ad ad

कारोबार


कांग्रेस महाधिवेशनमा खानपानको ‘उच्चस्तरीय’ व्यवस्था, प्रतिनिधिलाई दुवै छाक मासुभात

कांग्रेस महाधिवेशनमा खानपानको ‘उच्चस्तरीय’ व्यवस्था, प्रतिनिधिलाई दुवै छाक मासुभात

कांग्रेस लुम्बिनी अधिवेशनकाे फाइल तस्बिर


वसन्त अर्याल
मंसिर २१, २०७८ मंगलबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा आफ्ना प्रतिनिधिलाई मासुभात खुवाएर होटलमा राख्ने भएको छ। 

मंसिर २४ गतेदेखि काठमाडौंमा हुनलागेको महाधिवेशनमा कांग्रेसले सबै प्रतिनिधिलाई खाना र बस्नको प्रबन्ध गरेको हो। 

१४औँ महाधिवेशनको लागि करिब ४५ सय प्रतिनिधि काठमाडौंमा जम्मा हुँदै छन्। उनीहरुलाई काठमाडौंमा व्यवस्थापन गर्न मुख्यतः सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ गरिएको छ। प्रतिबेड ८ सय रुपैयाँमा बुकिङ गरिएको व्यवस्थापन समितिले जनाएको छ। 

तीन मुख्य ठाउँका होटल बुक 
‘ठमेल, गौशाला र सुन्धार क्षेत्रमा बढी होटल बुकिङ गरिएको छ’, महाधिवेशन आवास तथा खाना व्यवस्थापन समिति संयोजक सुरेन्द्र पाण्डेले भने, ‘४५ सय बेड आवश्यक पर्छ। जसमा अधिकांश बुकिङ गर्दै छौँ। धुम्वाराहीमा केही होटल बुकिङ गर्न बाँकी छ।’

पाण्डेले मंगलबार ४५ सय बेड बुकिङ भइसक्ने जानकारी दिए। पार्टीले होटलमा बस्ने व्यवस्था गरे पनि खानाको व्यवस्था भने महाधिवेशन स्थल भृकुटीपण्डपमै गरिएको छ। प्रतिनिधिले भृकुटीमण्डप बाहिर खाएको रकम आफैँ तिर्नुपर्ने उनले बताए। 

मंसिर २४, २५, २६, २७ गते खाने व्यवस्था मिलाइएको छ। बस्ने व्यवस्था २३ गतेबाटै मिलाएको पाण्डेको भनाइ छ। 

‘२४ गते उद्घाटन सत्र रहेकाले देशभरबाट २३ गते नै प्रतिनिधि आउँछन्। उनीहरुलाई २३ गतेबाटै होटलमा बस्ने व्यवस्था मिलाइएको छ’, पाण्डेले नेपालखबरसँग भने, ‘खानाको व्यवस्था भने २४ गतेबाट महाधिवेशन अवधिभर हुनेछ।’

महाधिवेशन लम्बिए १ करोडले बढ्नेछ खर्च 
हाल २७ गतेसम्म महाधिवेशन चल्ने बताइए पनि केही दिन लम्बिनसक्ने उनले बताए। एक दिन लम्बिँदा करिब १ करोड हाराहारीमा खर्च बढ्ने उनको आकलन छ। 

होटलमा रहेका प्रतिनिधि बे्रकफास्टको लागि होटलबाट बिहानै भृकुटीमण्डपमा आउनुपर्नेछ।

‘बिहान ब्रेकफास्ट, दिउँसो लञ्च र साँझ डिनर हुन्छ’, पाण्डेले थपे, ‘ब्रेकफास्टमा कुकिज चियालगायत हुन्छ भने खानामा दाल, भात, तरकारी, अचारसहित मासुको व्यवस्था गरिएको छ।’

प्रतिनिधिलाई उच्चस्तरको खाना व्यवस्था गरिएको बताउँदै उनले २ छाक २ थरि मासु रहेको बताए। जसमा एकछाक खसीको मासु हुनेछ।  

खानपानको व्यवस्था भृकुटीमण्डपमा दियालो फुडल्याण्ड वसुन्धरा र अनुपम फुडल्यान्ड गौशालाले संयुक्तरुपमा खाजा र खानाको व्यवस्था गर्नेछन्। पार्टीले त्यसको लागि फुडल्यान्डसँग सम्झौता गरिसकेको बताए। 

आफ्नै खर्चमा काठमाडौं 
बाहिरबाट आउने प्रतिनिधि आफ्नै खर्चमा काठमाडौं आउनेछन्। बिहान नजिकका हिँड्दै बेलुका गाडी चढेर होटलमा जाने व्यवस्था गरिएको छ। गौशाला र ठमेल जाने सवारीसाधनको भने व्यवस्था हुने पार्टीले बताएको छ। 

‘बिहान सार्वजनिक यातायात पाइने हुँदा आआफैँ भृकुटीमण्डप आउनुहुन्छ’, पाण्डेले भने, ‘साँझ भात खाँदा होटल जान गाडी नपाइने हुँदा पार्टीले गाडीको व्यवस्था गरेको छ।’

खाना र आवासको बजेट ४ करोडसम्म 
पाण्डेले खाना र आवासका लागि साढे ३ करोडदेखि ४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए। उनले महाधिवेशन अवधि जति दिन थपिन्छ, त्यति खर्च बढ्दै जाने बताए। 

नेपालकै पुरानो दल नेपाली कांग्रेसले कोभिड महामारीको कारण देखाउँदै शक्ति प्रदर्शन भने नगर्ने जनाएको छ। १४औँ महाधिवेशनको लागि देशभर छानिएका प्रतिनिधि मात्रै काठमाडौं आउने कांग्रेसले जनाएको छ। 

कांग्रेसले महाधिवेशनमा खर्च व्यवस्थापनको लागि प्रत्येक प्रतिनिधिसँग ३ हजार रुपैयाँको दरले उठाएको पाण्डेले जनाए। त्यसबाहेक पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवारी शुल्कबाट केही रकम उठ्ने बताउँदै बाँकी पार्टी आफैँले व्यवस्थापन गर्ने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .