प्रवास


पोल्यान्डमा पहिलोपटक राजधानी बाहिर राहदानी घुम्ती शिविर सञ्चालन हुने

पोल्यान्डमा पहिलोपटक राजधानी बाहिर राहदानी घुम्ती शिविर सञ्चालन हुने

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १७:४४, मध्य युरोप

युरोपेली मुलुक पोल्यान्डमा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ। हालसम्म वारसामा मात्र केन्द्रित हुँदै आएको घुम्ती शिविर पहिलोपटक पोल्यान्डको चौथो ठूलो सहर भ्रोस्वाभमा सञ्चालन हुने भएको छ।

पोल्यान्ड समेत कार्यक्षेत्र भएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले एनआरएनए भ्रोस्वाभ क्षेत्रीय समितिको समन्वयमा शिविर सञ्चालन गर्न लागेको हो।

बर्लिन दूतावासले बुधबार जारी गरेको सूचनाअनुसार २०२६ को जनवरी २-४ (पुस १८-२०) मा शिविर भ्रोस्वाभ सहरस्थित अलैया आर्मी क्रोयोवे ५३, ५०-५४१ नम्बरको भवनमा सञ्चालन हुनेछ। 
दूतावासले जारी गरेको सूचनाअनुसार २ जनवरी २०२७ भन्दा अगावै राहदानीको म्याद सकिन लागेका पोल्यान्डमा बस्दै आएका नेपालीले नवीकरण गर्न सक्नेछन्। 

घुम्ती शिविरबाट सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले अब क्युआर दर्ता प्रणालीमार्फत तोकिएका विवरण उपलब्ध गराउने नयाँ कामको थालनी दूतावासले गरेको छ। यस क्युआर प्रणालीमार्फत दर्ता गर्दा अनुमानित आवेदन संख्या, आवेदनका प्रकार तथा राजस्व भुक्तानीसम्बन्धी विवरण पहिल्यै थाहा पाउन सकिने र यसबाट दूतावासलाई आवश्यक तयारी गरी सेवा प्रवाहलाई प्रभावकारी व्यवस्थापन गर्न सहयोग पुग्ने दूतावासले जनाएको छ।

दूतावासले क्युआर दर्ता प्रणाली गत नोभेम्बर २२ र २३ मा चेक रिपब्लिकमा भएको घुम्ती शिविरबाट प्रयोगमा ल्याएको हो।

पोल्यान्ड भूगोलका हिसाबले ठूलो मुलुक भएकोले नेपाली धेरै रहेका मुख्यमुख्य सहरमा शिविर सञ्चालन गर्दा नेपालीमाझ सकारात्मक सन्देश जाने र यसले सेवा प्रवाहमा समेत थप सहजता हुनेछ। साथै यो कामले दूतावास नभएका मुलुकमा सबै क्षेत्रमा बस्ने नेपालीसँग दूतावासको सम्बन्ध र सम्पर्क स्थापित हुने र सबैले अपनत्व महसुस गर्ने कार्यवाहक राजदूत सागरप्रसाद फुयाल बताउँछन्।

‘अवैतनिक वाणिज्यदूतावास, एनआरएनए तथा पोल्यान्डका सबै संघसंस्थाको समन्वयमा सदाझैँ सर्वसाधारणलाई सार्वजनिक रूपमा सूचित गरिने र यो शिविरबाट धेरैभन्दा धेरै नेपालीले लाभ लिन सक्ने अपेक्षा गरिएको छ,’ कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने।

पोल्यान्डमा हालसम्म भएका सबै (४ पटक) घुम्ती शिविर बर्लिनस्थित दूतावासले राजधानी वारसामा सञ्चालन गरेको थियो।

यसका लागि दूतावासले आवश्यक कागजातको सूची पनि सार्वजनिक गरेको छ।

आवश्यक कागजातमा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि रहेका छन्।

राहदानी विभागको वेबसाइटमा रीतपूर्वक भरिएको अनलाइन फारामको बारकोडसहितको प्रिन्ट पनि राहदानी सेवाका लागि अनिवार्य गरिएको छ।

अनलाइन फाराम भर्दा नेपाली नागरिकताको दुवै भाग, राहदानीको फोटो भएको पेज र नजिकको व्यक्ति भएको पेज अपलोड गर्नुपर्नेछ।

अनलाइन फाराम भर्दा आगामी डिसेम्बर १३, १४, २० र २१ तारिख स्लटहरू पोल्यान्डको घुम्ती सेवा प्रयोजनको लागि मात्र अपोइन्टमेन्ट डेट बुक गर्नका लागि खुला गरिने दूतावासको सूचनामा उल्लेख छ।

३४ पेजको विद्युतीय राहदानीको राजस्व (दस्तुर) १२० युरो तोकिएको छ। दस वर्षमुनिका नाबालकको विद्युतीय राहदानी ११० युरो (६० राहदानी दस्तुर र ५० जन्मदर्ता शुल्क) तोकिएको छ।

हराएको वा बिग्रिएको (पाना च्यातिएको/मसी पोखिएको/केरमेट भएको) हकमा १८० युरो तिर्नु पर्छ।

दस्तुर जम्मा गर्नका लागि नेपाली राजदूतावास, बर्लिनको बैंक खाताको विवरण पनि दूतावासले सूचनामा उल्लेख गरिदिएको छ।

राहदानी दस्तुरबापतको रकम बैंक ट्रान्सफर गर्दा तोकिए बमोजिमको पूरै रकम दूतावासको बैंक खातामा सम्बन्धित आवेदकले अनिवार्य रूपमा आफ्नै नाममा २३ डिसेम्बर, २०२५ सम्म जम्मा गरेको हुनुपर्ने सूचनामा लेखिएको छ। रकम तिर्दा लाग्ने शुल्क सेवाग्राहीकै खाताबाट स्वयंले बेहोर्नुपर्नेछ। 

सेवाग्राही नेपाली नागरिकले आफ्नो राहदानीको लागि अनलाइन फारम आफैँ भर्नुहुन र त्यसरी फाराम भर्न नसक्नेलाई सँगै रहेको जान्ने नेपालीले स्वयंसेवी भावले सहयोग गरिदिन दूतावासले अनुरोध गरेको छ।

राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुनअनुसार कारबाहीको लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा पोल्यान्ड सरकारको सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी पनि दूतावासले पुन: दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad