ad ad

Draft


वामदेवले भन्न थाले, ‘पार्टीमा अब मेरा दिन फर्किए’

वामदेवले भन्न थाले, ‘पार्टीमा अब मेरा दिन फर्किए’

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ९:३९,

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्को साता सिंगापुरबाट फर्केपछि सत्तारुढ पार्टीमा फेरिएको समिकरणले वैधानिकता पाउने भएको छ।

एक चरणको उपचार सकेर प्रधानमन्त्री ओली संभवतः भदौ २० गते स्वदेश फर्कने छन्। ओली फर्केपछि बस्ने नेकपाको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई कार्यकारी अध्यक्ष र सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने गरी विधान संशोधन गर्ने तयारी छ।

‘प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएपछि बस्ने नेकपा स्थायी समितिको बैठकबाट विधान संशोधन गरी दाहाललाई कार्यकारी अध्यक्ष र गौतमलाई उपाध्यक्ष बनाउने व्यवस्था गरिनेछ’, नेकपा सचिवालयका एक सदस्यले शुक्रबार नेपालखबरसँग भने।

ओलीले सिंगापुर जानुअघि नै कार्यकारी अध्यक्षको हैसियतमा पार्टीको बैठक आयोजना गर्ने जिम्मेवारी दाहाललाई दिइसकेका थिए भने गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पनि राखेका थिए।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी दाहाललाई दिने प्रस्ताव स्वाभाविक नै थियो। दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी कामले गति लिएको महशुस नेकपा पंक्तिमा भएको नेताहरूले बताउन थालेका छन्।

दाहालले सचिवालयको पहिलो बैठक आयोजना गरी पार्टी एकता सम्बन्धी केही निर्णयहरू गराएका छन् भने विशेष राष्ट्रिय अभियान सञ्चालनको तयारी गर्न निर्देशन दिँदै शुक्रबार १७ बुँदे अन्तरपार्टी निर्देशन पनि जारी गरेका छन्।

तर नेकपाको विधानमै व्यवस्था नभएको उपाध्यक्ष पदमा वामदेव गौतमलाई नियुक्त गर्ने प्रस्तावले कार्यकर्ता पंक्तिमा तरंग ल्याएको छ।

बरिष्ठ नेता माधवकुमार नेपालको घटुवा, झलनाथ खनालको बढुवा, स्कुल विभागमा पूर्वमाओवादीले नरुचाएका ईश्वर पोखरेलको नियुक्तिसँगै कार्यविभाजन गर्दा ओलीले आफु निकटहरुलाई प्राथमिकता दिनुमा एउटा योजनाअनुसार काम भइरहेको धेरैको विश्लेषण छ।

उपाध्यक्ष भए पनि पार्टी सचिवालयमा गौतमको बरियता पाँचौँ नम्बरमै रहनेछ। पछिल्लो समिकरणबारे जानकार नेकपाका एक नेताका अनुसार अध्यक्ष ओलीले गौतमलाई नेकपाभित्र पूर्वएमाले समूहको नेतृत्व गर्ने सहमतिसहित अघि सारेका हुन्।

गत निर्वाचनमा बर्दियाबाट झिनो मतान्तरमा हारेपछि ओली निकट कार्यकर्ताहरुका कारण आफू पराजित भएको सार्वजनिक अभिव्यक्ति दिएका गौतम त्यसयता ओलीसँग चिढिएका थिए।

वामदेव निकट पूर्वएमालेका एक नेताका अनुसार अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपाललाई निकट ल्याउन भूमिका खेलेका गौतमले केही महिनाअघि प्रधानमन्त्री ओलीविरुद्ध संसदीय दलमा हस्ताक्षर संकलनको प्रस्तावसमेत राखेका थिए।

वामदेवको चलखेलले पार्टीभित्र अप्ठेरोमा परेका ओलीले उनलाई आफूतिर तान्न उपाध्यक्ष पद अफर गरेको नेकपाका नेताहरूले बताउने गरेका छन्।

‘उपाध्यक्ष भएपछि नेकपामा पूर्वएमालेको तर्फबाट ओलीले गर्दै आएका कतिपय काम उपाध्यक्ष गौतमले गर्ने सहमति भएको छ’, स्थायी समितिका एक सदस्य भन्छन्, ‘कार्यकारी अध्यक्ष दाहाल भएपछि पनि ओली अध्यक्ष रहिरहनु हुनेछ तर पार्टीका दैनन्दिन काममा सहभागी हुनुहुने छैन, उहाँको साटो पूर्वएमालेका तर्फबाट वामदेवले हेर्नु हुनेछ।’

सचिवालय सदस्य मात्रै हुँदा पाँचौँ मर्यादाक्रममा रहेका गौतमलाई त्यस्तो जिम्मेवारी दिन नसकिने भएकाले उपाध्यक्ष बनाउने सहमति भएको हो।

तुरुन्तै हौसिने स्वभावका नेता गौतमले आफू निकट नेता–कार्यकर्तासँग ‘पार्टीमा अब आफ्ना दिन फर्केको’ सुनाउने गरेका छन्। उनले ०५१ सालमा शक्तिशाली उपमहासचिव भएर काम गरे जस्तै यसपटक पनि काम गर्ने बताउन थालेका छन्।

तर सजिलो छैन
अध्यक्ष ओलीले गौतमलाई आफूतिर ल्याउन उपाध्यक्षको प्रस्ताव अघि सारेर अध्यक्ष दाहाललाई समेत मनाए पनि पूर्वमाओवादी समूहका दोस्रो तहका कतिपय नेताहरु भने असन्तुष्ट देखिएका छन्।

भदौ १ गते सम्पन्न बैठकमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसको औचित्यका बारेमा बहस हुनुपर्ने प्रस्ताव राखेका छन् भने स्थायी समितिका केही सदस्यहरुले अध्यक्ष दाहाललाई भेटेर असन्तुष्टी पोखेका छन्।

‘पार्टीको आधिकारिक कार्यक्रम (जनताको जनवाद) विरुद्ध एमालेको पुरानै कार्यक्रम (जनताको बहुदलीय जनवाद) को पक्षमा लेख सार्वजनिक गरेर एकता खलबल्याउने काम गरेका वामदेवलाई कसरी उपाध्यक्ष बनाउने प्रस्ताव आयो?’, पूर्वमाओवादीका एक नेताको प्रश्न छ, ‘एमालेका तर्फबाट अध्यक्ष, दुई बरिष्ठ नेता, उपाध्यक्ष र महासचिव हुने अनि हाम्रो तर्फबाट अध्यक्षबाहेक अन्य पद खै?’

उनले पदाधिकारी थप्ने भए पूर्वमाओवादीतर्फका पदाधिकारीहरु पनि थप्नुपर्ने बताए।

‘हाम्रोमा पनि महाधिवेशनबाट आएका पदाधिकारी छन्, उनीहरुलाई किन सचिवालयमा नलैजाने? अनि एमालेतर्फबाट पदाधिकारी थप्दा हाम्रो तर्फबाट किन नथप्ने?’, पूर्वमाओवादी नेताको थप प्रश्न छ।

माधवको रणनीतिक समर्थन
अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग सत्ता बाँडफाँटको नयाँ सहमति गरेपछि अक्करमा परेका बरिष्ठ नेता नेपालले चाहिँ गौतमलाई उपाध्यक्ष नियुक्त गर्ने प्रस्तावको विरोध गरेका छैनन्। आफूसँग पनि सम्पर्कमै रहेका गौतमको विरोध गर्दा थप चिढिने भएका कारण उनले यो प्रस्तावको समर्थन गरेका छन्।

आफू निकट नेताहरुसँग नेपालले ‘वामदेवलाई उपाध्यक्ष बनाउने कदमले भविष्यमा आफूहरुलाई बेफाइदा नहुने’ भन्दै चित्त बुझाउने कोसिस गरेका छन्।

सचिवालय बैठकमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच भनाभन हुँदा गौतमले मिलाउन भूमिका खेलेका थिए। नेपालको बरियता झार्ने बेलामा विवाद हुँदा चाहिँ गौतम मौन बसेका थिए।

‘नयाँ समझदारी अनुसार पद पाइन्छ भने किन नलिने भन्ने मनमा भए पनि वामदेव कमरेडले माधव कमरेडसँगको सम्बन्ध टुटाउनुभएको छैन’, नेपाल निकट एक नेता भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .