साझा यातायातले विद्युतीय बस खरिदका लागि आब्हान गरेको टेन्डरमा ९ वटा कम्पनीले सहभागिता जनाएका छन्।
साझा यातायातले चैत १३ गते ग्लोबल टेन्डर माफर्त ४० वटा विद्युतीय बस खरिदको लागि आब्हान गरेको थियो।
कम्पनीले काठमाडौं उपत्यकामा चल्ने गरी पहिलो चरणमा ४० विद्युतीय बस किन्न लागेको हो। साझा यातायातका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले शुक्रबार प्रस्ताव खोलेको जानकारी दिएका छन्।
‘हामीले विद्युतीय बस खरिद गर्नको लागि आब्हान गरेको टेन्डरको प्रस्ताव आज खोलेका छौं,’ पाण्डेले भने ‘विद्युतीय गाडी उपलब्ध गराउनको लागि ९ वटा कम्पनीले प्रस्ताव हालेका छन्।’
उनले छिट्टै ९ वटा कम्पनीको मुल्यांकनपछि ४० वटा विद्युतीय बस खरिदको लागि कम्पनी छनोट गर्ने बताएका छन्। साझाले टेन्डरमार्फत सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपर्ने व्यवस्था गरेको थियो।
साझा यातायातका सञ्चालक भुषण तुलाधरले प्रस्ताव गर्ने ९ वटा कम्पनीमा चाइनिज बढी भएको बताएका छन्।
‘विद्युतीय बस खरिदको लागि आब्हान भएको टेन्डरमा ९ वटा कम्पनीले प्रस्ताव हालेका छन्,’ तुलाधरले भने ‘सरसर्ती हेर्दा सबै चाइनिज कम्पनी जस्ता छन्। अब मुल्यांकन शुरु हुन्छ।’
उनले ९ वटा कम्पनीका काजगपत्र हेरेर मुल्यांकन गर्दा सम्झौताको लागि अझै करिब २ महिना लाग्ने बताए।
टेन्डर मार्फत छनोट भएको कम्पनीले बससंगै चार्जिङ मेसिन समेत उपलब्ध गराउने छ।
‘साझा यातायातले ठाउँ र पूर्वधार निर्माण गर्छ। बस उपलब्ध गराउने कम्पनीले चार्जिङ मेसिन उपलब्ध गराउँछ,’ उनले भने ‘विद्युत प्राधिकरणको सहयोगमा विद्युत जडान हुन्छ।’
Shares
प्रतिक्रिया