कारोबार


देशका मुख्य सहरमा निजी हवाइ कम्पनीकाे प्रतिस्पर्धा, बढ्दै छन् प्रादेशिक उडान

देशका मुख्य सहरमा निजी हवाइ कम्पनीकाे प्रतिस्पर्धा, बढ्दै छन् प्रादेशिक उडान

वसन्त अर्याल
कात्तिक १८, २०७८ बिहिबार १५:३९, काठमाडौँ

नेपाली वायुसेवा प्रदायकले प्रादेशिक उडान गर्दै व्यवसाय विस्तार गर्न थालेका छन्। 

निजी क्षेत्रबाट सञ्चालित हवाइ सेवा कम्पनीले मुख्य सहर जाेड्ने गरी प्रादेशिक उडानमा प्रतिस्पर्धा गर्नलागेका हुन्। 

कम्पनीहरुले पोखरालाई आधार मानी अधिकांश सहरमा उडान सुरु गरेका छन्। पोखराबाट दैनिक नेपालगञ्ज, भरतपुर, विराटनगर विमानस्थलमा उडान भइरहेको उनीहरुले जनाएका छन्। 

यती एयरलाइन्सले लकडाउनअघि नै पोखरा विमानस्थलबाट भरतपुर र भैरहवा नियमित उडान गरिरहेको थियो। यतीले साना जहाज गुण एयरलाइन्सलाई बिक्री गरेपछि मुख्य सहरबीचको उडान रोकिएको थियो। 

तर यात्रुको अत्यधिक माग आएको भन्दै चार्टर्ड उडानको रुपमा पोखरा–नेपालगञ्ज उडान सुरु गर्ने भएको छ। यतीले ट्विनअटर जहाजमार्फत कम्पनीले हप्ताको ३ उडान हुने जनाएको छ। 

‘लकडाउनअघि हामीले मुख्य सहरबीच उडान सुरु गरेका थियौँ’, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘कोभिड महामारी कम हुँदा यतिका साना जहाज बिक्री भए। एटीआर ४२ ल्याएपछि नियमित उडान हुन्छ।’

उनले अहिले पोखरा–जोमसोम उडान गर्ने ट्विनअटर एउटा मात्रै उडान गरी खाली रहेको हुँदा त्यसलाई उपयोग गरेको बताए। 

‘तत्काल दुईवटा एटीआर ४२ र ७२ आउँदै छन्’, बर्तौलाले भने, ‘एटीआर ७२ को लागि यात्रु अझै पर्याप्त छैनन्। एटीआर ४२ आएपछि नियमित उडान हुन्छ।’

यति एयरलाइन्सकै भगिनी कम्पनी तारा एयरले क्षेत्रीय विमानस्थलबाट दुर्गम उडान भने नियमित गरिरहेको छ। 

आन्तरिक हवाइ क्षेत्रमा ठूलो बजार हिस्सा ओगटेको बुद्ध एयर क्षेत्रीय उडानमा आक्रामक रहेको छ। मुख्य सहरको क्षेत्रीय उडानमा हावी रहेको बुद्ध एयरले सुरुमा हप्ताको ३ उडान गर्ने ठाउँमा अब दैनिक २ उडान गर्ने अवस्था आएको बताएको छ। 

‘पहिला पोखरा–नेपालगञ्ज हप्ताको ३ उडान गरी सुरु गरेका थियौँ। अहिले दैनिक उडान गरिरहेको छ’, बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘अब पोखरा नेपालगञ्ज दैनिक २ उडान गर्दै छौँ।’

बुद्ध एयरले दैनिक ८ हजार यात्रुसम्मलाई सेवा दिएको बताएको छ। क्षेत्रीय उडान सुरु गरेसँगै यात्रुको संख्या वृद्धि भएको जोशीले बताए। 

बुद्ध एयरले पोखरालाई आधार मानेर सिमरा–पोखरा, भैरहवा–पोखरा, भरतपुर–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा सिधा उडान गरिरहेको छ। त्यसबाहेक बुद्धले भरतपुर–भैरहवा उडान गरिरहेको छ। 

१५ जहाज रहेको बुद्ध एयरले क्षेत्रीय उडान बिचक्राफ्ट १९०० र एटीआर ४२ मार्फत गरिरहेको जानकारी दिएको छ। एटीआर ७२ मार्फत भने काठमाडौंमा मुख्य सहरमा उडान गरिरहेको छ। 

अब विराटनगर–भैरहवा सिधा हवाइ उडान 
भैरहवाबाट पोखरा र भरतपुर उडान हुँदै आएकोमा अब विराटनगर–भैरहवा सिधा उडान हुने भएको छ। सौर्य एयरलान्सको दुई मुख्य सहरबीच उडान गर्ने निर्णय गरेको छ। 

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाइ यात्रुको माग र मुलुकको पर्यटन प्रवर्द्धनको लागि कम्पनीले दुई सहरबीच सिधा उडान गर्ने निर्णय गरेको बताए। 

यी दुई सहरबीच हवाइ यात्राका लागि करिब ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको छ।    

लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणका लागि वर्षेनी  पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भुटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन्। 

उनीहरु यसअघि हवाइमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाजबाट भैरहवा पुग्ने गरेका थिए। 

‘अब त्यो बाध्यता हट्यो, विदेशी पर्यटक र स्वदेशी यात्रुहरु सिधा उडानबाट भैरहवा पुग्न र त्यहाँबाट विराटनगर आउन सक्नुहुन्छ’, पोखरेलले भने। 

विगत आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाइ उडान सञ्चालन गर्दै आएको छ । सीआरजे २०० जेट विमान नेपालमा भित्र्यााएको थियो।   

कम्पनीले निकट भविष्यमा नेपालगञ्ज र राजविराज विमानस्थलमा समेत उडान थप्ने जनाएको छ । हाल एयरलायन्ससँग ५० सिट क्षमताका तीनवटा जेट विमान छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .