प्रवास


चलचित्र प्रचारको विवादबारे साउदीस्थित दूतावासले भन्यो– सार्वजनिक कूटनीति अन्तर्गतकै काम

चलचित्र प्रचारको विवादबारे साउदीस्थित दूतावासले  भन्यो– सार्वजनिक कूटनीति अन्तर्गतकै काम

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १६:५४, काठमाडौँ

साउदीमा रहेको नेपाली दूतावासले चलचित्र ‘छक्कापञ्जा ५’ को प्रचार सार्वजनिक कूटनीतिक दायित्व अनुसार नै गरेको प्रष्ट पारेको छ। दूतावासले साउदीमा पहिलो पटक नेपाली  चलचित्र  प्रर्दशन हुन लागेको भन्दै चलचित्र ‘छक्कापञ्जा ५’ लाग्ने सरहरबारे आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको थियो।

तर, दूतावास आफ्नो काममा केन्द्रित नभएर एउटा कुनै चलचित्र विशेषको प्रचारमा लागेको भन्दै नेपालमा आलोचना भएको थियो। ‘नेपालको घोषित परराष्ट्र नीतिको आर्थिक तथा सार्वजनिक कूटनीति अन्तर्गत विदेशमा वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्ने तथा नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषालाई प्रचारप्रसार गर्नु विदेशस्थित नेपाली नियोगको दायित्व नै हो, यसमा द्विविधा छैन,’ दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्ता सामग्री उत्पादन गर्न निजी क्षेत्रको सबैभन्दा ठूलो भूमिका हुन्छ भने सरकारले सहजीकरण मात्र गर्छ।’

राजदूतावासले कुनै खास चलचित्रको मात्र प्रवर्द्धन गर्न नखोजेको समेत प्रष्ट पारेको छ। ‘राजदूतावासले कुनै खास चलचित्रको मात्र प्रवर्द्धन गर्न खोजेको नभई समग्र रूपमा नेपाली कला, संस्कृति, वेशभुषा, रहनसहन, पर्यटकीय स्थल आदिको प्रचार तथा प्रबर्द्धन गरेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा अन्य नेपाली चलचित्र वा नाटक आदि साउदी अरेबियाको सम्बन्धित निकायबाट अनुमति लिई प्रदर्शन हुने अवस्थामा निर्माता वा प्रवर्द्धकको अनुरोध अनुसार राजदूतावासबाट यसरी नै प्रचार तथा प्रबर्द्धन हुने नै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad