प्रवास


प्रवासी नेपाली मञ्च युरोपको दोस्रो विस्तारित बैठक बेल्जियममा सम्पन्न

महिला नेतृत्व, लगानी र एनआरएन मुद्दा केन्द्रबिन्दुमा
प्रवासी नेपाली मञ्च युरोपको दोस्रो विस्तारित बैठक बेल्जियममा सम्पन्न

नेपालखबर
जेठ २९, २०८२ बिहिबार ११:२१, बेल्जियम

प्रवासी नेपाली मञ्च युरोप कमिटीको दोस्रो विस्तारित बैठक ९ र १० जुनमा बेल्जियमको एन्टवर्प सहरमा सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अमेरिका तथा युरोप इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, राष्ट्रिय कमिटीका पदाधिकारी, १८ देशबाट आएका करिब २०० प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख आयोजक प्रवासी नेपाली मञ्च बेल्जियम रह्यो, जसका अध्यक्ष विनोद न्यौपाने नेतृत्व टोलीको मिहिनेतले कार्यक्रमलाई व्यवस्थित बनाएको थियो। यसै सन्दर्भमा आयोजक शाखाले तयार पारेको स्मारिकाको पनि लोकार्पण गरिएको थियो।

बैठकमा मुख्यत: तीन सेसन आकर्षणका रूपमा रहे– महिला, लगानी र एनआरएन मुद्दामा विशेष बहस।

महिला सेसन: उक्त सत्रको अध्यक्षता अष्ट्रियाकी अध्यक्ष बाबा राजेश्वरी थापाले गरिन्। उनले प्रवासी नेपाली महिलाको अवस्था, नेतृत्वमा पहुँच, तथा उनीहरूको सुरक्षा र सशक्तीकरणमा युरोपभर गरिएको प्रयासबारे प्रस्तुति दिइन्।

विभिन्न देशका महिलाले आ–आफ्नो अनुभव र सुझाव प्रस्तुत गरे। कार्यक्रम सञ्चालन उत्कृष्ट शैलीमा महिला विभाग युरोपकी सचिव मुना ताम्राकारले गरेकी थिइन्।

सेसनले केवल समस्या उजागर गरेन, महिलाहरूको समाधानमुखी दृष्टिकोण र नेतृत्व क्षमतालाई उजागर गर्ने ‘प्रेरणा मञ्च’को रूपमा भूमिका खेलेको सहभागीहरूले अनुभव बताए।

लगानी सेसन: युरोप लगानी विभाग प्रमुख रामचन्द्र गुरुङ (सुज्ये) को अध्यक्षतामा सम्पन्न सत्रमा युरोपस्थित नेपालीहरूले नेपालमा कसरी सुरक्षित र दीर्घकालीन लगानी गर्न सकिन्छ भन्नेबारे व्यावहारिक छलफल गरेका थिए। कार्यक्रम सञ्चालन विभागका सचिव दिनेश घिमिरेले गरेका थिए।  

गैरआवासीय नेपाली (एनआरएन) सेसन: संघका उपाध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा सञ्चालन भएको यस सत्रले दोहोरो नागरिकता, गैरआवासीय नेपालीको हकअधिकार र सरकारसँगको समन्वयका विषयमा महत्त्वपूर्ण बहस प्रस्तुत गरेको थियो।

प्रवसी नेपाली मञ्च एनआरएन विभागका उपप्रखुख डा चिरन्जीवी खड्काले संघ विवादको बारेमा जानकारी दिए भने कार्यक्रम सञ्चालन एनआरएन बेल्जियमका निवर्तमान उपाध्यक्ष तीर्थ धमलाले गरेका थिए। 

संयोजक मुक्त गुरुङले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हालको प्रवासी राजनीतिक परिस्थिति र संगठनको भूमिकाबारे धारणा राखेका थिए।

सचिव शालिक थपलियाले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरे, जसमा गत एक वर्षको गतिविधि, विस्तार र चुनौतीको समग्र समीक्षा गरिएको थियो। 

कार्यक्रमको विशेष सम्मान अङ्कमा, चेक गणतन्त्रबाट भर्खरै विद्यावारिधि गरेका अध्यक्ष यदुरम पन्थीलाई प्रमुख अतिथि घनश्याम पाण्डेले सम्मान गरेका थिए। साथै, ९ र १२ वर्षमुनिको फुटबल प्रतियोगिता जितेका बालखेलाडीहरू विशेष बराल, विधान बराल र विहान गुरुङलाई समेत सम्मान गरिएको थियो।

बैठकको समापनपश्चात् प्रेस विज्ञप्तिमार्फत प्रवासी नेपालीको संरक्षण, सहभागिता र अधिकारको ग्यारेन्टी गर्ने खालका महत्त्वपूर्ण कुरा घोषणा गरिएको थियो। जसका प्रमुख बुँदा यसप्रकार छन्–

  • अफ्रिका र खाडी मुलुकहरूमा श्रम शोषणमा परेका नेपालीहरूको आवाज उठाउने,
  • अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईसीएओ) मार्फत नेपाल र विदेशबीचको हवाई यातायात सुधार गर्न दबाब दिने,
  • स्मार्ट एनआरएनए प्रणालीअन्तर्गत एमआईइस डेटा संकलनलाई व्यवस्थित गर्ने,
  • महिला आप्रवासी श्रमिकको सुरक्षाका लागि अन्तरदेशीय नीति र निगरानी संयन्त्र विकास गर्ने,
  • अवैध मानव तस्करी, शोषण र लिङ्गीय हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने,
  • गैरआवासीय नेपाली सेसनमा उठेका मुद्दालाई राष्ट्रियस्तरमा एजेन्डा बनाउन एनआरएनएसँग सहकार्य गर्ने,
  • साना देशमा रहेका नेपालीहरूको सहभागिता र समस्या सम्बोधनका लागि विशेष संयन्त्र निर्माण गर्ने।

कार्यक्रमले युरोपभरि रहेका प्रवासी नेपालीको सशक्त प्रतिनिधित्व मात्र होइन, उनीहरूको समस्या, सम्भावना र समाधानका मार्गहरूको ठोस बहसमा रूपान्तरण गरेको छ।

विशेषतः महिला, युवापुस्ता र साना मुलुकमा रहेका नेपालीको मुद्दालाई संस्थागत एजेन्डा बनाउनु बैठकको एक ठूलो उपलब्धि मानिएको छ।

गत वर्ष स्पेनको बार्सिलोनामा सम्पन्न पहिलो विस्तारित बैठकको तुलनामा यो बैठक संगठित, समावेशी र उद्देश्यकेन्द्रित रहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको व्यवस्थापनदेखि विषयवस्तु चयन, सहभागीहरूको सक्रियता र तीनै मुख्य सेसनको गहनतासम्म सबै पक्षले सकारात्मक उन्नति देखाएको उनीहरूको धारणा छ।

‘गतसालको बार्सिलोनाको बैठक पनि ऐतिहासिक थियो। तर, यस पटकको एन्टवर्प बैठक झन् राम्रो भयो,’ बेल्जियमकी निवर्तमान अध्यक्ष चन्द्रकुमारी गुरुङ ‘इशा’ भन्छिन्, ‘व्यवस्थापन पक्ष सबल थियो। महिला, लगानी र एनआरएन मुद्दा केन्द्रमा राखिएको थियो र सहभागीहरूको सहभागिता पनि उल्लेखनीय देखिन्थ्यो।’

उनी थप्छिन्, ‘यसको श्रेय सचिव शालिक थपलिया र बेल्जियम अध्यक्ष विनोद न्यौपानेलाई जान्छ।’

बैठकमा एनआरएन समुदायका गुनासा र अपेक्षाका बारेमा धारणा राखेका रामशरण सिम्खडा नेपालको संविधान, सरकार र राजनीतिक दलहरू गैरआवासीय नेपालीप्रति अझ उत्तरदायी बन्नुपर्ने बताउँछन्।

‘गैरआवासीय नेपालीहरू अब भावनाले मात्र होइन, योजनाबद्ध लगानी, सीप र नीतिगत समावेशिताका लागि बोलिरहेका छन्। उनीहरूको मागको सुनुवाइ गर्नु अब विकल्प होइन, आवश्यकता हो,’ सिम्खडा भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad