ad ad

प्रवास


ग्रिसमा ज्यान गुमाएका चारै नेपालीको सनाखत, शव नेपाल ल्याइने

टर्कीबाट अवैध रुपमा छिर्दै गर्दा सवारी दुर्घटनामा परे
ग्रिसमा ज्यान गुमाएका चारै नेपालीको सनाखत, शव नेपाल ल्याइने

सांकेतिक तस्बिर


नेपालखबर
पुस ७, २०७८ बुधबार १६:२९, काठमाडौँ

एक महिना अघि युरोपेली मुलुक ग्रिसमा भएको सडक दुर्घटनामा निधन भएका चार नेपालीको सनाखत भएको छ। 

ग्रिससमेत हेर्ने जिम्मेवारी पाएको अष्ट्रियाको भियनास्थित नेपाली नियोगका अनुसार ज्यान गुमाउनेमा भीमेश्वर नगरपालिका-६ दोलखाका राजु लामा, आमा छोडिङ्मो गाउँपालिका-३ की रमिला घले, घिरिङ गाउँपालिका-५ तनहुँका उम बहादुर थापा र गौरीगंगा गाउँपालिका-४ कैलालीका लक्ष्मण सापकोटा छन्। 

गैह्रकानूनी रुपमा टर्की हुँदै ग्रिस प्रवेश गर्न खोजेका ती नेपालीको गाडी दुर्घटनामा ज्यान गएको थियो। 

नेपाली नियोगका द्वितीय सचिव धनञ्जय मेहताका अनुसार मंगलबार मृतक सबै नेपालीको सनाखत भएको हो। नेपालीको मृत्यु भएको सार्वजनिक भएपनि सनाखत हुन सकेको थिएन। 

‘घटनामा निधन भएका सबै नेपालीको मंगलबार सनाखत भएको छ। उनीहरुको शव नेपाली लैजान आवश्यक प्रक्रिया अब चाँडै अघि बढाउन लागेका छौँ’, मेहताले भियनाबाट नेपालखबरसँगको कुराकानीमा भने। 

मृतक नेपालीको परिवारले शव नेपाल झिकाउन अनुरोध गर्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा निवेदन दिएका थिए। 

ग्रिसको प्रहरीले इन्टरपोलमार्फत् फोटो सार्वजनिक गरी उनीहरुको पहिचानका लागि प्रयास गरेको थियो। 

मृतकका परिवारजनले फोटो हेरेर आफ्ना मान्छेको शव पहिचान गरेका थिए। नेपाल प्रहरीसँगको समन्वयमा उनीहरुको शव पहिचान गरिएको थियो। 

घटनामा अन्य दुईजना पनि नेपाली घाइते भएका थिए। घाइते हुनेमा भीमेश्वर नगरपालिका-९, दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका लोकराज आचार्य थिए। उनीहरु अहिले ग्रिसमै छन्। 

कसरी भएको थियो दुर्घटना? 
ग्रिसका सञ्चारमाध्यमले स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार नोभेम्बर १९ को मध्यराति तीव्र गतिमा रहेको गाडीका चालकले नियन्त्रण गुमाउँदा टर्कीको सीमा क्षेत्रस्थित राजमार्गमा दुर्घटना भएको थियो।  त्यसक्रममा सातजनाको मृत्यु भएको थियो। 

गाडी राजमार्गमा अनियन्त्रित भएर सडक किनाराको कन्टेनरमा बजारिन पुगेको ग्रिसका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

गाडीमा १५ जना सवार थिए। सीमा जोडिएको टर्कीबाट गैह्रकानूनी रुपमा ती यात्रु ग्रिस प्रवेश गर्दै थिए। 

घाइते हुनेमा पाकिस्तानका चार जना, एक अफगानी, दुई नेपाली र एक मोल्दोभन चालक थिए। 

मोल्दोभन चालकले नेपालीसहित विदेशीलाई ग्रिसतर्फ गैह्रकानूनी रुपमा लैजाँदै थिए। टर्कीको बाटो हुँदै सडकमार्गबाट गैह्रकानूनी रुपमा ग्रिस छिर्ने नेपालीको संख्या ठूलो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .