कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् ।
उनले असोज १ गते नै राजीनामा पठाएको भएता पनि बीचमा सार्वजनिक विदा परेकाले सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन्।
योजना आयोगका सदस्य शाहीले नेपालमा विकास भएको पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यावहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यको जिम्मेवारीबाट राजीनामा दिएको बताए ।
राजीनामा पत्रमा योजना आयोग सदस्य शाहीले भनेका छन्, ‘कर्णाली प्रदेश सरकारले म माथि विश्वास गरी कर्णाली प्रदेश योजना आयोगको सदस्यको जिम्मेवारी प्रदान गरी कार्यकालको महत्वपूर्ण अवधि पुरा गर्ने अवसर प्रदान गरेकोमा माननीय मुख्यमन्त्री र कर्णाली प्रदेश सरकार प्रति आभार ब्यक्त गर्दछु । यो अवधिमा मैले आफ्नो क्षमताले भ्याएसम्म कर्णाली प्रदेशको नीति, कार्यक्रम, पञ्चवर्षीय योजना, विभिन्न गुरुयोजनाहरू, बजेट लगायत योजना सम्बन्धी महत्वपूर्ण डकुमेन्टहरू निर्माण, योजना आयोगका अन्य कामहरूको सम्पादन तथा नीति सुझाव सल्लाह दिइ योगदान गरेको छु ।’
आयोगका सदस्य शाहीले राजीनामा पत्रमा भनेका छन्, ‘म आफै कर्णालीवासी भएको नाताले प्रदेशको योजना निर्माणमा हामी सबैले योगदान गर्नुपर्दछ भन्ने मनसायले नै हामीले सीमित सुविधा तथा साधन स्रोतका बाबजुत पनि यी महत्वपूर्ण कार्य सम्पादन गर्ने विषयलाई प्राथमिकतामा राखेका थियौँ। कम्तीमा प्रदेशका महत्वपूर्ण योजनाहरू बनेकोमा हामी सबैले गर्व गर्नैपर्दछ ।’
उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक महसुश गरेमा आफू नीति र योजना निर्माणका कार्यमा स्यम्सेवी रूपमा योगदान गर्न सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे।

Shares

प्रतिक्रिया