प्रवास


एनआरएनएको ‘कोर्स करेक्सन’ गर्न डा.हेमराजले अघि सारे कार्ययोजना

एनआरएनएको ‘कोर्स करेक्सन’ गर्न डा.हेमराजले अघि सारे कार्ययोजना

डा. हेमराज शर्मा


नेपालखबर
फागुन ९, २०८२ शनिबार १२:२, काठमाडौँ

आन्तरिक कलह र नेतृत्वको खिचातानीले थलिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ‘रिब्रान्डिङ’ गर्ने एजेण्डासहित वर्तमान उपाध्यक्ष डा. हेमराज शर्माले नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका छन्। सन् २०२५–२७ कार्यकालका लागि उनले आइसिसी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

आगामी मार्चमा काठमाडौंमा हुने १२औं विश्व सम्मेलनको पूर्वसन्ध्यामा शर्माले संघको ओरालो लाग्दो साख जोगाउन र दोस्रो पुस्तालाई जोड्न आफू मैदानमा उत्रिएको बताएका छन्।

विगत केही वर्षयता एनआरएनएको केन्द्रीय नेतृत्वमा देखिएको चरम विभाजन र समानान्तर गतिविधिका कारण संस्थाको अस्तित्वमै प्रश्न उठिरहेका बेला शर्माले गम्भीर आत्मसमीक्षासहितको योजना अघि सारेका हुन्। गैरआवासीय नागरिकता कार्यान्वयन जस्ता मुख्य मुद्दाहरू ओझेलमा परेको उनको ठम्याइ छ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले भनेका छन्, "संघभित्रको खिचातानीका कारण पेशागत समुदाय र दोस्रो पुस्ताको सहभागिता लगभग शून्य छ। आजसम्म हामीले विश्वभर रहेका गैरआवासीय नेपालीमध्ये २ प्रतिशतलाई मात्र संस्थामा समेट्न सकेका छौं। अबको आवश्यकता भनेको हालै भएको एकताको सहमतिलाई तार्किक निष्कर्षमा पुर्‍याएर संस्थालाई स्थायित्व दिनु हो।"

'डीएनए' फेर्छु भनेको के हो?

शर्माले केवल पदका लागि मात्र नभई संस्थाको ‘डीएनए’ नै परिवर्तन गर्ने गरी १० वटा निर्देशनात्मक सिद्धान्त अघि सारेका छन्। उनले आफ्नो कार्यकालमा एनआरएनएलाई निम्न आधारमा रूपान्तरण गर्ने संकल्प गरेका छन्।

  • एकीकृत र समावेशी एनआरएनए: फुट होइन, जुटको सन्देश दिने।
  • प्रविधि र परिणाम: कागजी प्रक्रियाभन्दा डिजिटल र नतिजामुखी काममा जोड।
  • नेपाल सरकारको साझेदार: परोपकारी संस्था मात्र नभई मुलुकको आर्थिक समृद्धिको भरपर्दो खम्बा।
  • ज्ञान र सीप परिचालन: विदेशमा आर्जन गरेको बौद्धिक सम्पत्तिलाई नेपालको शिक्षा र पूर्वाधारमा जोड्ने।

एनआरएनएको इतिहासमै पछिल्लो समय सबैभन्दा विवादित रह्यो। संस्थाभित्रको राजनीतिक हस्तक्षेप र ‘इगो’ का कारण सर्वोच्च अदालतसम्म मुद्दा पुगेको पृष्ठभूमिमा शर्माको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बेलायतलाई कर्मथलो बनाएका शर्मा एनआरएनएका बौद्धिक र तार्किक नेता मानिन्छन्। उनले यसअघि संघको महासचिव र उपाध्यक्ष हुँदा संस्थागत सुधार र विधान संशोधनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad