ad ad

कारोबार


विदेशबाट आउनेहरू किन बस्दैनन् होटल क्वारेन्टिन?

विदेशबाट आउनेहरू किन बस्दैनन् होटल क्वारेन्टिन?

वसन्त अर्याल
साउन १८, २०७८ सोमबार २०:४५, काठमाडौँ

कोरोना संक्रमण दर बढिरहेको समयमा विदेशबाट आउने यात्रु होटल क्वारेन्टिनमा नबसी आफूखुसी हिँड्ने गरेका छन्। 

सरकारले खोप नलगाएका यात्रुले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरे पनि अनुगमन नहुँदा आफूखुसी गर्ने गरेका छन्।

सरकारी मापदण्डअनुसार वैदेशिक रोजगारीबाट फर्किएकाले कम्तीमा ५ दिन होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था छ। 

त्यसबाहेकका देशबाट फर्किने नेपाली नागरिक वा विदेशीले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड बनेको छ। 

अन्तर्राष्ट्रिय हवाइ कम्पनीले एयरलाइन्सको टिकट काट्नुअघि होटल बुकिङको प्रमाण माग्ने गरेका छन्। यात्रुले अनलाइनमार्फत होटल बुकिङ गर्ने तर नेपाल आएर नबस्ने धेरै देखिएको होटल व्यवसायीको गुनासो रहेको छ। 

विदेशबाट आएकाले होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने भन्दै पर्यटन विभागले १३४ वटा होटल सूचीकृत गरेको छ। 

कुनै कुनै एयरलाइन्सले होटलसँग मिलेर हवाइ टिकटमै होटलको भाडा समेत लिएर यात्रु ल्याउने गरेका थिए। 

हवाइ कम्पनीले यात्रु लुटेको भन्दै आलोचना भएपछि धेरै एयरलायन्सले यात्रुलाई आफूखुसी होटल बुकिङ गरेको प्रमाण भए यात्रु बोक्ने गरेका छन्। 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पहिला हवाइ टिकटसँगै होटल व्यवस्थापन गरे पनि अहिले छाडेको बताए। 

‘अहिले होटल बुकिङ गरेको प्रमाणपत्रको आधारमा हामीले यात्रुलाई नेपाल ल्याउने गरेका छौँ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘केही दिन अघिसम्म होटलसहितको खर्च हवाइ टिकटमा जोड्ने गरेका थियौँ। अहिले भने बुकिङ गरेको आधारमा ल्याउने गरेका छौँ।’

एयरलाइन्सले होटल बुकिङको आधारमा यात्रु ल्याए पनि बुकिङ रद्द गरी आफ्नो गन्तव्यमा जाने गरेको होटल व्यवसायी बताउँछन्। 

‘एयरलाइन्सले होटल बुकिङ नगरेसम्म यात्रु नबोक्ने हुँदा अनलाइनबाट बुकिङ गर्ने धेरै छन्’, होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्यले भने, ‘नेपालको एयरपोर्टमा झरेपछि बुकिङ रद्द गरी आफ्नो गन्तव्यमा जाने धेरै छन्।’

उनले बुकिङ गरेका केही यात्रुमात्रै होटलमा बस्न गए पनि धेरैजसो होटलमै नपुग्ने बताए। 

‘बाहिरबाट अनलाइनमा बुकिङ गर्ने सुविधा छ। बुकिङ गर्दा रकम तिर्नुपर्दैन’, शाक्यले भने, ‘नेपाल आएर रद्द गर्छन्। त्यसपछि कहाँ जान्छन्, थाहा छैन।’

एयरपोर्ट आउने सबै होटल क्वारेन्टिन जान्छन्ः तिवारी 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयरपोर्टमा आएका यात्रु होटलमै जाने गरेको दाबी गरे। 

‘पूर्ण खोप नलगाएकाले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था छ’, तिवारीले भने, ‘होटल बुकिङ नगरी कोही होटल आए सरकारले तोकेका होटलमा क्वारेन्टिनको लागि पठाउने गरेका छौँ।’

तिवारीले होटल क्वारेन्टिनमा पठाउने दाबी गरे पनि यात्रु १/२ दिन होटलमा बसी धेरै दिनको बिल लगेर जाने व्यवसायी नै बताउँछन्।

‘विदेशबाट आएका १÷२ दिन होटलमा बस्छन्। ५ दिनको बिल बनाउन लगाएर क्वारेन्टिन नबस्ने धेरै छन्’, एक होटल व्यवसायीले भने, ‘पाहुना बस्न नचाहेपछि हामी जान दिन्छौँ।’

त्यसो त विदेशबाट आएका यात्रु होटल क्वारेन्टिनमा बस्छन् कि बस्दैनन्, सरकारी निकायले अनुगमन नै गर्दैन। विदेशबाट आएका यात्रु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सीसीएमसीले अनुगमन गर्नुपर्ने व्यवस्था छ। 

सीसीएमसीले विदेशबाट आएका यात्रु होटल क्वारेन्टिनमै बस्ने गरेको दाबी गरेको छ। 

‘होटल बुकिङ नगरी नेपालमा आउन पाइँदैन। आइहाले एयरपोर्टबाटै होटलमा जानुपर्ने मापदण्ड बनाएका छौँ’, कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सहसचिव नुरहरि खतिवडाले ‘होटल क्वारेन्टिनमा नबसेको उजुरी आए कारबाही गर्छौँ।’

उनले विदेशबाट आएका यात्रु होटल क्वारेन्टिन बसे नबसेको अनुगमन पर्यटन विभागले पनि गर्ने गरेको दाबी गरे। पर्यटन विभागले भने होटल क्वारेन्टिनको लागि होटलहरू सूचीकरण गर्नेबाहेक केही गरेकै छैन।

‘एक÷दुई जना होटल नबसी गएका हुन सक्छन्। धेरै होटल बुकिङ गरेर बस्ने गरेकै छन्’, खतिवडाले भने, ‘सीसीएमसीले कसैले उजुरी गरे मात्रै कारबाही गर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .