ad ad

Draft


ओली अनुपस्थित बैठकमा पौडेलको आग्रह : सहमति पनि खोजौं, गृहकार्य गरेर मात्रै बैठक बसौं

ओली अनुपस्थित बैठकमा पौडेलको आग्रह : सहमति पनि खोजौं, गृहकार्य गरेर मात्रै बैठक बसौं

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:२२,

सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानको लागि सहमति खोज्नुपर्ने र गृहकार्य गरेर मात्रै बैठक बस्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित बुधबारको सचिवालय बैठकमा महासचिव पौडेलले एउटा अध्यक्ष उपस्थित हुने र अर्को अध्यक्ष उपस्थित नभई बैठक बस्दा त्यसले पार्टी जीवनलाई राम्रो नगर्ने बताएको सचिवालयका एक नेताले बताए। पौडेलले सहमति खोज्नका लागि केही समय दिन समेत आग्रह गरेका थिए।

‘बैठकमा पनि सहमति खोजौँ र गृहकार्य गरेर फेरि अर्को बैठक राखौँ’, पौडेलको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘मिलेर जाने हो र पार्टीलाई एकताबद्ध बनाउने हो भने त्यसो गर्नुपर्छ।’

पौडेलको आग्रहपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग सहमतिका लागि तीन दिनको समय दिएका छन्।

पछिल्ला दिन पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि पौडेलले सक्रियता देखाएका छन्। मंगलबार बसेको सचिवालय बैठकमा पनि उनी कतैतिर नबोलेर तटस्थ बसेका थिए।

प्रचण्डले कात्तिक २८ गते ल्याएको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ गते ल्याएको जवाफी प्रतिवेदनपछि नेकपाभित्रको विवाद उत्कर्षमा चुलिएको छ।

प्रचण्डले ल्याएको प्रतिवेदनमा ओलीलाई विभिन्न आरोप, लान्छना लगाएको भन्दै ओलीले सो प्रस्ताव फिर्ता नभई छलफल नै हुन नसक्ने अडान लिएका छन्।

बुधबारको बैठक प्रचण्डले राखेको भन्दै ओलीले आफू उपस्थित नहुने बताएका थिए। तर, ओली निकट नेताहरुले बुधबारको बैठकमा ओली सहभागी हुने बताए पनि उनी उपस्थित नै भएनन् र बैठकले उनलाई २० गतेको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .