बैंक तथा वित्तीय संस्थाहरुको नाफा कोरोनाको प्रभाव सुरु हुनुअघिकै अवस्थामा पुगेको छ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार कोरोनाअघिको समयभन्दा राम्रो नाफा बैंकहरुले कमाउन थालेको देखिएको हो।
चालू आर्थिक वर्ष २०७८÷०७९ को साउन महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन्।
यो महिनामा सबै वाणिज्य बैंकहरु नाफामा रहेका छन्।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार कोरोना सुरु हुनुअघि बैंकहरुले यसरी नाफा कमाउँदैनथे।
ती अधिकारीले भने, ‘कोरोनाको प्रभाव हुनुभन्दा अघि २०७६/०७७ को साउन महिनाको नाफा हेर्ने हो भने पनि १० वटा वाणिज्य बैंक घाटामा रहेको देखिएको छ। सबै वाणिज्य बैंकको गरेर सो समयमा नाफा २ अर्ब १४ करोड मात्रै थियो।’
आर्थिक वर्षको सुरुको तीन महिनालाई बैंकहरुले लगानी गर्ने समय मानिन्छ। सोही कारण योभन्दा अघि आर्थिक वर्षको पहिलो महिनामा केही बैंक घाटामा समेत देखिन्थे। त्यसलाई सामान्य रुपमा हेरिन्थ्यो।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०७६/०७७ को साउन महिनाको तथ्याङ्कमा नेपालका वाणिज्य बैंकहरुमध्ये सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र एनआईसी एसिया बैंक घाटामा थिए।
तर अहिले सबै बैंकहरुले नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
कुन बैंकको कति नाफा?
| क्र.सं. | बैंककाे नाम | खुद नाफा |
| १ | नबिल बैंक | ६१ करोड |
| २ | ग्लोबल आईएमई बैंक | ४८ करोड |
| ३ | एनआइसी एसिया बैंक | ४१ करोड |
| ४ | सिद्धार्थ बैंक | ३२ करोड ६१ लाख |
| ५ | प्राइम बैंक | ३० करोड ३८ लाख |
| ६ | एनएमबी बैंक | ३० करोड १९ लाख |
| ७ | इन्भेष्टमेन्ट बैंक | २९ करोड १३ लाख |
| ८ | एभरेष्ट बैंक | २८ करोड ९३ लाख |
| ९ | मेगा बैंक | २८ करोड ४० लाख |
| १० | प्रभु बैंक | २७ करोड ४८ लाख |
| ११ | सानिमा बैंक | २६ करोड ६४ करोड |
| १२ | कृषि विकास बैंक | २६ करोड १७ लाख |
| १३ | कुमारी बैंक | २५ करोड ७२ लाख |
| १४ | सिटिजन्स बैंक | २४ करोड ४८ लाख |
| १५ | माछापुच्छ्रे बैंक | २२ करोड ६९ लाख |
| १६ | लक्ष्मी बैंक | २१ करोड ४८ लाख |
| १७ | सनराइज बैंक | १८ करोड ८३ लाख |
| १८ | एनसीसी बैंक | १६ करोड ५ लाख |
| १९ | स्ट्यान्डर्ड चार्टर्ड बैंक | १५ करोड ८ लाख |
| २० | नेपाल बंगलादेश बैंक | १४ करोड ३८ लाख |
| २१ | नेपाल एसबीआई बैंक | १३ करोड ९८ लाख |
| २२ | हिमालयन बैंक | १३ करोड १३ लाख |
| २३ | सिभिल बैंक | १० करोड ७८ लाख |
| २४ | बैंक अफ काठमाण्डु | ९ करोड ३७ लाख |
| २५ | सेञ्चुरी बैंक | ७ करोड ३० लाख |
| २६ | राष्ट्रिय वाणिज्य बैंक | ७ करोड २२ लाख |
नेपाल राष्ट्र बैंककाे उक्त तथ्यांकमा नेपाल बैंककाे तथ्याङ्क भने उपलब्ध छैन ।
यो वर्ष बैंकको नाफा किन बढ्यो?
गत वर्ष नेपालको कर्जा लगानी बढेको थियो। त्यसको प्रतिफल नै बैंकहरुलाई देखापरेको राष्ट्र बैंकको विश्लेषण रहेको छ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।
Shares

प्रतिक्रिया