चालू आर्थिक वर्षको सुरुदेखि नै मदिरा व्यवसाय खस्किएपछि राजश्वमा त्यसको प्रभाव देखिएको छ। खास गरी वाइन बजार खस्कँदा अन्तशुल्कमा प्रभाव परेको हो।
सरकारले अन्तशुल्क शिर्षकमा उठाउने राजश्वको मुख्य केन्द्र नै मदिरा तथा सुर्तिजन्य बस्तु हो। चालू आर्थिक वर्षमा सुर्तिजन्य बस्तुकाे अन्तशुल्क खस्किएको छैन। वियरको पनि बढिरहेको छ। त्यस्तै रक्सिको केही सुस्त देखिएको र वाइनको भने नकरात्मक नै भएको आन्तरिक राजश्व विभागको भनाई छ।
विभागले दिएको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनासम्ममा अन्त शुल्क ४२ अर्ब २८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। ३ महिना अवधीमा ३२ अर्ब ९० करोड रुपैयाँ मात्रै संकलन भएको छ। तर गत वर्ष यही अवधीको तथ्यांक हेर्ने हो भने पनि ३३ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको थियो। चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ गुमेको हो।
यो तथ्यांक आए पछि अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षमा बढाएको वाइनमा लाग्ने अन्य शुल्कको दर फिर्ता लिएको हो।
सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत स्वदेशमा उत्पादित फलफूलबाट बनेको वाइनमा १२ प्रतिशत अन्तशुल्क र विदेशबाट आयातित फलफुलबाट बनेको वाइनमा लाग्ने अन्तशुल्कमा ३० प्रतिशत वृद्धि गरेको थियो।
विभागका महानिर्देशक विनोद कुँवर चालू आर्थिक वर्षमा सरकारले लिएको नीतिको कारण पनि अन्तशुल्कमा केही प्रभाव परेको बताउँछन्। फलफूलमा बढाएको करले पनि केही प्रभाव परेको उनी स्वीकार्छन्।
तर मदिरा व्यवसासी संघका महासचिव गुरुप्रसाद अधिकारी भने चालू आर्थिक वर्षमा वाइन मात्रै नभएर हरेक मदिरा व्यवसायीहरु निराश बनेको बताउँछन्। उनका अनुसार हरेक किसिमको मदिराको उत्पादन नै अहिले कमजोर देखिएको छ। सरकारले यो वर्ष अन्तशुल्क दरमा नै १० प्रतिशत वृद्धि गर्यो, जवकी गत वर्ष ३० प्रतिशत बढाएको थियो। व्यवसायीहरुले घटाउन माग गर्दागर्दै सरकारले अझ बढाउँदा व्यवसयाीहरु निराश बनेको र वाइन क्षेत्र बढी प्रभावित बनेको उनको धारणा छ।
क्यानभास वाइन उद्योगका सञ्चालक हरि बास्तोला भने अहिले स्वदेशी वाइनको माहोल नै बिग्रिएको बताउँछन्। उनी भन्छन्, ‘विगत २।४ वर्षको माहोल र अहिलेको अवस्थालाई हेर्ने हो भने नेपाली उद्योगीहरुमा उत्साह नै देखिँदैन। २।४ वर्ष अघि नेपालको वाईन क्षेत्रमा लगानी प्रशस्त भएको थियो, तर अहिले कसैले पनि लगानी थपेका छैनन्।’
गत वर्ष सम्मको वाइन बजार हेर्दा नेपाली वाइनले ५० प्रतिशत बजार ओगटेको थियो। तर त्यति हुँदा पनि नेपालको वाइन उद्योगको आम्दानी राम्रो देखिएन। त्यसकारण उद्योगीहरु यसबाट विस्तारै पलायनको अवस्था तिर गैरहेको उनको भनाई छ।
विदेशी वाइनको पनि नेपाली बजार विस्तार नभएको उनको दावी छ।

प्रतिक्रिया