यसपालि रोमानिया यात्राका क्रममा राजधानी बुखारेस्टमा भेट भए दुई ठिटा- १४ वर्षका मिङमार नुरु लामा र ११ वर्षका दावा ग्याल्जेन लामा।
नेपालबाट रोमानिया आउँदा मिङमार १० र दावा ७ वर्षका थिए। उनीहरूको नेपाल घर सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-२, जुनबेसी हो।
बुवा ल्हाक्पा तेन्जी लामा शेर्पा सन् २०१६ मा रोमानिया आएका हुन्। रोमानियाको राजधानी बुखारेस्टमा राम्रै काम भेटे, स्क्वास तथा फिनटेसलगायत खेलसम्बन्धी क्लब इन्फिनिटी स्पोर्ट्स अरेनामा। अनि, आठ महिनामै श्रीमती कान्छी लामा शेर्पालाई पनि रोमानिया ल्याए।
दुवै जना यता भएपछि नेपालमा बच्चाहरूको रेखदेखमा समस्या हुने देखेर शेर्पा दम्पतीले छोराहरूलाई पनि रोमानिया ल्याउने निर्णय गरे। रोमानिया आएपछि स्कुलको खोजी र व्यवस्थापनको लागि केही समय लाग्ने भयो।

मिङमार नेपालमा टेनिस खेल्थे। झन्डै टेनिससँग मिल्दोजुल्दो खेल हो स्क्वास।
‘समय पनि भएको र उनीहरूले पनि रुचि देखाएकोले संयोग मिल्यो। त्यसपछि म काम गर्ने क्लबमा उनीहरूलाई स्क्वासको ट्रेनिङ गराइयो। उनीहरूको खेलमा मिहिनेत र झुकाव देखेर क्लबका धेरै जना प्रभावित भए। अहिले राम्रो गरिरहेका छन्,’ बुवा ल्हाक्पाले छोराहरू मिङमार र दावा स्क्वासमा जोडिनुको कारण खुलाए।
क्लबमा प्राय: सबै चिनजानकै भएकाले उनीहरूलाई सहज भएको उनले स्मरण गरे। छोराहरूले आफ्नो देश नेपालको तर्फबाट खेलुन् भन्ने चाहना छ ल्हाक्पाको।
‘रोमानिया आएको एक वर्षसम्म हामी स्कुल भर्ना हुन सकेनौँ,’ मिङमारले पनि स्क्वासमा जोडिनुको कारणलाई स्पष्ट पारे, ‘त्यो समय मोबाइलमार्फत रोमानियन भाषा पढ्ने र बुवा काम गर्ने क्लबमा स्क्वास खेल सिक्नेमा बित्यो।’
बुवा त्यही क्लबमा काम गर्ने भएकोले सबैको माया र सहयोग पाउँदा खेल्नमा अझ हौसला मिलेको उनी बताउँछन्। मिङमार भन्छन्, ‘त्यो हाम्रो लागि प्लस पोइन्ट भयो।’
मिङमार नेपालमा कक्षा ६ मा र दावा कक्षा ३ मा पढ्दापढ्दै रोमानिया आएका हुन्।

एक वर्षपछि भने दाजु मिङमार कक्षा ५ र भाइ दावा कक्षा २ मा भर्ना भए। स्क्वास खेलमा पनि भएकाले होला रोमानीयन साथीहरू तथा शिक्षकहरूबाट पनि उनीहरूले सहयोग पाए।
कक्षाका साथीहरूबाट रोमानियन भाषा बोल्नको लागि धेरै सहयोग पाएको दावा बताउँछन्। साथीले हात समातेरै लेख्न सिकाएको दावाले स्मरण गरे।
पढाइमा उनीहरूले यति धेरै मिहिनेत गरे कि परीक्षा अगाडि नै मिङमारलाई स्कुलले ६ कक्षामा राखिदियो। कान्छा दावालाई त झन् २ बाट एकैचोटि ४ कक्षामा।
राजधानी बुखारेस्टस्थित गिम्न्जिअला ११६ नम्बर स्कुलमा अहिले मिङमार ८ र दावा ६ कक्षामा पढ्छन्।
‘स्कुलमा साथीहरूबाट अन्य देशको भनेर कुनै समस्या हुन्न?’, मैले जिज्ञासा तेर्स्याएँ। अलिक चञ्चले स्वभावका नेपाली भाषा प्रष्ट बोल्न नसक्ने दावा अगाडि सर्दै भन्छन्, ‘हामीलाई त रोमानियन साथीहरूले धेरै माया गर्छन् नि सर।’ उनी यतिमै रोकिँदैनन्। भन्छन्, ‘मलाई त मेरो साथीहरूले आफ्नो भाइलाई भन्दा पनि बढी माया गर्छन्। क्लास टिचरले पनि खेलाडी भन्दै धेरै केयर गर्नुहुन्छ।’
अन्तर्राष्ट्रिय स्तरमा खेल्छन् लामा दाजुभाइ
पहिले स्क्वास रैकेट भनिने स्क्वास खेललाई स्वस्थ खेलको रूपमा चिनिन्छ। विश्वका १ सय ८५ भन्दा बढी देशमा स्क्वास खेल खेलिन्छ।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओएस) द्वारा मान्यता प्राप्त यो खेल अमेरिकाको लस एन्जलसमा २०२८ जुलाई १४ देखि ३० सम्म हुने ग्रीष्मकालीन ओलम्पिकमा समावेश गरिने भएको छ।
नेपालमा पनि स्क्वास खेललाई अघि बढाउनका लागि नेपाल स्क्वास र्याकेट संघ सन् १९८८ मा स्थापना भएर सन् १९९३ बाट केन्द्र तथा जिल्लास्तरमा क्रियाशील छ।
मिङमार र दावा स्क्वास एकेडेमी अफ रोमानियाको तर्फबाट इन्फिनिटी स्पोर्ट्स अरेना नामको प्रतिष्ठित क्लबबाट खेल्छन्।
उनीहरूले पोल्यान्ड, ग्रीस, बुल्गेरिया, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, इटालीलगायतका मुलुकमा आयोजना भएको आफ्नो उमेर समूहको खेलमा सहभागिता जनाइसकेका छन्।
मिङमार १५ वर्ष उमेर समूहमा युरोपियन युनियनको २५औँ तथा रोमानियाको चौथो नम्बरमा छन्। अब उनको योजना रोमानियाको पहिलो नम्बरमा आउने छ।

मिङमारले २०२२ डिसेम्बर ३ मा रोमानियाको ब्रासोभमा भएको खेलमा प्रथम स्थान, बुल्गेरियामा अप्रिल ४ देखि ६ सम्म भएको खेलमा प्रथम स्थान, क्रोएसियामा मार्च १४ मा भएको खेलमा तेस्रो स्थान, २०२४ डिसेम्बर ३ तथा २०२५ जनवरी २५-२६ मा रोमानियामा भएको उमेर समूह खेलमा प्रथम स्थान हासिल गरी पदक प्राप्त गरिसकेका छन्।
त्यस्तै, दावा १२ वर्षको उमेर समूहमा युरोपियन युनियनको ७औँ नम्बरमा छन्। साथै, रोमानियन जुनियर भइसकेका छन्।
दावाले रोमानियाको ब्रासोभमा २०२२ डिसेम्बर ३ मा भएको खेलमा प्रथम स्थान, बुल्गेरियामा २०२५ अप्रिल ४-६ मा भएको खेलमा प्रथम स्थान, क्रोएसियामा मार्च १४-१६ मा तेस्रो स्थान, रोमानियाको ब्रासोभमा मे ९-११ मा प्रथम स्थान हासिल गरेर पदक हात पारिसकेका छन्।
विगत ६ वर्षदेखि रोमानियाको राजधानी बुखारेस्टमा बस्ने नरेश गिरीले मिङमार र दावासँगको संवादका लागि मलाई सहजीकरण गरिदिएका थिए। रोमानियामा नेपाली कला र संस्कृति प्रस्तुत गर्ने याद म्युजिकल फेस्टिभलका प्रमुख समेत रहेका गिरी मिङमार र दावाले यति सानै उमेरमा नेपालको नाम उचो पारेको बताउँछन्।
‘उनीहरूले खेल जितेको बेला रोमानियाको सरकारी टीभी, रेडियो तथा पत्रिकामा आउँछ, त्यो बेला निकै गर्व महसुस हुन्छ,’ गिरी खुसी प्रकट गर्छन्।
नेपालबाट खेल्ने रहर
मिङमारका दुई जना रोमानियन सिनियरहरू अमेरिकामा छन्। उनीहरू कलेज सकेर स्पोर्ट्स विषय पढ्न त्यहाँ गएका हुन्। कलेज सकेर मिङमारको पनि अमेरिका गई स्पोर्ट्स अध्ययनसँगै स्क्वास खेलमा नै भविष्य बनाउने योजना छ।
‘मेरो सिनियर रोमानियन दाइहरू अमेरिकामा छन्, उनीहरूसँग कुरा भइरहन्छ। कलेज सकेपछि अफर आउँछ अनि अमेरिका जाने र व्यावसायिक स्क्वास खेलाडी बन्ने हो,’ मिङमार भविष्यको योजना सुनाउँछन्।

‘दावाको चाहिँ के छ त भविष्यको योजना?’ मैले दावातिर प्रश्न सोझ्याएँ तर उनले नबुझेझैँ लाग्यो। अनि मिङमारले नै उनलाई बुझाइदिए। ‘ए फ्युचरमा? यही भनेर त सोचिसकेको छैन तर बाबाले भनेझैँ मलाई पनि नेपालको तर्फबाट खेल्ने मन छ,’ दावाले भने।
खेल्दा चोट लाग्छ होला? डर लाग्दैन? मेरो प्रश्न नखस्दै दुवैले एकस्वरमा भने, ‘लाग्दैन।’
खेलमा लड्दा भएको सानो घाउ देखाउँदै दावाले थपे, ‘डाक्टर हुन्छन्, उपचार गरिहाल्छन् नि!’

नेपालको सम्झना
मिङमार र दावा रोमानिया आएपछि नेपाल फर्केका छैनन्। गाउँ जान निकै मन लागेको भए पनि खेल अभ्यास छुट्छ भन्ने पीर छ उनीहरूलाई।
नेपालको याद कत्तिको आउँछ? भन्ने प्रश्नमा मिङमार भन्छन्, ‘आउँछ नि। म त नेपालका साथीहरूसँग कहिलेकाहीँ भिडिओ कलमा कुरा पनि गर्छु। मलाई नेपालको खाना र नेचर मिस हुन्छ।’
मैले दावातिर हेरेँ, ‘मलाई त बाजे, बोजु धेरै मिस हुन्छ’, अघिसम्म चञ्चले भएर बोलेका दावा एकाएक शान्त देखिए।
मिङमार र दावाले स्क्वास खेलमा गरेको प्रगतिलाई असाधारण भन्छन् नेपाल तामाङ घेदुङ संघ रोमानियाका अध्यक्ष फुर्साङ लामा।
‘रोमानिया आएको छोटो समयमा बाबुहरूले यहाँको भाषा र स्क्वास खेलमा गरेको प्रगति असाधारण छ,’ उनी भन्छन्, ‘स्क्वास खेलमार्फत नेपाललाई युरोपभर चिनाउन सफल भएका छन्। यो हामी नेपाली समुदायका लागि गौरवको विषय हो।’ फुर्साङ ८ वर्षदेखि रोमानियामा छन्।
Shares

प्रतिक्रिया