कारोबार


महासंघमा गाेल्छा अध्यक्ष बन्ने भएपछि काे बन्ला वरिष्ठ उपाध्यक्ष?

महासंघमा गाेल्छा अध्यक्ष बन्ने भएपछि काे बन्ला वरिष्ठ उपाध्यक्ष?

दीपक भट्ट
कात्तिक २५, २०७६ सोमबार १३:२३,

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल सुरु भएको छ। आगामी चैत २८ गते हुने वार्षिक साधारणसभाले अर्को कार्यकालको लागि नेतृत्व प्रदान गर्ने भएपछि महासंघका पदाधिकारीहरुबीच चुनावी माहोल सुरु भएको हो।

यसअघि यही कात्तिक २९ गते महासंघको विशेष साधारणसभा हुने र त्यसले हाल रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई समेत परिवर्तन गर्ने गरी विधान संशोधन मस्यौदा तयार भएको थियो। तर आइतबारको महासंघको कार्यकारिणी समितिको बैठकले नै विशेष साधारणसभाको स्थगित गरेको छ।

उक्त साधारणसभा स्थगित भएसँगै वरिष्ठ उपाध्यक्षको दौडमा रहेका हालका उपाध्यक्षहरु तथा उपाध्यक्षका दाबेदार रहेका केन्द्रीय सदस्यहरुको चुनावी दौड पनि सुरु भएको हो। अध्यक्षमा भने शेखर गोल्छा निर्धक्क अध्यक्ष हुने भएका छन्।

अहिले वरिष्ठ उपाध्यक्षको प्रमुख दाबेदार भने तीन जना देखिएका छन्। उपाध्यक्षत्रय नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका हुन्। हालको विधानअनुसार वरिष्ठ उपाध्यक्ष हुनु भनेको अध्यक्ष नै हुनुजस्तै रहेकोले पनि वरिष्ठ उपाध्यक्षको लागि चुनावी माहोल तात्न थालेकोे हो।

वरिष्ठ उपाध्यक्षको लागि प्रमुख मत जिल्ला तथा नगर सदस्यहरुको छ। ५० प्रतिशत मत जिल्ला नगरमा रहेको छ। यस मतमा बढी प्रभाव महासंघका पूर्वअध्यक्ष तथा हालका विशिष्ट सदस्य चण्डीराज ढकालको रहेको बताइँदै आएको छ। बाहिर यस प्रकारको कुरा आएपछि ५० प्रतिशत मतमा नै उनको प्रभाव नरहे पनि धेरै जिल्ला नगरमा उनको सम्बन्ध भने राम्रो देखिएको महासंघका केन्द्रीय सदस्य तथा उपाध्यक्षका दाबेदार रहेका एक अधिकारीले नेपालखबरसँग बताए।

‘चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका किशोर प्रधानलाई उपाध्यक्ष पद दिलाए। उनको समर्थन अहिलेसम्म हेर्ने हो भने किशोर प्रधानलाई नै रहेको छ’, उनले थप्दै भने, ‘तर उनी एकै व्यक्तिमा अडान गर्ने मान्छे भने होइनन्, त्यसकारणले निर्वाचन सम्म हेर्न पर्ने हुन्छ।’

अर्का मुख्य दाबेदार भनेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल हुन्। बाग्लुङका ढकाल यस्तो राजनीतिक मामिलामा बढी चलाख देखिन्छन्। उनी उपाध्यक्ष चयन हुँदा समेत निर्विरोध रहेका थिए। ढकालले वरिष्ठ उपाध्यक्षमा जान आफू तयार भइसकेको बताइसकेका छन्।

उनी यो पटक भने वरिष्ठ उपाध्यक्षमा निर्विरोध हुने सम्भावना एकदमै न्यून रहेको महासंघ स्रोतको भनाइ छ। चण्डीराज ढकाललाई मिलाएर प्रधानलाई पछि हटाए भने पनि अर्का दाबेदार उमेशलाल श्रेष्ठले ज्यान जाला छोड्नेछैनन्।

श्रेष्ठ औषधि व्यवसायी हुन्। उनको वस्तुगत संघमा राम्रो पकड रहेको छ। त्यसको मत २० प्रतिशत मात्रै हुने भए पनि यी निर्वाचनको लागि औधि रुचाउने व्यक्ति हुन्। हारजित आफ्नो ठाउँमा रहन्छ तर निर्वाचनमा भने जाने उनले नेपालखबरलाई बताए।

‘आगामी निर्वाचनमा पनि उम्मेदवारको रुपमा सामेल हुन्छु’, उनले भने।

श्रेष्ठको उम्मेदवारी पर्नेबित्तिकै किशोर प्रधानले चण्डीराज ढकालको साथ पाए भने चन्द्र ढकालले हार्ने सम्भावना हुन्छ। त्यसकारण चन्द्र ढकालको अबको कोसिस भनेको चण्डीराज ढकाललाई फकाउने नै हुने महासंघ स्रोतको दाबी छ।

स्रोतले भन्यो, ‘अहिले चण्डीराज ढकाललको अडान प्रधानतिर छ, चैत २८ गतेसम्म उनको वरिष्ठ उपाध्यक्षको अडान कोतर्फ मोडिन्छ, त्यसले नै महासंघको निर्वाचनको मत परिणाम आउनेछ।’

त्यस्तै उपाध्यक्षको लागि भने आकांक्षी धेरै देखिएका छन्। हालका कोषाध्यक्ष निरक केसी, कोषाध्यक्षबाट राजीनामा दिने ज्ञानेन्द्रलाल प्रधान, लक्ष्मी ग्रुपका निर्देशक तथा नाडाका निर्वतमान अध्यक्ष अन्जन श्रेष्ठ, ब्युटिपार्लर व्यवसायी कमला श्रेष्ठ, अरुणराज सुमाग्री रहेका छन्।

महासंघमा उपाध्यक्षको लागि तीन पद जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष रहने व्यवस्था छ।

शेखर गोल्छापछि महासंघको उच्च पदमा मारवाडी परिवारको कोही नहुने भएपछि उपाध्यक्षमा जानको लागि हाल मारवाडी परिवारले पनि आपसमा सल्लाह गरेको छ। विशेष गरी एसोसिएट उपाध्यक्षको लागि सन्दीप अग्रवाल र साहिल अग्रवालमध्ये एक जना उठाउने तयारी भइरहेको छ।

शंकर ग्रुपका निर्देशक साहिल अग्रवाल त्यसको लागि तयार नै देखिएका छन् भने शिवशक्ति ग्रुपमा निर्देशक रहेका सन्दीप अग्रवालले भने आनाकानी गरिरहेको स्रोतको भनाइ छ।

सन्दीप अग्रवालका पिता राजकुमार अग्रवालले भने छोरो महासंघमा अघि बढेको हेर्न चाहन्छन्। सोही कारण पनि यी दुईमध्ये एकलाई उपाध्यक्षको लागि मारवाडी परिवारले एक/दुई महिनाभित्र छान्ने स्रोतको दाबी छ।

उपाध्यक्षको लागि कार्गो व्यवसायी प्रकाशसिंह कार्की समेत दाबेदार रहेका छन्। तर उनले अघि बढ्ने भेउ भने नपाएको महासंघको कार्यालयमा हल्ला पुगेको छ।

त्यस्तै छाला जुत्ता व्यवसायी रविन श्रेष्ठ, प्रबलजंग पाण्डे, सौरभ ज्योति भने यो पटक नै उपाध्यक्षमा उठ्ने कि अर्को पटकलाई पर्खिने भन्ने दोधारमा रहेको महासंघ स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad