरुवात शुक्रबारदेखि गरेको बैंकले गत शुक्रबार राष्ट्रियसभागृहमा कार्यक्रम सुरु गरेको थियो। सिरिजको सुरुमै बैंकले सात महिनामै विश्वका १४ सर्वोच्च शिखर चढेर अद्वितीय काम गरेका निर्मल पुर्जालाई निम्त्याएको थियो। कार्यक्रममा पुर्जाले १४ शिखर चढ्दाको अनुभव साटेका थिए। सो क्रममा उनले कठिन काम गर्दा सामना गर्नुपर्ने चुनौती पनि सुनाएका थिए।
उक्त कार्यक्रममा बैंकका वरिष्ठ व्यवस्थापन टोली, नेपाली युवाहरु लगायतको उपस्थिति रहेको बैंकले जनाएको छ। कार्यक्रममा पुर्जाले प्रेरणामूलक सम्बोधन गर्दै कठिनतम कामहरु सम्पन्न गर्दा आइपर्ने चुनौतीहरु, उनको ‘प्रोजेक्ट पोसिबल’ कार्यक्रमबारे बताएका थिए।
कार्यक्रममा पुर्जा, शृंखला खतिवडा र बैंकर अनिल शाह समेतको प्यानेल डिस्कसन (छलफल) भएको थियो।
नबिल बैंकले पुर्जालाई ठूलो सफलता हात पारेको भन्दै ७ लाख रुपैयाँ नगद प्रदान गरी सम्मान समेत गरेको छ। त्यस्तै बैंकले सिरिजसँगै नेपाल पर्वतारोहण संघसँग हातेमालो गर्दै पर्वतारोहणका क्रममा ज्यान गुमाउने पर्वतारोहीका १५ बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गर्ने भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रले लिएको लक्ष्य पूरा गर्न सबै लाग्नुपर्ने बताएका थिए। बैंकको सिरिजको मुख्य उद्देश्य नेपालीभित्र रहेको साहसलाई उजागर गरी कठिन काम समेत सम्पन्न गर्न प्रेरणा प्रदान गर्नु रहेको उनले बताए।
बैंकले यो सिरिजलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
Shares
प्रतिक्रिया