डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका गजेन्द्र बोहराका दुई पत्नी छन्। उनले पहिलो बिहे बझाङको बित्थचिर–५ देउलेख तल्लो भतडाकी कलावतीसँग गरे।
कलावतीबाट गजेन्द्रका दुई छोरा थिए– प्रेम र भरत। दोस्रो बिहे बैतडीको पुर्चौडी क्षेत्रकी जानकीसँग गरे, गजेन्द्रले।
जानकीबाट पनि एउटा छोरा छन्। बझाङको बित्थडचिर खुलमौरका गजेन्द्र करिब डेढ दशकअघि बसाइँ सरी डडेल्धुराको आलिताल डाँडाखर्क झरे।
स्थानीयका अनुसार उनको घरमा कलह भइरहन्थ्यो। सौता जानकीसँग मिलेर गजेन्द्रले जेठी श्रीमती कलावती र कान्छा छोरा भरतलाई शारीरिक यातना दिन्थे।
गजेन्द्र र सौतेनी आमा जानकीले भरतलाई नराम्रोसँग कुट्थे। खाना दिँदैनथे। त्यसैकै त्रासले ८ वर्षीय भरत घरभन्दा टाढा जान्थे। जंगलमा गोठालाहरूसँग भेटिन्थे, उनीहरूले लगेको खाना खान्थे।
‘घरमा खाना नदिने र उसलाई असाध्यै कुट्ने रहेछन्, बाख्रा गोठाला गएका बेला भरत भेटिन्थ्यो’, स्थानीय दानबहादुर विष्टले नेपालखबरसँग भने, ‘कति दिन मैले लगेको खाना दिएँ, खाना पाएपछि बच्चा मेरो साथ छाड्दैथ्यो।’
विष्टका अनुसार भरत कहिलेकाहीँ जंगलबाट उनको साथ लागेर घरसम्मै पुग्थे। दानबहादुर विष्टको घरबाट भरतको घर पुग्न १० मिनेट हिँड्नुपर्छ।
पुस १२ गते पनि भरत दानबहादुरको घरनजिकैको उखुबारीमा थिए। भरतलाई घर लैजान उनकी आमा कलावती आइन्। स्थानीयका अनुसार उनले ‘घरमा किन नआएको’ भन्दै एक/दुई झापड हानेर भरतलाई घर लगेकी थिइन्।
त्यसको अर्को दिनदेखि भने भरत गाउँघरमा देखिएनन्। भरतलाई नदेखेको धेरै भएपछि स्थानीय दानबहादुर विष्टलाई शंका लाग्यो। र, यसबारेमा उनले पुस २७ मा प्रहरी चौकी गोदामलाई खबर गरे।
‘१२ गतेपछि बालकलाई गाउँघरमा देखिएन, त्यसपछि खोजबिनका लागि प्रहरीलाई भनेको थिएँ’, विष्टले भने, ‘बालक नदेखिएपछि मरेको छ वा जिउँदै छ, पत्ता लगाइदिनुपर्यो भनेर छिमेकीको नाताले प्रहरीकोमा गएको हो।’
त्यसपछि प्रहरीले जंगल, गाउँतिर भरतको खोजी गर्यो। तर उनी कतै भेटिएनन्। विगतको व्यवहारले शंका लागेपछि प्रहरीले भरतको आमा कलावती र सौतेनी आमा जानकीलाई नियन्त्रणमा लियो।
प्रहरीसमक्ष उनीहरूले भरतलाई मारेर घर नजिकै खाल्डोमा गाडेको बयान दिए। पुस २९ को साँझ प्रहरी घटनास्थल पुग्यो। त्यसबेला राति भइसकेकाले प्रहरीले खाल्डो उत्खनन गरेन।
राति घटनास्थल कुरेर बसेका थिए, प्रहरी। अर्को दिन प्रहरीले खाल्डो उत्खनन गर्दा भरतको शव खाल्डोमा भेटिएको थियो। प्रहरीका अनुसार उनको शवमा छाला गलिसकेको थियो।
भरतको अनुहार पूरै सडेको थियो। पुस १२ कै राति कुटपिटका क्रममा भरतको ज्यान गएपछि शव लुकाउन खाल्डोमा गाडेको खुलेको छ।
‘१२ गते गाउँबाट ल्याउँदा जेठी आमाले बाटोमा एक/दुई झापड हानेकी रहिछन्, घरमा पुगेपछि सौतेनी आमाले पनि कुटिन्’, वडाध्यक्ष धनबहादुर देउवाले नेपालखबरसँग भने, ‘सौतेनी आमाले बालकलाई नाङ्गै बनाएर बाँधेर सिस्नुपानी लगाएछन्, उखुको डन्डा नटुटुञ्जेलसम्म कुटेछन्।’
उनका अनुसार अबोध बालकलाई निर्घात कुटपिट गर्दै चिसो रातमा लुगा लगाउन पनि दिइएन। ‘निर्घात कुटपिटपछि राति लुगा पनि लगाउन दिएनन्, कुटपिट र चिसोले राति १२ बजेतिर बच्चा मरेछ,’ उनले भने, ‘त्यसपछि उनीहरूले शव लुकाउन खाल्डोमा गाडेका रहेछन्।’
भरतलाई कुटपिट गर्दा उनका दाइ प्रेम र सौतेनी आमाछोरा पनि घरमै थिए। घरभन्दा ५० मिटर तल भरतको शव खाल्डोमा गाडिएको थियो। आमा र सौतेनी आमाले केही परबाट माटो ल्याएर शव ढाकेका थिए।
आमा र सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘दुवै जनाको कुटपिटबाट बालकको मृत्यु भएको देखिन्छ’, प्रहरी निरीक्षक उमाकान्त जोशीले भने, ‘शव लुकाउन खाल्डोमा गाडेका रहेछन्।’
आमालाई पनि मार्ने धम्की
शव लुकाउन मृतक भरतकी आमा कलावतीले सघाएकी थिइन्। सिस्नुपानी बनाएर पनि उनैले दिएको खुलेको स्थानीयले बताएका छन्।
भरतकी आमा कलावतीलाई सौता र श्रीमान् मिलेर कुटपिट गर्ने गरेका थिए। कलावती उनीहरूको शारीरिक यातनाले हायलकायल छिन्। उनको शरीरभरि घाउ नै घाउ छन्।
कलावती छोरा भरतलाई लिएर ६ वर्ष माइतमा बसेकी थिइन्। उनी केही महिनाअगाडि मात्रै माइतबाट आफ्नो घर डाँडाखर्क फर्किएकी थिइन्।
‘भरतकी आमा सोझी थिइन्, राम्रोसँग बोल्न पनि जान्दिनन्, सौताले उनलाई निकै कुट्थिन्, शरीरभरि निलडाम र घाउहरू छन्, खाना माग्दा गोबर खुवाउने गरेको बुझिएको छ’, वडाध्यक्ष देउवाले भने, ‘सौताले उसलाई मार्ने धम्की दिएर भरतको हत्या घटनामा संलग्न गराएको जस्तो देखिन्छ।’
एक महिनाअघि पनि निर्घात कुटिएका थिए भरत
मृतक भरत आम चुनावअघि कात्तिक अन्तिमतिर पनि सौतेनी आमाबाट कुटिएका थिए। त्यति बेलाको यो घटना गोदाम प्रहरी चौकीसम्मै पुगेको थियो।
भरत आलिताल गाउँपालिका–८ को समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययन गर्थे। उनी विद्यालयमा गएका बेला शिक्षकले शरीरभरि घाउ देखेपछि घटना बाहिरिएको थियो।
‘अगाडिदेखि नै बच्चा र आमा दुवैलाई सौताले मार्न खोजेको देखिन्छ, उनीहरूलाई खाना नै दिँदैनथे, खाना मागेमा गोबर खुवाउँथे’, स्थानीय नवीन बोहराले भने, ‘बारम्बार कुटपिट गरिराख्ने र खाना नदिएरै मार्न खोजेका थिए।’
त्यसपछि गाउँले र शिक्षकले गोदाम प्रहरी चौकीमा उनीहरूलाई पुर्याएका थिए।
‘प्रहरीले पनि त्यतिबेला घटनालाई महत्त्व दिएन’, आलिताल गाउँपालिकाका अध्यक्ष शेरबहादुर पार्कीले भने, ‘त्यतिबेलै बालकलाई कुटपिट गर्नेलाई नियन्त्रणमा लिइएको भए अहिले यस्तो घटना हुने थिएन।’
त्यसबेला बालकलाई जोगबुढा अस्पतालमा उपचार गरेर फेरि घर फर्काइएको थियो। प्रहरीले भने त्यसबेला घटनाबारे जानकारी आए पनि कुनै उजुरी नआएको जिकिर गरेको छ।
सम्पत्तिको लालसा
सम्पत्तिको लालसाले भरतको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘हत्याको पछाडि अरू कुनै कारण छैन, सम्पत्तिका लागि नै घटना भएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘आमालाई धम्की दिएको कुरा पनि आएको छ, हामी सबै पाटो केलाउँदै छौं।’
ती अधिकारीका अनुसार सौताले धम्क्याएर आमालाई पनि घटनामा संलग्न गराएको खुलेको छ। आमा कलावतीले सौतालाई सघाएको आरोप छ।
‘सौताबाट एउटै छोरा र जेठीबाट दुईवटा छोरा थिए’, ती अधिकारीले भने, ‘सम्पत्तिमा त्यसको पनि भाग परेर आफ्नो छोरालाई सम्पत्ति कम पर्ने भएकाले घटना गराएको खुलेको छ, थप बुझ्दै छौं।’
बुवाको भूमिका पनि शंकास्पद
८ वर्षीय बालक भरतको हत्या घटनाका मुख्य योजनाकार उनकै बुवा गजेन्द्र रहेको स्थानीयको आरोप छ।
घटनाका बखत उनी कामका लागि भारतको धार्चुलामा रहे पनि उनकै निर्देशनमा भरतको हत्या गरिएको स्थानीयको दाबी छ।
गजेन्द्रले छोरा भरत र जेठी श्रीमती कलावतीलाई बारम्बार कुटपिट गर्ने गरेका थिए। उनी मंसिर पहिलो साता मात्रै कामका लागि धार्चुला गएका थिए।
पुस १२ मा उनले कान्छी श्रीमतीलाई फोन गरेर भरतलाई कुट्न भनेको स्थानीयको आरोप छ। बुवा गजेन्द्रको भूमिका पनि शंकास्पद देखिएकाले उनीबारे पनि अनुसन्धान गरिनुपर्ने माग छ।
‘बुवाको भूमिका शंकास्पद देखिन्छ, उनीबारे पनि अनुसन्धान हुनुपर्ने भन्दै हिजो हामीले सीडीओ साबलाई पनि भेटेका थियौं’, पालिका अध्यक्ष पार्कीले भने, ‘घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’
के गर्दै छ प्रहरी?
मृतक भरतका बुवा गजेन्द्रले दुवै श्रीमतीविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा किटानी जाहेरी दिएका छन्। मृतक भरतकी आमा कलावती र सौतेनी आमा जानकी डडेल्धुरा प्रहरीको हिरासतमा छन्।
मृतक भरतका बुवा गजेन्द्र पनि प्रहरीको निगरानीमा छन्। जिल्ला अदालतबाट एक साता म्याद थप गरेर उनीहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।
‘बुवाको प्रत्यक्ष संलग्नता देखिँदैन, घटनाका बेला भारतमा रहेको खुलेको छ, कान्छी श्रीमतीसँग कतिबेला सम्पर्क गर्ने रहेछन्, हामी प्रावधिक पाटो पनि हेर्दै छौं’, उनले भने, ‘गजेन्द्रबारे पनि सूक्ष्म ढंगले निगरानी छ, सीभीआर निकालेर घटनामा संलग्नताबारे बुझ्ने काम भइरहेको छ।’
प्रतिक्रिया