ad ad

अपराध


बालकृष्णसँग १२ घण्टा बयान

बालकृष्णसँग १२ घण्टा बयान

फाइल तस्बिर : पक्राउ परेपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँण


नेपालखबर
जेठ ३, २०८० बुधबार ८:४८, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले १२ घण्टा बयान दिएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार २ घण्टा बयान दिएर फर्किएका खाँणसँग मंगलबार १० घण्टा बयान लिइएको हो। 

सोमबार सञ्चो नभएको भन्दै दुई घण्टापछि उनको बयान रोकिएको थियो। मंगलबार बिहान ११ बजे बयान सुरु भएको थियो। राति ९ बजेसम्म बयान लिएर खाँणलाई पुनः हिरासतमा फर्काइएको हो। 

खाँण गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको प्रतिवेदन नै बदलेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली भएको थियो। 

यो प्रकरणको सुरुवात गृहमन्त्री रामबहादुर थापा बादल हुँदै भए पनि खाँणको पालामा मुख्य चलखेल भएको थियो। खाँण गृहमन्त्री हुँदा टेकनारायण पाण्डे गृहसचिव थिए।

पाण्डे र खाँणकै मिलेमतोमा प्रतिवेदन हेरफेर भएको र करोडौं असुली गरेको बयान बिचौलियाले दिएका छन्। यस्तै खाँणले आफ्ना निजी सचिव नरेन्द्र केसीलाई समेत असुलीमा संलग्न गराएको खुलेको छ।

शरणार्थी प्रकरणमा बिचौलिया पक्राउ परेपछि खाँणले निजी सचिव केसीमार्फत नै एक करोड रुपैयाँ बिचौलियालाई फिर्ता गरेको खुलेको छ। आफूलाई यो मुद्दामा नजोड्न र आफूले लिएको सबै रकम फिर्ता गर्ने भन्दै खाँणले निजी सचिव केसीमार्फत बिचौलियाका आफन्तलाई रकम फिर्ता गरेका थिए। 

खाँणलाई जोगाउन कसरत गरेका आङटावा शेर्पालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनले पनि पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर नाम नजोड्न दबाब दिएका थिए। शेर्पाको पनि शरणार्थी प्रकरणमा प्रमुख भूमिका नै रहेको पाइएको अनुसन्धान अधिकारीहरुले बताएका छन्। 

खाँणलाई प्रहरीले गत वैशाख २७ गते चाबाहिलस्थित निवासबाटै पक्राउ गरेको हो। सचिव पाण्डे भने त्यसअघि नै पक्राउ परेका थिए। खाँणको मोबाइल परीक्षणको रिपोर्टसमेत आइसकेको छ। यसअघि सचिव पाण्डेको मोबाइलबाट समेत धेरै प्रमाण प्रहरीले जुटाइसकेको छ।

शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरेको छ। यीमध्ये प्रमुख भूमिका नै बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको देखिएको छ। प्रहरीले पाण्डेसँग दुई चरणमा बयान गराएको थियो। खाँणसँग सबैभन्दा धेरै १२ घण्टा बयान लिइएको हो।

‘धेरै कुरा उहाँसँग जोडिएका थिए, त्यही भएर बयान पनि लामो भयो। यसअघि सचिव र उहाँका निजी सचिव केसीले दिएका बयान पनि धेरै कुरा उहाँसँग जोडिएका थिए, त्यही भएर बयान लामो भयो’, अनुसन्धानमा संलग्न सरकारी वकिलले नेपालखबरसँग भने।

यसअघि पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँग साढे ५ घण्टा बयान लिइएको थियो। आइतबार पक्राउ परेका उनलाई सोमबार म्याद थप गरेलगत्तै बयान थालिएको थियो। 

सोमबार रातिसम्म सरकारी वकिल कार्यालयमा बयान लिएर रायमाझीलाई सोह्रखुट्टे वृत्तस्थित हिरासतमा फर्काइएको हो। रायमाझी पनि यो ठगी तथा अपराधमा सुरुदेखि नै संलग्न रहेको खुलेको छ। रायमाझीले पनि करोडौं रकम बुझेको प्रमाण फेला परेपछि प्रहरीले गत वैशाख २० गते नै पक्राउ गर्ने तयारी गरेको थियो। तर त्यसै दिन उनका छोरा सन्दीपलाई पक्राउ गरेपछि रायमाझी फरार भएका थिए। 

उनलाई वैशाख ३१ बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरिएको थियो। यसअघि नै बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र ७ बिचौलिया पक्राउ परेका थिए। 

बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्। सोमबार साँझ छोरासँग प्रहरी कार्यालय पुगेका शेर्पाबाहेक सबैको बयान सकिएको छ। 

शेर्पाको बयान आज लिने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .