कारोबार


दुई महिनाभित्र रेल यातायात सुरु गर्ने तयारीमा रेल विभाग

दुई महिनाभित्र रेल यातायात सुरु गर्ने तयारीमा रेल विभाग

दीपक भट्ट
कात्तिक २०, २०७६ बुधबार ७:१३,

 नेपाल–भारत रेल यातायात सञ्चालनको लागि नेपालले रेल तयारी अवस्थामा राखेको छ। नेपालले भारतबाट किन्न लागेको रेलको २० प्रतिशत रकम भुक्तानी समेत गरिसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका हुन्।

नेपालले ल्याउन लागेको रेलको हाल रंगरोगन तथा सेटिङ गर्ने काम भइरहेको छ। उक्त काम करिब एक महिनाभित्र सकिने विभागले जानकारी दिएको छ।

विभागका अनुसार उक्त रेल भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म चल्नेछ। आगामी दुई महिनाभित्र रेल सञ्चालन गर्ने तयारी गरिएको महानिर्देशक मिश्रले बताए। उनले नेपालखबरसँग भने, ‘नेपालमा सञ्चालन गर्ने सबै प्रक्रिया तयार भएपछि ८० प्रतिशत रकम भुक्तानी गरेर नेपाल भित्र्याउनेछौँ।’

रेल लिकको समस्या

railways
तर नेपालमा रेल सञ्चालनको लागि भने बाटोकै समस्या रहेको विभागले जनाएको छ। उक्त मार्गको रेल ट्रयाक बाढीले बिगारेपछि रेल सञ्चालनमा चुनौती थपिएको हो।

‘तर त्यसको समेत निर्माणकार्य भएकोले छिट्टै सञ्चालन हुनेछ’, मिश्रले भने।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर रेलमार्ग निर्माण गरिएको हो। यो मार्ग हस्तान्तरण भने भइसकेको छैन। भारतीय पक्षले हस्तान्तरण गर्नुअगावै बाढीले बिगारेकोले हाल मर्मत गरिरहेको छ।

कस्तो रेल आउँदै छ नेपाल ?

sign agreementभारतको कोंकण रेलवे कर्पोरेसन र नेपालको रेल विभागसँग भएको दुईवटा १६०० एचपी डेमु ट्रेनसेट निर्माण तथा आपूर्ति सम्झौतामा गत नोभेम्बरमा हस्ताक्षर हुँदै।
नेपालले भारतकोे कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न लागेको हो। रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्नलागेकाे हो।

दुईवटा इन्जिन र पाँचवटा कोच (बोगी) किन्ने सम्झौता भएको र सोहीअनुसार खरिद गर्नलागेकाे हो। रेलमा पाँचवटा डिब्बा हुनेछन् भने अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ। यसलाई दुवैतर्फ चलाउन मिल्नेछ।

यस्तो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) विद्युत् तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिन्छ। यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीका निम्ति उपयुक्त उद्देश्यको साथ नेपालले खरिद गर्नलागेकाे हो।

konkon railway 2

रेलको लक्षित स्थान
जयनगरदेखि चल्ने रेल हाललाई ३५ किलोमिटरसम्म चल्नेछ। कुर्थासम्म चल्ने रेललाई बर्दिबाससम्म विस्तार गर्ने गरी सरकारले रेल ट्रयाकको काम समेत सुरु गरिसकेको छ। यसको लम्बाइ ६९ किलोमिटरको रहेको छ। भारत सरकारले करिब नौ अर्ब रुपैयाँको लागतमा ६९ किलोमिटर जयनगर–जनकपुर–कुर्था–विजयापुरा–बर्दिबास खण्ड विस्तार गरिरहेको छ।

जनकपुर एक पर्यटकीय स्थल भएको र नेपालले पनि भ्रमण वर्ष मनाउन लागेकोले भ्रमण वर्षको सुरुवातदेखि नै रेल सञ्चालन गर्ने रेलमार्फत पनि पर्यटक भित्र्याउने योजना राखिएको रेल विभागको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad