ad ad

कारोबार


किन आकाशियो खानेतेलको मूल्य?

किन आकाशियो खानेतेलको मूल्य?

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १७:४२, काठमाडौँ

अहिले सूर्यमुखी तेल १ लिटरको बजार मूल्य २४५ देखि २६० रुपैयाँसम्म पुगेको छ। 

६ महिनादेखि एक वर्ष अघिसम्म मात्र यही सूर्यमुखी तेल १ लिटर किन्दा १६० रुपैयाँ हाराहारीमा पाइन्थ्यो। 

यसले देखाउँछ नेपालीहरुको भान्सा कति महंगो भएको छ।

तेल दैनिक नभई नहुने खाद्यवस्तु हो। 

सूर्यमुखीमात्र होइन, तोरीको तेल १ लिटरको २७० रुपैयाँकै वरिपरि पुगिसकेको छ भने सोयाबिन तेल १ लिटरको बजार मूल्य करिब २५० रुपैयाँ नाघिसकेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त आवमा घ्यू तथा तेलको वार्षिक औसत मूल्यवृद्धि दर १७.५४ प्रतिशत थियो। 

यो गत असार ३१ मा सकिएको आर्थिक वर्षको औसत मूल्यवृद्धि दर हो। उक्त तेलको खुद्रा बजार मूल्य आज अर्थात् बुधबारको हो। 

तेलमात्र होइन, दलहन, गेडागुडीलगायतका खाद्यवस्तुको मूल्य पनि आकाशिएको छ। यी वस्तुको मूल्यवृद्धिदर गत वर्ष १०.६५ प्रतिशत रहेको थियो। 

राष्ट्र बैंकको गत आवको तथ्यांक र वर्तमान बजार मूल्यलाई हेर्ने हो भने यो वर्ष पनि नेपालीहरुको भान्सा महंगिने निश्चित छ। 

किन आकाशिन्छ खानेतेलको मूल्य? 
यसरी प्रशोधित खानेतेलमा भएको असामान्य वृद्धिलाई नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ भने अन्तर्राष्ट्रिय प्रभाव भएको बताउँछ। 

यसबाहेक खानेतेलमा भन्सार महसुल १० प्रतिशत र मूल्यअभिवृद्धि कर १३ प्रतिशत भएकाले विदेशबाट ल्याउनुपर्ने कच्चा पदार्थको विगत १७ महिनामा भएको दोब्बर बढी मूल्यवृद्धि हुँदा गत वर्ष महसुल दर सरदर २० रुपैयाँ प्रतिलिटर रहेकामा यस वर्ष यस्तो दर नै प्रतिलिटर ४५ रुपैयाँ पुगेको संघको दाबी छ। 

घ्यू तेलको मूल्यवृद्धिको अन्य कारण पनि रहेको संघले जनाएको छ। संघका अनुसार कोरोना महामारीले ढुवानीमा पर्न गएको असरले भाडा बढेको, डिजेल तथा पेट्रोलको मूल्यवृद्धि र पहिलेभन्दा ढुवानीको समय दोब्बर भएकोले अन्तर्राष्ट्रिय भाडादर समेत वृद्धि हुँदा खानेतेलको मूल्यमा प्रतिलिटर सरदर २० देखि २५ रुपैयाँसम्म बढेको हो। 

त्यस्तै सहायक कच्चापदार्थ र प्याकिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्यधिक वृद्धि भएको संघको दाबी छ। संघले हालसम्म पनि चलनचल्तीको अन्तर्राष्ट्रि मूल्यअनुसारको नेपालको मूल्य अझै परिमार्जित हुन नसकेको दाबी गरेको छ। 

बजार मूल्य सस्तो हुन खानेतेलको कच्चा पदार्थको उत्पादन नेपालमै बढाउनुपर्ने संघको सुझाव छ। संघकै भनाइ स्वीकार्ने हो भने नेपालमा खानेतेलको कच्चापदार्थ उत्पादन र उपलब्धता शून्यप्रायः छ। 

सोही कारण तेस्रो देशबाट कच्चापदार्थ ल्याउनुपर्ने बाध्यता छ। त्यसरी विदेशकै कच्चा पदार्थ ल्याउँदा त्यहाँको मूल्यमा हुने उतारचढावले तेल महंगिने संघको भनाइ छ। 

कृत्रिम अभाव गरेका छैनौँः संघ 
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघमा २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरु छन्। यी उद्योगले कच्चा पदार्थ ल्याएर प्रशोधनपछि तयारी सोयाबिन तेल, सनफ्लावर (सूर्यमुखी) तेललगायतका उत्पादन स्थानीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निकासी गर्दै आएका छन्। 

संघले आफूहरुविरुद्ध लागेको कृत्रिम अभावको आरोप नकारेको छ। बुधबार विज्ञप्ति नै जारी गर्दै संघले उद्योगहरुलाई चाहिने क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायतबाट ल्याउने गरेको र त्यसरी ल्याउँदा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरुप नेपाली बजारमा मूल्य निर्धारण हुने भएकाले कहिले महंगो कहिले सस्तो हुने बताएको छ। 

संघका अनुसार सन् २०२० को अप्रिलमा फोब अर्जेन्टिना क्रुड सोयाबिनको मूल्य प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर, फोब युक्रेन क्रुड सनफ्लावरको मूल्य प्रति मे. टन ७०४ अमेरिकी डलर रहेको थियो। तर विगत एक वर्षमै यसमा असामान्य वृद्धि भई उक्त क्रुड तेल सन् २०२१ मेमा आइपुग्दा प्रति मे. टन क्रमशः १३६३ अमेरिकी डलर, १४९५ अमेरिकी डलर पुगेको छ। 

त्यस्तै गत जुलाई २ सम्म आइपुग्दा एक्कासि बजार घटेर क्रुड सोयाबिन १०९५ अमेरिकी डलर र क्रुड सनफ्लावर प्रतिमे. टन ११६० अमेरिकी डलरमा आइपुगेको थियो। त्यतिबेला आफूहरुले पनि बजार मूल्य घटाएको संघको दाबी छ। 

तर अहिले फेरि खानेतेलको कच्चापदार्थको मूल्य प्रतिमे. टन २०० देखि २५० अमेरिकी डलरसम्म बढेको छ। संघका अनुसार अगस्ट २० सम्मको तथ्यांकअनुसार क्रुड सोयाबिन प्रति मे. टन १३२७ डलर र क्रुड सनफ्लावर प्रति मे. टन १३३० अमेरिकी डलर पुगेको कारण अहिले बजारमा तेलको मूल्य बढेको संघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा हुने कच्चा पदार्थको मूल्य उतारचढावले प्रभाव पार्दा नेपालमा मूल्यवृद्धि भएको बताउँदै कृत्रिम अभाव गरेको आरोप सरासर झूटो भएको संघको दाबी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .