ad ad

कारोबार


कोका–कोलाले इमेलमै टार्‍यो राजस्व अनुसन्धानको सातदिने म्याद, मुद्दा अघि बढ्ने

कोका–कोलाले इमेलमै टार्‍यो राजस्व अनुसन्धानको सातदिने म्याद, मुद्दा अघि बढ्ने

दीपक भट्ट
पुस ९, २०७८ शुक्रबार १८:१, काठमाडौँ

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका–कोलाका नेपालस्थित पदाधिकारीलाई राजस्व छलीमा उपस्थित हुन दिएको समयसीमा सकिएको छ। 

यही पुस २ गते सात दिनभित्र विभागमै उपस्थित हुन सार्वजनिक सूचना जारी गरे पनि बोटलर्स नेपाल प्रालि बालाजुले एउटा इमेलमात्रै पठाएर ‘झारो टारेको’ हो। 

पदाधिकारी उपस्थित नभएको र इमेलमार्फत आएको उत्तर पनि चित्तबुझ्दो नभएको विभागले जनाएको छ। 

योसँगै विभागले अब कम्पनीविरुद्ध राजस्व छलीको मुद्दा अदालतमा बुझाउने अन्तिम तयारी गरेको छ। 

विभागका अनुसार केही दिनमै मुद्दा अदालतमा बुझाइनेछ। 

नेपालमा कोका–कोला उत्पादन गर्दै आएको कम्पनी बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासानसहित १५ जनालाई म्यादभित्रै उपस्थित हुन भनिएको थियो। 

उनीहरुलाई पटक–पटक विभागका अधिकारीले बोलाउँदा पनि नआएपछि सात दिने म्यादसहितको सूचना जारी गरी उपस्थित हुन भनिएको थियो। तर विभागका अनुसार कुनै पनि पदाधिकारीहरु उपस्थित भएका छैनन्। 

विभागका एक अधिकारीका अनुसार कम्पनीले पठाएको दुईवटा इमेल प्राप्त भएको छ। 

ती अधिकारीले नेपालखबरसँग भने, ‘इमेलमा लेखिएको छ, आधिकारिक पदाधिकारीहरु नेपालमा उपलब्ध नरहेको र हालको अवस्थालाई मध्यनजर गर्दै मुद्दा रोकिदिन आग्रह गरिएको छ।’

तर यो इमेलमा विभागले चित्त बुझाएको छैन। विभागले विदेशमा रहेका पदाधिकारी वा उपलब्ध नभए नेपालमा नै रहेका कुनै पनि सम्बन्धित व्यक्ति भए पनि उपस्थित हुन भनेको थियो। तर कोही पनि विभागमा गएनन्। 

विभागका ती अधिकारीका अनुसार विदेशमा रहेका अधिकारीहरु आउनुभन्दा पनि करको जिम्मेवारी लिने कुरा हो। कम्पनीले सुरुमा कर तिर्ने जिम्मेवारी वहन गर्छु भनेको भए मुद्दाको कुरा रोकिन पनि सक्ने थियो तर त्यो जिम्मेवारी सुरुदेखि नै भएको देखिँदैन। 

ती अधिकारीले भने, ‘अब कुनै पनि हालतमा मुद्दा रोकिँदैन। यसको लागि प्रक्रिया पूरा भएको छ। अब दर्ता हुन्छ।’

बहुराष्ट्रिय कम्पनी कोका–कोलाले नेपाललाई तिर्नुपर्ने अर्बौँ रुपैयाँ बढी कर छली गरेको विभागको अनुसन्धानले देखाएको छ।  

झण्डै एक वर्ष लगाएर यससम्बन्धी अध्ययन पूरा गरेपछि कोका–कोलाले ठूलो रकम कर छलेको निष्कर्षमा विभाग पुगेको हो।  

बोटलर्स नेपाल लिमिटेडमा रहेको विदेशी लगानीकर्ताको सेयर विदेशमा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभकर नतिरेको बारे विभागले गत वर्षदेखि अनुसन्धान गरिरहेको थियो। 

नेपाललाई जानकारी नै नदिई बोटलर्स नेपाल लिमिटेडमा लगानी रहेको विदेशी कम्पनीको स्वामित्व परिवर्तन भएको देखिएको छ। 

बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकीचाहिँ सर्वसाधारणको लगानी छ।  

कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्।

स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। 

नेपालको बोटलर्स नेपालको ७५ प्रतिशत सेयर स्वामित्व अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी (साप्को) ले द कोका–कोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई बिक्री गरेको देखिएको हो। उक्त किनबेच आजभन्दा ६ वर्षअघि अर्थात्सन् २०१४ मा भएको समेत अनुसन्धानमा देखिएको छ। 

नेपालमा लगानी रहेको सेयर बिक्री हुँदा पुँजीगत लाभकर लाग्नेमा कम्पनीले स्वामित्व परिवर्तन हुँदा कर छली गरेको अनुसन्धानले देखाएको हो। 

त्यसमा त्यस समयदेखिको जरिवाना जोडेर विभागले ठूलो अंकमा बोटलर्स नेपालले नेपाल सरकारलाई पैसा तिर्नुपर्ने विभागको अनुसन्धानले देखाएको छ। तर त्यो अंक कति रहेको भन्नेबारे विभागले खुलाएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .