ad ad

कारोबार


बजेट प्रतिस्थापन विधेयक संसदमै अड्कियो, अत्यावश्यक सरकारी खर्च पनि रोकिने

बजेट प्रतिस्थापन विधेयक संसदमै अड्कियो, अत्यावश्यक सरकारी खर्च पनि रोकिने

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १४:१७, काठमाडौँ

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याएको विधेयक पारित नै नभई प्रतिनिधिसभा बैठक स्थगित भएको छ। 

प्रतिस्थापन विधेयक भोलिसम्म पारित भइसक्नुपर्नेमा असोज ४ गतेसम्म प्रतिनिधि सभा बैठक नै स्थगित भएको हो। 

याे सरकारले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेट संसद चलेकाे ६० दिनभित्र पारित गरिसक्नुपर्ने थियाे। 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयकको सामान्य सैद्धान्तिक छलफलका लागि बैठकमा पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिए। 

त्यसपछि एमाले सांसदकै नाराबाजीबीच अर्थमन्त्री शर्माले छलफलका लागि विधेयक पेस गरे। छलफलमा भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मात्रै सहभागी भए। यद्यपि उनले अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरे। 

त्यसपछि सैद्धान्तिक छलफल सकिएको भन्दै सभामुख सापकोटाले निर्णयार्थ पेस गरेकोमा ध्वनिमतका आधारमा बहुमतबाट विधेयक स्वीकृत भएको बताए। तर विधेयक स्वीकृत भए पनि पारित भने भएन। 

योसँगै बजेटबारे अन्योल बढेको छ। बजेट पारित नहुँदा अत्यावश्यक सरकारी खर्च सबै रोकिने भएको छ। 

यद्यपि अर्थमन्त्री शर्माले भने ५÷७ दिन खर्च रोकिँदैमा केही फरक नपर्ने संसद बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग बताए।  

उनले भने, ‘सहमतिका साथ बजेट पारित हुन्छ, केही समय खर्च नगर्ने अवस्था पनि हुनसक्छ, हाम्रो (एमालेसँग) वार्ता चलिरहेको छ।’ 

उनले कर उठाउने विशेष व्यवस्थाअनुसार कर संकलन नरोकिने बताए। 

त्यस्तै उनले सदन चलिरहेकाले पेस्की खर्चका लागि अध्यादेश पनि नल्याउने बताए। उनका अनुसार विधेयक पारित भएपछि खर्च अघि बढ्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .