ad ad

कारोबार


नेपालमा नम्बर १ को प्रतिस्पर्धामा यामाहा, सीईओ क्षेत्री भन्छन्ः सरकारी नीतिले बजार हिस्सा घट्न दिँदैनौँ

नेपालमा नम्बर १ को प्रतिस्पर्धामा यामाहा, सीईओ क्षेत्री भन्छन्ः सरकारी नीतिले बजार हिस्सा घट्न दिँदैनौँ

एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री । तस्बिर विक्रम राई


वसन्त अर्याल
असोज १३, २०७८ बुधबार १८:५२, काठमाडौँ

राजु क्षेत्रीले करिब ३ दशकअघि यामाहामा काम सुरु गर्दा नेपालमा करिब १० हजार मात्रै मोटरसाइकल बिक्री हुन्थे। 

यामाहा आरएक्स १०० मोटरसाइकल चर्चित थियो। १०० सीसीको मोटरसाइकल भए पनि यसले शक्तिशाली मोटरसाइकलको पहिचान बनाएको थियो। 

त्यो बेला भारतमा ‘ल्याम्ब्रेटा’ र ‘चेतक’ नामका स्कुटर बहुचर्चित थिए। नेपाली भने जापानी मोटरसाइकल नै बढी रुचाउँथे। मोटरसाइकल मात्रै नभई नेपालका सडकमा जापानी गाडी पनि धेरै नै गुड्ने गरेको क्षेत्रीको सम्झना छ। 

क्षेत्री अहिले यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत छन्। उनी आरएक्स १०० लाई विश्वभर नै ‘लिजेन्ड्री’ मोटरसाइकलको पगरी गुथाउँछन्।  

उनका अनुसार यामाहाको ‘ब्रान्डिङ’ प्रवर्द्धनमा आरएक्स १०० ले ठूलै योगदान गरेको छ। 

नेपाली बजारमा भएका धेरै मोटरसाइकल विश्वका धेरै विकसित देशमा गुड्दैनन्।  

तर जापानी कम्पनी यामाहाका मोटरसाइकल युरोपदेखि अमेरिकासम्मका सडकमा अहिले पनि हुइँकिरहेका छन्। 

‘युरोप अमेरिकामा कुनै ब्रान्ड टिकिरहन गुणस्तरीय उत्पादन चाहिन्छ’, क्षेत्री भन्छन्, ‘यामाहाका बाइकमा त्यो गुणस्तर छ, त्यही भएर टिकिरहेको छ।’ 

यामाहाले गुणस्तरमा कुनै ‘कम्प्रमाइज’ नगरेकैले टिक्नसकेको बताउँछन् क्षेत्री। 

३ दशकअघि नेपालमा जापानी मोटरसाइकलले नै करिब ८० प्रतिशत बजार हिस्सा ओगटेको थियो। 

अहिले भारतीय ब्रान्ड आएसँगै बजार बाँडिएको उनको भनाइ छ। उनले भनेझैँ नेपालमा यामाहाले अहिले भारतीय ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। 

त्यसो त अहिले नेपालमा दुईपांग्रे सवारीसाधनको बजार पनि ठूलो भएको छ।

‘वि.सं. २०५० मा १० हजार मोटरसाइकलको बजार रहेकोमा अहिले ३ लाख ५० हजार दुईपांग्रे बिक्री हुन्छन्। दुईपांग्रेको बजार ३५ गुणा ठूलो भयो’, तीन दशकअघिको बजारसँग तुलना गर्दै उनी भन्छन्, ‘त्यो बेला १०० सीसी मोटरसाइकलको औसत मूल्य ७५ हजार रुपैयाँको हुन्थ्यो भने अहिले उही सेग्मेन्टको दुईदेखि साढे दुई लाख रुपैयाँ पर्छ।’ 

क्षेत्रीका अनुसार ३० वर्षअघिका मोटरसाइकल ग्राहक बढी सौखीन हुन्थे।  

अहिले भने त्यो ‘ट्रेन्ड’ परिवर्तन भएको छ। मोटरसाइकल नेपालीहरुको अत्यावश्यक वस्तु भएको छ। 

कुनै गन्तव्यमा समयमै पुग्न ट्राफिकको समस्याले आजित नेपालीलाई सार्वजनिक यातायातका साधनभन्दा मोटरसाइकल अनिवार्य आवश्यकता बन्दै गएको छ। 

पहिले सोखले चढ्ने भएकाले बजारमा पनि खासै प्रतिस्पर्धा थिएन। तर आवश्यकता बन्दै गएपछि मोटरसाइकल बजारमा प्रतिस्पर्धा पनि बढेको छ।   

‘त्यो बेला कुनै एउटा साथीले आरएक्स १०० बिक्री गर्दा कुनै छुट दिनुपर्यो वा एउटा हेलमेट दिनुपर्यो भने एमडीलाई सोध्नुपथ्र्यो’, क्षेत्रीको सम्झना छ, ‘ग्राहकले त्यो बेला गुणस्तरमा बढी ध्यान दिन्थे। अहिले लुक्स र स्किमलाई मुख्य ध्यान दिइन्छ।’

यसले पनि बजार प्रतिस्पर्धालाई देखाउने उनी बताउँछन्। 

एफआई प्रविधिको करामत 
१३ वर्षअघि यामाहाले अन्तर्राष्ट्रियस्तरमै मोटरसाइकलमा एफआई प्रविधि भित्र्यायो। 

सन् २००८ मा आफ्ना मोटरसाइकलमा जटित यो प्रविधि ‘ट्राई’, ‘टेस्टेड’ हुँदै अहिलेसम्म आइपुग्दा विश्व बजारमा ‘ट्रस्टेड’ भइसकेको छ। 

तर नेपालमा भने एफआई प्रविधि बुझाउन कम्पनीलाई हम्मे–हम्मे पर्यो। पहिला यामाहासँग मात्रै यो प्रविधि थियो। 

त्यसैले पनि प्रविधिबारे बजारमा गलत प्रचार भएको क्षेत्री बताउँछन्। 

‘एफआई प्रविधि एकदमै उच्च प्रविधि हो। नेपालमा काम छैन भन्ने प्रचार गरियो’, उनी भन्छन्, ‘अहिले त यामाहाका प्रतिस्पर्धी कम्पनीलाई एफआईमै आउनुपर्ने बाध्यता छ।’

यामाहाको १२५ सीसीको सलुटोबाहेक सबैमा एफआई प्रविधि जडान गरिएको छ। एफआई प्रविधिले माइलेज र परफर्मेन्स राम्रो दिने क्षेत्री बताउँछन्। 

भारतीय बजारमा अधिकांश दुईपांग्रे उत्पादक कम्पनीले एफआई प्रविधि जडान गरिरहेका छन्। 

भारतीय बजारमा बिक्री हुने ९० प्रतिशत दुईपांग्रेमा एफआई प्रविधि जडान गरिएको उनको भनाइ छ। 

‘प्रविधि राम्रो भएर मात्रै हुँदैन’, उनी भन्छन्, ‘त्यसको लागि मर्मतसम्भार गर्ने प्राविधिक र मेसिन आवश्यक हुन्छ। यामाहाले त्यसको लागि एफआई स्टेसन राखेको छ। उक्त स्टेसनमा मोटरसाइकल तथा स्कुटरमा के खराबी छ भन्ने कुरा थाहा पाइन्छ। अर्थात् यामाहाका साधनको ‘फुल बडी चेक’ हुन्छ।’

मोटरसाइकल तथा स्कुटरको ‘हेल्थ कार्ड’बाट त्यसको कन्डिसन थाहा पाउन सकिने उनको भनाइ छ। 

क्षेत्री भन्छन्, ‘नेपालभर करिब १०० वटा शाखामा एफआई स्टेसन छ। सबै ठाउँमा मोटरसाइकल चेकअप गर्न सकिन्छ।’

सरकारको निर्णयले यामाहालाई अप्ठ्यारो
प्रतिस्थापन विधेयकमार्फत सरकारले बाहिरबाट आयात हुने मोटरसाइकलमा अतिरिक्त कर बढाएको छ। 

यसले १२५ सीसीमाथिका मोटरसाइकलको १० प्रतिशत मूल्य बढ्छ। सरकारी नीतिले एउटा मोटरसाइलकमा कम्तीमा १५ हजार रुपैयाँले मूल्य बढ्ने बताउँछन् क्षेत्री। 

‘सरकारको निर्णयले यामाहालाई २ वटा अप्ठ्यारो भएको छ। भइरहेका उद्योगलाई थप सुविधा दिएको छ। यसअघि अन्तःशुल्कमा २५ प्रतिशत छुट दिएकोमा अहिले ५० प्रतिशत पुर्याइएको छ’, क्षेत्री भन्छन्, ‘हामीलाई १० प्रतिशत अन्तःशुल्क बढाइदिएको छ। यसले तयारी अवस्थाका मोटरसाइकल आयात गर्ने कम्पनी दोहोरो मारमा परेका छन्।’

सरकारको पछिल्लो नीतिले एसेम्बल उद्योग नराखेका सबै मोटरसाइकल कम्पनीलाई असर पुग्ने देखिएको छ। 

यामाहाका प्रतिस्पर्धी बजाज र टीभीएसले भने एसेम्बल उद्योग स्थापना गरिसकेकाले उनीहरुले यसबाट फाइदा उठाउनेछन्। 

‘हामी (यामाहा) पनि नेपालमै एसेम्बल उद्योग स्थापना गर्ने तरखरमा थियौँ’, सीईओ क्षेत्री भन्छन्, ‘केही समय लाग्ला नेपालमा यामाहाको एसम्बल उद्योग स्थापना हुन्छ।’

नेपालमा औद्योगीकरणको लागि एसेम्बल उद्योग आवश्यक रहेको उनी पनिी स्वीकार्छन्। तर सबै पार्ट्स बाहिरबाटै ल्याउँदा भ्यालुएड बढी हुने उनको भनाइ छ।  

त्यसकारण नेपालमै पार्टपुर्जा बनाउने एसेम्बल उद्योग आवश्यक ठान्छन् उनी। 

‘नेपालमा एसेम्बल उद्योग विदेशबाट सबै पाट्र्स ल्याएर जडान गर्ने काम मात्रै भएको छ। नेपालमै पाट्र्स उत्पादन नगरी एसम्बल उद्योग राख्दा नेपाली अर्थतन्त्रले धेरै फाइदा उठाउन सक्दैन’, क्षेत्री भन्छन्, ‘नेपालमै अधिकांश पार्ट्स बनाएर एसेम्बल उद्योग सञ्चालन गर्न सकिने धेरै सम्भावना छन्।’

अहिलेको नीतिअनुसार यहीँ एसेम्बल गर्ने कम्पनीको मूल्य घट्दा बजारमा केही अप्ठ्यारो भए पनि अन्तर्राष्ट्रिय ब्रान्ड भएकाले यामाहाले बजार हिस्सा जोगाउने उनको दाबी छ। 

‘५–६ महिना परीक्षणपछि मात्रै बजारमा नयाँ बाइक’
भारतमा केही दिनअघि मात्रै कम्पनीको आर१५ एम स्पोटर्स बाइक लञ्च भएको छ। 

यसमा विदेशमा रेसिङमा प्रयोग हुने धेरै प्रविधि जडान गरिएको छ। 

त्यसबाहेक कम्पनीले १५५ सीसीको स्कुटर पनि सार्वजनिक गरेको छ। अबको ५–६ महिनामा दुवै प्रोडक्ट नेपाल ल्याउने तयारी रहेको उनले जानकारी दिए। 

‘नेपाली युवाले भारतमा पुरानो भएको बाइक मात्रै नेपालमा ल्याउने भन्ने प्रश्न गरिरहेका हुन्छन्’, क्षेत्रीले भने, ‘हामीले कुनै पनि नयाँ प्रोडक्ट भारतमा आइसकेपछि कम्तीमा ५–६ महिना टेस्टिङ होस् भन्ने चाहना हुन्छ। तर नयाँ प्रोडक्टमा सानातिना समस्या समाधान भएर नेपाल ल्याऔँ न त भन्ने हो।’

त्यस्तै यामाहाले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको शोरुम पनि बनाउँदै छ।

नक्सालमा बन्ने यो शोरुम साढे ४ देखि ५ हजार वर्गफिटको हुनेछ।

उनी यसलाई ‘बिग बाइक’ शोरुम भन्छन्। जहाँ ८ सय सीसी, हजार सीसीमाथिका मोटरसाइकल प्रदर्शन र बिक्रीवितरण गरिनेछ। 

यामाहाले शोरुममा बाइकको पुस्ता समेत प्रदर्शनीमा राख्ने क्षेत्रीको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .