ad ad

अपराध


आङटावाको बयान- रकम मैले हाइड्रोमा लगानी गरेँ, उनीहरूसँग प्रमाण छैन

आङटावाको बयान- रकम मैले हाइड्रोमा लगानी गरेँ, उनीहरूसँग प्रमाण छैन

नेपालखबर
जेठ ९, २०८० मंगलबार १९:८, काठमाडौँ

नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे थाहा नभएको बताएका छन्।

प्रहरीसमक्ष उनले दिएको बयानमा सो प्रकरणमा मुछिएका व्यक्तिहरूलाई चिनेको भएपनि रकम लिएको बारे अनविज्ञ रहेको खुलाएका छन्। 
उनले रकम लिएको आरोप पनि अस्वीकार गरेका छन्। 

उनले दिएको बयान 

प्रतिवादीहरूमध्ये केशवप्रसाद दुलाललाई निज सुजाता कोईरालाको निजी सचिव हुँदा चिनेको, सानु भण्डारी जग्गाको र हाइड्रोपावरको काम गर्ने भएको हुनाले निजलाई १६/१७ महिना अघि चिनेको हो। 

नरेन्द्र केसीलाई बालकृष्ण खाँणको पिए भएकाले र बालकृष्ण खाँण नेपाली कांग्रेसको नेता भएकोले चिनेको छु । 

निजहरूबाहेक टोपबहादुर रायमाझीको नाम सुनेको हो, अन्य प्रतिवादीहरूसँग मेरो चिनजान छैन। 

जाहेरवालाहरू समेतका नेपाली नागरिकहरूलाई नक्कली भूटानी शरणार्थीहरू बनाइ अमेरिका लैजाने भनी ठगी गरेको कसूरमा सानु भण्डारी र केशवप्रसाद दुलाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि मैले प्रस्तुत ठगी एवं संगठित अपराधको बारेमा थाहा पाएको हो।

जिल्ला प्रहरी परिसर टेकुको प्रहरी हिरासतमा रहेका सानु भण्डारी र केशव प्रसाद दुलाललाई निजहरू पक्राउ परी जिल्ला प्रहरी परिसर टेकुको प्रहरी हिरासतमा राखिएको बेला भेटेको हो, के कुन मितिमा भेटेको भन्ने मलाई हाल याद छैन। 

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनि पिडितहरूबाट प्रतिवादीहरूले रकम लिएको बारेमा मलाई थाहा छैन। 

म ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन। 

मैले सानु भण्डारी र केशव प्रसाद दुलाललाई प्रहरी हिरासतमा भेटेको हो। 

निजहरूलाई भटेर पिडितहरूको रकम फिर्ता गरिदेऊ। तत्काल रकम फिर्ता गर्न नसकेपछि फिर्ता गर्ने गरी कागज गरेर पनि मिलाउन सकिन्छ, हिरासतमा बसेर मुद्दा मामिला गरेर फाईदा हुँदैन भनेर सम्झाएको हुँ । 

मैले नरेन्द्र केसीबाट रु. १,००,००,०००।(एक करोड) रकम लिएको होईन। मैले राजु भण्डारीलाई रु. ३०,००,०००।(तीस लाख) रकम दिएको पनि छैन । 

राजु भण्डारीलाई मैले चिनेको पनि छैन, भेटेको पनि छैन। मैले चिन्दै नचिनेको र भेट्दै नभेटेको मानिससँग कारोबार र व्यवसायिक साझेदारी हुने कुरै भएन । 

सानु भण्डारीले १ वर्षअघि मेरो गर्ज्याङ हाईड्रोपावर कम्पनी लि. रामेछाप र खिम्ति दोस्रोमा लगानी गर्ने कुरा गरेका थिए। तर निजले कुनै लगानी पनि गरेनन्। राजु भण्डारीले मबाट रु. ३०,००,०००।(तीस लाख) रकम पाएको भन्ने भरपाईको बारेमा मलाई थाहा छैन । 

मिति २०८०।०२।०१ गते म जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएपछि मैले अनुसन्धान अधिकृतसमक्ष गरेको कुराकानीको भिडियो रेकर्ड देखें, सो कुरा मैले बेहोसी र करकापमा गरेको हुँ। मैले अनुसन्धान अधिकृत समक्ष गरेको कागज पनि मैले बेहोसी र करकापमा गरेको हुँ।

राजु भण्डारीलाई मैले भेटेको र चिनेको पनि छैन, तर निजले म बाट रु.३०,००,०००।– (तीस लाख) लिएको भनेर किन लेखाए मलाई थाहा छैन।

गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्य ठीक होईन। मैले यस्तो कार्य सोच्न पनि सक्तिनँ।

जाहेरवाला जिमा सेपेर्नी, तेन्जी पुटी सेर्पिनी, पेम्बा शेर्पा, जिमा सेर्पा, पेम्वा शेर्पा, लमडोमा शेर्पा, सोनी शेर्पा समेत मेरो चिनजानकै आफन्तहरू हुन निजहरूलाई म चिन्दछु। जाहेरी दरखास्तसाथ पेश भएको धर्म अंश गरेको भौचरहरू मलाई देखाउदा देखी पाएँ। उक्त भौचरहरूबाट मेरो बैंक खातामा रकम जम्मा भएको हुनुपर्छ।

जाहेरीवाला/जाहेरवालाले उल्लेख गरेको रकम मेरो बैंक खातामा जम्मा भएको होला निजहरूलाई अमेरिका पठाइदिन्छु भनी रकम जम्मा गर्न लगाएको होइन।

निजहरू मेरो नातेदार पर्ने व्यक्तिहरू हुन्। निजहरूसँग सरसापटको रकम माग गरेको हो। यसमध्ये कति रकम मैले पनि निजहरूलाई फिर्ता दिएको छु।

कुमारी बैंक लिमिटेडमा रहेको खाता नम्बर 01900126545000002 मेरै नाममा संचालन रहेको हुनुपर्छ। जाहेरवाला तथा निजका आफ्नतहरूलाई अमेरिका पठाइदिन्छु भनी रकम माग गरेको होइन। निजहरुलाई ठगी गरेको छैन। जाहेरीमा उल्लेख भएका जाहेरवालाहरूसँग मैले सरसापटीको रकम माग गरेको हो।

उक्त रकम समयमा तिर्न नसक्दा निजहरूले मलाइ ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी दिएको हुनुपर्छ। मैले निजहरूलाई अमेरिका पठाउँछु भनी रकम माग गरेको होईन। निजहरूसँग कुनै प्रमाण छैन। निजहरूबाट लिएको रकम मैले हाइड्रोपावरमा लगानी गरेँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .