अपराध


सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने कि बाहिर? आज निर्णय हुने

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने कि बाहिर? आज निर्णय हुने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार ७:०, काठमाडौँ

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने कि बाहिर रहेर मुद्दा लड्न दिने भन्ने विषयमा आज (बुधबार) निर्णय हुँदै छ। 

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको बलात्कार मुद्दामा आज थुनछेक बहस हुने भएको हो। आजको बहसपछि उनलाई पुर्पपक्षका लागि थुनामा पठाउने कि बाहिर राख्ने भन्ने विषयमा निर्णय हुनेछ। 

पुर्पपक्षका लागि थुनामा राख्ने निर्णय भएमा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सन्दीप जेलमा हुनेछन्। 

उनविरुद्धको मुद्दाको पेसी मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो। सन्दीपसँग अदालतले बयान लिइसकेको छ।

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्ध सोमबार मुद्दा अदालतमा दर्ता गरेको हो। 

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा भएकाले मुद्दा दर्ता हुन सकेको थिएन।

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ। बलात्कार आरोपमा उनलाई १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ। 

बलात्कार आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्। त्यसको एक महिना पहिले उनीविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी परेको थियो। 

यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसामु भने सन्दीपले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। आफूले बलात्कार नगरेको सन्दीपको जिकिर छ। यस्तै पीडित भनिएकी किशोरी पनि नाबालिग नभएको उनको पक्षको दाबी छ। 

किशोरीको नागरिकता अनुसार १८ वर्ष मात्रै पुगेको देखिए पनि वास्तविक उमेर भने १९ वर्ष रहेको सन्दीप र उनका कानुन व्यवसायीको दाबी छ। 

तत्काल प्राप्त प्रमाणबाट सन्दीप निर्दोष भन्न सकिने अवस्था अदालतले नदेखेमा उनलाई कारागार पठाउने आदेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .