ad ad

कारोबार


ठाउँ न ठेगानाको बाइनान्स कसरी बन्यो विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनी?

एकै दिन गर्दै ७६ अर्ब डलरको कारोबार
ठाउँ न ठेगानाको बाइनान्स कसरी बन्यो विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनी?

बाइनान्स लेखिएकाे पृष्ठभूमिमा यसका सीईओ झाओ।


प्याट्रिसिया कोजम्यान र कैटलिन ओस्ट्रोफ
कात्तिक २७, २०७८ शनिबार १६:४, काठमाडौँ

विश्वकै द्रुतगतिमा हुर्किरहेको मुख्य फाइनान्सियल एक्सचेन्जसँग मुख्य कार्यालय छैन, न त औपचारिक ठेगाना नै छ। 

कति देशहरुमा त अनुमति नै पाएको छैन जहाँ यसले व्यवसाय गरिरहेको छ। तर यसका प्रमुख कार्यकारी भने छन् जो आफ्नो ठेगानाबारे सोधिने प्रश्नको उत्तर दिँदैनन्। 

सुरु भएको चार वर्षमै डिजिटल मुद्राको संसारमा बाइनान्स 'एक्सचेन्ज जायन्ट' बन्न सफल भएको छ– विश्का चर्चित सेयर बजारहरु लन्डन, न्युयोर्क र हङकङ स्टक एक्सचेन्ज बराबर। 

तथ्यांकदाता क्रिप्टोकम्पेयरका अनुसार तीव्र वृद्धिकै कारण बाइनान्सले प्रत्येक दिन बिटक्वाइन, एथरजस्ता भर्चुअल मुद्राको लागि ७६ अर्ब अमेरिकी डलरको कारोबार गर्छ जुन यसका मुख्य प्रतिस्पर्धीको कारोबार आयतनभन्दा धेरै हो। 

विशेषगरी बाइनान्स र अन्य क्रिप्टो उद्योगहरुको लागि वर्षौँसम्म चलेको स्वच्छन्द र अनियमित वृद्धि अब समाप्त हुनेवाला छ। 

वित्तीय नियामकहरु डिजिटल सम्पत्तिको तीव्र वृद्धिप्रति चिन्तित थिए तर अहिले तिनीहरु प्रणालीगत हिसाबले महत्वपूर्ण छन्। अक्टोबरको एउटा वक्तव्यमा बैंक अफ इंग्ल्यान्डका अधिकारी जोन कनलिफले सन् २००८ को सबप्राइम–मोर्टगेज (एक प्रकारको सहुलियतपूर्ण घरकर्जाजस्तै) जनित संकट र क्रिप्टोबारे उल्लेख गरेका थिए– जब वित्तीय प्रणालीमा केही कुरा तीव्र रुपमा विस्तार भइरहेको छ, त्यो पनि ठूलो क्षेत्रमा अनियमित (नियमनविनाको) हिसाबले भने वित्तीय स्थायित्वका अधिकारीहरुले एकपटक अडिएर ध्यान दिनुपर्ने हुन्छ।’ 

बाइनान्सले सबैभन्दा धेरै नियामकीय ध्यान खिचिरहेको छ। दर्जन बढी देशका अधिकारीहरु बितेका महिनाहरुमा सशंकित बनिरहेका छन्– यो एक्सचेन्ज धेरै प्रकारको लागि दर्ता पनि छैन, अधिकृत पनि होइन।  

द सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले समेत कसरी बाइनान्सले अमेरिकामा व्यवसाय गरिरहेको छ, जहाँ उसलाई धेरै राज्यको अनुमति मिलेको छ भनी हेरिरहेको बताउँछन् यसका पूर्व कार्यकारीहरु। 

बाइनान्सको सम्बन्धन पाएका अमेरिकी कम्पनीबाट एसईसीले सूचनाको फेहरिस्त मागिरहेको छ। एक कार्यकारीका अनुसार यसले बहुराष्ट्रिय संस्थाहरुसँग बनाएको सम्बन्धलगायत यसमा पर्छन्। त्यस्तै डिपार्टमेन्ट अफ जस्टिसले त सम्पत्ति शुद्धीकरणलगायतसँग जोडेर पनि यसको व्यावसायिक गतिविधिको सम्परीक्षण गरिरहेको छ। यसअघि नै ब्लुमबर्ग न्युजले डीओजेको अनुसन्धानबारे समाचारमा जनाएको थियो। 

यद्यपि दुवै सरकारी निकायले केही भनिसकेका छैनन्। 

क्रिप्टो एक्सचेन्जका लागि अमेरिकी बजार ठूलो र मुख्य परीक्षा हो। जसले केही वर्षमा अमेरिकी व्यवसाय खुल्ला हुने आशाको संकेत गरेको छ। बाइनान्सको अमेरिकी व्यवसाय ‘बाइनान्स यूएस’ हेर्न पूर्वनियामकीय अधिकारीलाई कम्पनीले नियुक्त गरेको थियो तर अगस्टमा तीन महिना नपुग्दै उनले राजीनामा दिए। 

केही पूर्वकार्यकारीहरुका अनुसार यूएस एक्सचेन्जको तथ्यांक नियन्त्रण चीनमा कोडरसँगै भेटियो जहाँ कम्पनीको स्थापना गरिएको थियो। यसले टिकटकले भोगेजस्तै समस्या सिर्जना हुने सम्भावना बढाएको उनीहरुको बताउँछन्। अमेरिकी ट्रम्प प्रशासनले टिकटकमाथि चीन सरकारसमक्ष प्रयोगकर्ताको डेटा पुग्नसक्ने आशंकामा टिकटकमाथि नै प्रतिबन्ध लगाउन खोजेको थियो। तर टिकटकले त्यसलाई अस्वीकार गरेको थियो। 

बाइनान्सका संस्थापक र प्रमुख कार्यकारी चांगपेंग झाओले एक अन्तर्वार्तामा भनेका थिए– एक्सचेन्ज रेगुलेटरहरुको सम्पर्कमा आउनैपर्छ। त्यसमा उपयुक्त अनुमति पाउने कुरा पनि जोडिने उनले बताएका थिए। 

‘हामी वैध व्यवसाय गर्छौँ’, उनले भनेका थिए, ‘जुन छिटो हुर्कियो किनभने प्रयोगकर्ताले यसलाई विश्वास गर्छन्। यदि तपाईं आज विश्वभर क्रिप्टोकरेन्सी स्वीकार भएको हेर्नुहुन्छ भने सम्भवतः कुल जनसंख्याको २ प्रतिशतभन्दा कम छ। बाँकी ती ९८ प्रतिशतलाई आकर्षित गर्ने हो भने त हामी नियमनभित्र अटाउनैपर्छ।’ 

झाओका अनुसार बाइनान्सले स्थानीय कार्यालय र मुख्यालय स्थापनाको प्रक्रियामा छ। यो त्यही कुरा हो जसलाई उनैले आवश्यक नभएको भन्थे भने नियामकहरु त्यही भएको हेर्न चाहन्थे। तर कहाँ स्थापना गर्ने त? यसबारे उनी भन्ने पक्षमा छैनन्। गत अगस्टमा बाइनान्सले एक्सचेन्जमा अवैध रकम आप्रवाह रोक्न आफ्नो वेबसाइटमा प्रयोगकर्ताको पहिचान परीक्षणलाई अनिवार्य बनाएको उल्लेख गरेको थियो। 

बाइनान्स र बाइनान्स यूएसका प्रतिनिधिहरु यी दुई छुट्टाछुट्टै भएको बताउँछन्। उनीहरुले अमेरिकी नियामकबाट भइरहेको भनिएको अनुसन्धानबारे प्रतिक्रिया दिँदैनन्। 

‘हामी विश्वमा रेगुलेटरसँग सौहार्दपूर्ण सहकार्य गरिरहेका छौँ, नियम कानुनलाई गम्भीर रुपले लिइरहेका छौँ’, बाइनान्सकी प्रवक्ता जेसिका जंगले भनिन्। उनले बाइनान्ससँगै क्रिप्टो ट्रेडिङ र नियमनलगायतका कुराहरु विकास भएको बताइन्। 

यता बाइनान्स यूएसका प्रवक्ता म्याथ्यु मिलर भने आफूहरुसँग ढुक्क पार्ने रोबस्ट प्रोटेक्सन (बलियो सुरक्षा) रहेको र यो डेटाहरु सही ग्राहकको पहुँचका लागि, प्रस्तुति सुधार र नियामकीय आवश्यकताको उद्देश्यका लागि पर्याप्त रहेको बताउँछन्। उनका अनुसार सबै अमेरिकी ग्राहकको डेटा अमेरिकामा रहेका सर्भरमा भण्डारण गरिएका छन्। 

त्यसो त बाइनान्सको ठ्याक्कै ठेगाना नहुँदा यसले नियामकीय अधिकारीलाई अलमल्याएको छ किनभने यसलाई हेर्ने कोचाहिँ उत्तरदायी हो भन्ने नै उनीहरुले थाहा पाउँदैनन्।   

मातृकम्पनी बाइनान्स होल्डिंग्स लिमिटेड केम्यान आइसल्यान्डमा छ। त्यहाँका वित्तीय नियामकका अनुसार बाइनान्सले क्रिप्टोकरेन्सी एक्सचेन्ज सञ्चालनको लाइसन्स वा त्यसका लागि केम्यान आइसल्यान्डबाट दर्ता नै पाएको छैन। र बाइनान्सले त्यहाँबाट एक्सचेन्ज पनि सञ्चालन नगरेको जंग बताउँछिन्। 

सेप्टेम्बरसम्म अस्ट्रेलियामा रहेको बाइनान्सको वेबसाइटले बाइनान्स होल्डिंग्स अस्ट्रेलियाली प्रयोगकर्तालाई क्रिप्टोकरेन्सी एक्सचेन्ज सेवा दिने कम्पनी हो भनेको थियो तर त्यसलाई प्रवक्ता जंग भने सामान्य लेखन–त्रुटि मान्छिन्। 

३००० कर्मचारी, ३ खर्ब डलर मूल्यवान् कम्पनी ! 
बाइनान्ससँग विश्वभर ३ हजार कर्मचारी रहेको झाओ बताउँछन्। यसको व्यापारिक आयतन र यसले लिने कारोबार शुल्कलाई आधार मान्ने हो भने यदि यो पब्लिक कम्पनी थियो भने यसको मूल्यांकन नै ३ खर्ब हुने बताउँछन् यसका पूर्वकार्यकारीहरु। 
यसले नै झाओलाई धेरै धनी बनाउँछ। उनले भनिसकेका छन्– कम्पनीमा ठूलो सेयरसदस्य मै हुँ। 

ट्विटरमा सीजेटले चिनिने क्रिप्टो संसारका ‘रकस्टार’ उनका ३९ लाख फलोअर छन्। बाइनान्सकी प्रवक्ता जंगका अनुसार सुरक्षा कर्मचारीले विगतमा उनी र अन्य कार्यकारीहरुलाई आफ्नो ठेगानाबारे नबताउन भनेका थिए।

प्रवक्ताका अनुसार झाओ केही समयअघिसम्म पनि आफ्नो ठेगाना बताउने गर्थे। महामारीसँगै बितेका विगत दुई वर्ष उनले सिंगापुरमा बिताए। झाओ बैठकहरुमा सामेल हुँदा विद्युतीय स्कुटरमा हुइँकिन्छन्। 

४४ वर्षीय झाओ चीनमा जन्मिएका थिए। १२ वर्षको उमेरमा उनको परिवार क्यानडा बसाइ सरेका थिए। कम्प्युटर विज्ञान पढेका उनले टोक्यो र न्युयोर्कजस्ता सहरमा रहेका वित्तीय कम्पनीहरुमा काम गरे। जुनमध्ये ब्लुमबर्ग एलपी कम्पनी पनि एक हो जहाँ उनले फ्युचर ट्रेडिङको लागि सफ्टवेयर विकास गरे। 

सन् २०१३ मा चीनको शांघाईमा ‘पोकर गेम’मा पहिलोपटक उनले बिटक्वाइनबारे सुनेको झाओले नै बताएका थिए। कम्प्युटर प्रोग्रामले बनाउने त्यस्तो भर्चुअल मुद्रा जुन केही वर्षदेखि अस्तित्वमा थियो। सरकारी मान्यता नपाएका भए पनि तिनले धेरैलाई मोहित पारेका थिए। तिनमा सन् २००८ को वित्तीय संकटले चिन्तितहरु पनि थिए। 

तर तिनलाई व्यापारमा समावेश गर्नु कठिन थियो। थोरै कम्पनीले यिनको कारोबार गर्थे, मूल्य स्थिर थिएन। यीसम्बन्धी एक्सचेन्जविरुद्ध हुने ह्याकिङको सास्ती उस्तै। 

झाओ क्रिप्टोकरेन्सी प्रयोग नगर्ने दशौँ लाखलाई आकर्षित गर्न नियामकीय प्रणालीमा आउने पर्छ भन्थे। 

उनी त्यस्तो विकेन्द्रीकृत मुद्राको कल्पनाबाट मोहित थिए जसलाई बैंक वा कर्मचारीविनै जहाँसुकै प्रयोग गर्न सकियोस्। 

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘हामी विश्वमा रहेका सबैका लागि पैसाको स्वतन्त्रता अभिवृद्धि गर्न यस्तो प्रविधि प्रयोग गर्न सक्छौँ।’ 

उनले बिटक्वाइनकै लागि शांघाईमा रहेको आफ्नो अपार्टमेन्ट बिक्री गरे र धेरै क्रिप्टो स्टार्टअपहरुका लागि काम गरे। अन्य प्रोग्रामरहरुको समूहसँग मिलेर सन् २०१७ मा बाइनान्स कम्पनी बनाए। 

सुरुवातमा बिटक्वाइन ट्रेडिङ र शाखा विस्तारमा ध्यान केन्द्रित गरे तर प्रयोगकर्तालाई डिजिटल मुद्राको विनिमय मुख्य मुद्राहरुसँग गर्न दिएनन्। ‘जब बाइनान्सले विनिमय सुविधा दियो, बैंक खाता पनि चाहिएन, हेडक्वार्टर पनि चाहिएन’, उनले भने। 

बाइनान्सले नौवटा भाषा आफ्नो वेबसाइटमा थपिदियो। यसले प्रतिस्पर्धीहरुलाई अंग्रेजी मात्रै प्रयोग गर्नेविरुद्ध थियो। कम्पनीले एउटा प्लेटफर्म विकास गर्यो जसलाई धेरै ट्रेडर्सले ‘प्रयोग गर्न सजिलो’ रहेको बताए। 

सन् २०१७ जुलाईमा कम्पनीले आफ्नै डिजिटल क्वाइन ‘बीएनबी’को लागि साधारण सेयर जारी गरी डेढ करोड डलर उठायो। यसका अरु लगानीकर्ता धेरैजसो चिनियाँ थिए। 

त्यसयता दक्षिण अफ्रिका, रुस र भारतलगायतका वित्तीय प्रणाली कम विकसित भएका राष्ट्रबाट पनि प्रयोगकर्ता थपिए। छ महिनाको अन्तरालमै बाइनान्स सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बन्यो। नियामकीय अधिकारीसँगको लफडा पनि सुरु हुनथाल्यो। 

सन् २०१७ को गर्मी सिजनमा सांघाईमा व्यवसाय थालेको दुई महिनामै चीन सरकारले क्रिप्टो एक्सचेन्जमाथि प्रतिबन्ध लगायो। 

त्यसपछि बाइनान्सको ३० भन्दा धेरै जनाको समूह जापान गएको एक भर्चुअल प्रविधि सम्मेलनमा झाओले बताएका थिए। सन् २०१८ मा जापानको वित्तीय नियामकहरुले लाइसेन्स नै नलिई नागरिकका लागि ट्रेड नगर्न कम्पनीलाई चेतावनी दिए। 

त्यसपछि भने बाइनान्सले आफ्नो ठेगानाबारे खुलाउन छोड्यो र यसका धेरै कर्मचारीले घरबाटै काम गर्नथालेको झाओको भनाइ छ। 

‘बाइनान्स जहाँसुकै यत्रतत्र देखिन्छ’, पेरिसकी वकिल आइजा लेजनिस भन्छिन्। उनी बाइनान्सको ट्रेडिङ वेबसाइटले गत मेमा एक घण्टासम्म फ्रिज गरिदिँदा गुमाएको पैसा फिर्ता लिने प्रयास गरिरहेका ट्रेडरहरुको समूहको कानुनी प्रतिनिधि छिन्। बाइनान्सले यसबारे प्रतिक्रिया दिएको छैन। तर उक्त घटनामा परेका प्रयोगकर्तालाई क्षतिपूर्ति दिएको दाबी कम्पनीको छ। 

नयाँ नयाँ डिजिटल क्वाइनहरु विकास भइरहँदा अन्य एक्सचेन्जमा भन्दा बाइनान्ससँग धेरै ट्रेडिङ अफरिङहरु थिए। 

सरकारी निकायबाट स्वीकृति लिएर सञ्चालन हुने सेयरबजार (स्टक एक्सचेन्ज) भन्दा सहज तरिकाले बाइनान्स एक्लो प्लेटफर्म ‘बाइनान्स डटकम’मा व्यापक फैलिएको छ। उसले कुनै पनि देशलाई आफ्नो घर मानेको छैन। 

जापानी नियामकले चेतावनी दिएको १ वर्षपछि सन् २०१९ मा बाइनान्समा जापानी प्रयोगकर्ताको लर्को रहेको रिसर्च फर्म द ब्लकले जनाएको छ। यसबारे बाइनान्सकी प्रवक्ता जंगले प्रतिक्रिया दिइनन्। 

बाइनान्सले त्यसपछि क्रिप्टो क्वाइनहरुसँग सम्बन्धित उत्पादन पनि अफर गर्नथाल्यो। ८० सेन्ट मात्रै डिपोजिट राखेर ग्राहकले बिटक्वाइनको सय डलरबराबरको ट्रेड गर्न पाउने बनाइदियो। बाइनान्सले त्यसयता यो अफरिङ बन्द गरिसकेको छ। 

बाइनान्सले युट्युबमा भिडिओ बनाएर कसरी ट्रेडिङ गर्ने भनी सिकाइरहेको बताउँछन् यसका पूर्वव्यवस्थापक। कम्पनीले व्यवसायवृद्धिको उत्कृष्ट रणनीतिलाई बढावा दिइरहेको झाओ बताउँछन्। ‘हामी आन्तरिक प्रतिस्पर्धालाई बढावा दिन्छौँ’, उनी भन्छन्। 

बाइनान्स डटकम अमेरिकामा पनि उत्तिकै लोकप्रिय बनेको छ। सन् २०१९ अप्रिलमा एक डकुमेन्ट सार्वजनिक गर्दै अमेरिकी एसईसीले सुरक्षाको विषय आफ्नो नियमनभित्र जोडिने डिजिटल सम्पत्ति कुन हो भनी पत्ता लगाउन खोजेको थियो। झाओले बाइनान्स यूएसका अमेरिकी प्रयोगकर्तालाई सानो संख्यामा क्रिप्टोकरेन्सीहरुको ट्रेडिङ र अफर नल्याउन निर्देशन दिएका थिए। 

सन् २०२० को अन्त्यतिर बाइनान्ससँग एसईसीले कम्पनीको व्यवसायबारे विस्तृत विवरण माग गरेको थियो। त्यसमा प्रयोगकर्ताको डिजिटल वालेट नियमन गर्ने व्यक्ति, क्रिप्टोकरेन्सी स्टोर भएको स्थान, बाइनान्स यूएसको बाइनान्स होल्डिंग्ससँगका सहमति र सम्झौता सबै मागेको एक पूर्वकार्यकारी बताउँछन्। 

सन् २०२१ को मेमा बाइनान्स यूएसले आफ्नो प्रमुख कार्यकारीमा ट्रम्प प्रशासनमा मुद्रा नियन्त्रण कार्यालयका कार्यवाहक प्रमुख रहिसकेका ब्रायन ब्रुक्सलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो। उनले यसरअघि नै ट्रेडिङ प्रतिस्पर्धी क्वाइन बेस ग्लोबल इन्कमा समेत काम गरिसकेका थिए। 

ब्रुक्सले अमेरिकी लगानीकर्ताबाट लगानी उठाउने तयारी गरे। जसले बोर्डमा स्वतन्त्र सदस्य ल्याउनसक्थ्यो र झाओको स्वामित्व विलय गराउन सक्थ्यो। पूर्वकार्यकारीहरुका अनुसार बाइनान्स यूएसमा पनि धेरै सेयर स्वामित्व झाओकै छ। 

उनीहरुका अनुसार ब्रुक्स पनि चीनबाहिर सञ्चालन हुने तर नियमन अमेरिकी भूमिमा हुने सफ्टवेयर चाहन्थे। उनले सुरु गर्नु १ महिनाअघिसम्म बाइनान्स यूएसका कर्मचारीले शांघाईका सहकर्मीलाई केही अमेरिकी एकाउन्टसफ्टवेयरमा आउने समस्या समाधान गर्न लगाउनुपथ्र्यो। 

पछिल्लो गर्मीयाममा पूर्वकार्यकारीहरुका अनुसार शांघाइमा रहेका डेभलपरहरुले अमेरिकी प्रयोगकर्ताका डिजिटल वालेटलाई सघाउने सफट्वेयर कोड निकाले। त्यसले ट्रेडका लागि सहयोग गर्ने इन्जिनमा काम पनि गर्यो।

अगस्टको सुरुतिर ब्रुक्सले १२ अमेरिकी लगानीकर्ताबाट डेढ करोड डलरको रकम संकलन बन्द गर्दै गर्दा उनी र झाओले बोर्ड सदस्यचयनलाई लिएर झगडा पनि गरेका थिए। यसबारे थाहा पाउनेहरुका अनुसार ब्रुक्सले ठूलो लगानीकर्ताले स्वतः सदस्यता पाउने र बोर्डले एउटा स्वतन्त्र निर्देशक चयन गर्ने सोचिरहेका थिए तर झाओ यसको विरुद्धमा थिए। उनले शांघाईबाट कोडको व्यवस्थापन सार्न रोके। त्यसपछि अगस्ट ६ मा ब्रुक्सले राजीनामा दिए। त्यसयता अरु धेरैले राजीनामा दिएको बताइएको छ। 

बाइनान्सकी प्रवक्ताका अनुसार चीनमा कुनै पनि बाइनान्स प्रविधि वा तथ्यांक नरहेको बताउँछिन्। बाइनान्स यूएसका प्रवक्ता मिलरका अनुसार सबै अमेरिकी ग्राहकको व्यक्तिगत रुपमा चिनिने सूचना भर्जिनियाको रिचमन्डमा रहेको अमेजन वेब सर्भिसमा भण्डारण भएको छ। 

उनका अनुसार बाइनान्स यूएसका कार्यकारीहरूले नै कम्पनीको नियन्त्रण, यसका सम्पत्ति, प्रयोगकर्ताको एकाउन्ट र डेटा पर्यवेक्षण गरिरहेका छन्। बाइनान्स यूएसका कर्मचारी पनि विश्वभर छरिएर रहेका छन्। 

बाइनान्स यूएसले थप लगानीसँगै दुई नयाँ लगानीकर्तालाई बोर्ड सदस्य बनाउने योजना बनाइरहेको छ। अमेरिकामा सन् २०२४ सम्ममा कम्पनीले साधारण सेयर नै जारी गर्ने तयारी गरेको छ। 

नियामकीय कडाइकै बीच पनि बाइनान्सको व्यवसाय अभिवृद्धि भइरहेको छ। सेप्टेम्बर महिनामा बाइनान्स डटकममा ट्रेडिङ १० प्रतिशतले बढेको क्रिप्टोकम्पेयरले जनाएको छ। द वालस्ट्रिट जर्नलबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .