ad ad

कारोबार


परीक्षा धमाधम सञ्चालन गर्ने, लामो दूरीका यातायातचाहिँ नखोल्ने?

परीक्षा धमाधम सञ्चालन गर्ने, लामो दूरीका यातायातचाहिँ नखोल्ने?

वसन्त अर्याल
असार २८, २०७८ सोमबार १८:३१,

सरकारले परीक्षा सुचारु गर्न अनुमति दिए पनि लामोदूरीका यातायात सञ्चालन नहुँदा विद्यार्थीलाई समस्या परेको छ। 

त्रिभुवन विश्वविद्यालयले साउन ५ देखि नै परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ तर सरकारले भने अझै लामो दूरीको सार्वजनिक यातायात खुलाएको छैन। 

त्रिविले साउन ५ देखि स्नातक तहको दोस्रो वर्षको परीक्षा सञ्चालन गर्दै छ भने १० गतेबाट पहिलो वर्षको परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। 

त्यसपछि स्नातकोत्तर तहको परीक्षा तालिका समेत सार्वजनिक भइसकेको छ। 

कोभिड महामारीको दोस्रो लहर सुुरु भएसँगै सरकारले वैशाख १६ देखि लामो दूरीका सार्वजनिक यातायात बन्द गरेको थियो। 

अधिकांश जिल्लामा निषेधाज्ञाको कारण छोटो दूरीका सार्वजनिक यातायात पनि बन्द भएका थिए। 

कोभिड संक्रमणको दर घट्दै गएपछि हाल छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन भए पनि लामो दूरीको यातायात अझै सञ्चालन हुन सकेका छैनन्। 

सार्वजनिक यातायात नखुले पनि व्यवसायीले ‘सेटिङ’मा ४–५ गुणा बढी भाडा लिएर यात्रु ओसारिरहेका छन्। 

निजी नम्बर प्लेटले अत्यावश्यक कामको लागि भन्दै जिल्ला प्रशासन कार्यालयबाट पास लिई यात्रु ओसार्ने काम गरिरहेका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले देश र सार्वजनिक यातायातको अवस्था उस्तै रहेको व्यंग्य गरे। 

उनले भने, ‘देश अहिले जसरी अव्यवस्थित रुपमा चलेको छ, सार्वजनिक यातायात पनि त्यसरी नै चलेको छ।’ 

अहिले धेरैले जिल्ला प्रशासन कार्यालयबाट पास बनाई बढी भाडा लिएर यात्रु ओसारिरहेको उनको भनाइ छ।   

यातायात व्यवसायीले राजनीतिक दलले बाटोमा जुलुस निकाल्दा कोभिड नलाग्ने तर सार्वजनिक यातायात सञ्चालन नगरेको भन्दै आक्रोश पोखेका छन्। 

‘अहिले लामो दूरीको गाडी बन्द भने पनि मानिस धमाधम आइरहेका छन्। काठमाडौं उपत्यका छाडिरहेका छन्। गाडीले यात्रुहरुलाई ठगिरहेका छन्’, कर्माचार्यले भने, ‘सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको गाडीले साविककै भाडादरमा यात्रु बोक्छन्। निजी गाडीमा ३÷४ गुणा बढी पैसा तिरेर हिँड्नुपरिरहेको छ।’ 

सरकारले सार्वजनिक यातायात नखोल्दा सबैभन्दा बढी दुःख यात्रुले नै पाएको व्यवसायीले बताएका छन्।  

‘देशको सिस्टम कस्तो हो भनेर सीसीएमसी, मन्त्रालय सबैलाई भनिसक्यौँ तर कहिल्यै सुनुवाइ हुँदैन’, उनले भने, ‘सरकारले निर्णय गरेपछि हामीले गाडी चलाउने हो।’ 

कर्माचार्यले सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय नगर्दा परीक्षा दिने विद्यार्थीले पनि दुःख पाउने बताए। विद्यार्थी आउनै चाहे पनि महंगो रकम तिरेर आउनुपर्ने बताए।

निजी गाडीलाई मानिस बोक्न दिएको छ तर सार्वजनिक यातायातलाई दिएको छैन। 

सोही कारण अत्यावश्यक रुपमा आउनुपर्ने मानिस ५ सय पर्ने ठाउँमा ५ हजार तिरेर आउनुपर्ने बाध्यता छ। 

अहिले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा अवरोध गरेकाले नागढुंगासम्म ल्याएर छाड्ने र त्यहाँबाट फेरि अर्को गाडीमा काठमाडौं ल्याउने काम भइरहेको छ। 

‘सीसीएमसीसँग कुरा गर्दा अब छिट्टै खोल्ने बताएको छ। हामीले सबै समस्या बुझाउने काम गरेका छौँ। अब १÷२ गते खोल्ने सम्भावना धेरै रहेको छ’, कर्माचार्यले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जिल्ला प्रशासन कार्यालयको पास लिएर लामो दूरीको यातायात सञ्चालन भइरहेको बताए। 

‘मन्त्रिपरिषदले निषेधाज्ञा खुकुलो बनाउँदा जिल्ला प्रशासनको पास लिएर आउजाउ गर्न दिने निर्णय गरेको थियो’, प्रवक्ता दासले भने, ‘अत्यावश्यक काम परेर काठमाडौं आउँदा वा बाहिर जाँदा पास भए छाड्छौँ।’

उनले निजी गाडी वा बसले नक्कली पास बनाई बढी भाडा लिनेलाई कारबाही पनि गरिरहेको बताए।

‘ट्राफिक प्रहरीले बढी भाडा लिने चालक तथा सहचालकलाई दैनिक कारबाही गरिरहेको छ’, उनले भने, ‘परीक्षा दिनको लागि कसैले पास लिएर काठमाडौं आउँदै छ भने छाड्छौँ।’

उनले अहिले विदेशबाट आएका नेपाली, अत्यावश्यक काम परेर आउजाउ गर्नेलाई नरोकेको बताए। 
 
पायक पर्ने ठाउँमै परीक्षा दिने व्यवस्था हुन्छः परीक्षा नियन्त्रक जोशी
यता त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले लामो दूरीको यातायात सञ्चालन नभए पनि पायक पर्ने ठाउँमै परीक्षा दिन पाउने व्यवस्था गर्ने दाबी गरेको छ। 

परीक्षा नियन्त्रक प्रमुख पुष्पराज जोशीले जिल्लाभित्र यातायात सञ्चालन रहेकाले विद्यार्थीलाई समस्या नपर्ने गरी परीक्षा सञ्चालन हुने बताए।

लामो दूरीको यातायात सञ्चालन नहुँदा पनि पायक पर्ने जिल्लाभित्रै विद्यार्थीलाई सम्बन्धित परीक्षा दिने व्यवस्था गरिने उनको भनाइ छ। 

‘हामीले प्रविधिक तयारी गरिरहेका छौँ’, परीक्षा नियन्त्रक जोशीले नेपालखबरसँग भने, ‘लामो दूरीको यातायात नचलेको अवस्थामा विद्यार्थीलाई जुन जिल्लामा पायक पर्छ त्यहाँ परीक्षा दिने व्यवस्था गर्छौँ।’

उनले अब सार्वजनिक यातायात खोले पनि विद्यार्थी आउजाउको लागि सहज नहुने हुँदा जिल्लामै परीक्षा सञ्चालन गर्ने बताए।

‘त्रिभुवन विश्वविद्यालयले औपचारिक निर्णय त गरिसकेको छैन। मंगलबारसम्म निर्णय हुने अवस्था छ’, उनले भने, ‘बुधबारसम्म कसरी परीक्षामा सहभागी हुने भन्ने सूचना जारी गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .