अपराध


चारजनाको ज्यान जानेगरी वनमा आगो लगाउने चारजना पक्राउ

चारजनाको ज्यान जानेगरी वनमा आगो लगाउने चारजना पक्राउ

नेपालखबर
जेठ ३, २०८० बुधबार ६:२५, काठमाडौँ

अर्घाखाँचीको  भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चारजनाको ज्यान जानेगरी वनमा आगो लगाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चारजनाको ज्यान गएको थियो। आगो लगाउने भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। 

जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। गत वैशाख २६ गते दुईजना र २७ गते दुईजना गरी चार जनाको मृत्यु भएको थियो। आगलागीमा परी घाइते भएकी एक महिला अझै उपचाररत छिन्। 

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

उक्त नियममा ६ महिनादेखि २ वर्षसम्म कैद वा रु २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। अदालतबाट ५ दिनको म्याद थप गरेर घटना अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने रु १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जलाउने, हेलचेक्य्राइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ। ‘हेलचेक्य्राइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ’, प्रनाउ रिजालले भने, ‘फागुनदेखि असारसम्म सबै चनाखो बन्नुहोला।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .