गैँडा मारेर खाग बिक्री वितरणमा संलग्न रहेको आरोपमा चितवन निकुञ्ज कार्यालयले दुई व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१० का ४१ वर्षीय रामकुमार प्रजा र कालिका नगरपालिका–९का ४३ वर्षीय बम बहादुर प्रजा रहेका छन्।
उनीहरु चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री गरेकोमा अदालतबाट दोषी ठहर १० देखि १५ वर्षसम्म कैद सजाय भोगेका व्यक्ति हुन्।
रामकुमार २०६० देखि २०७० सम्म १० वर्ष र बमबहादुर २०६० देखि २०७५ सम्म १५ वर्ष कैद भुक्तान गरी रिहा भएका निकुञ्ज कार्यालयले जनाएको छ।
कैदबाट रिहा भएपछि उनीहरु पुनः सोही कार्यमा लागेको आरोपमा निकुञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष सहयोगमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट पक्राउ परेका रामबहादुरलाई यही असार १५ गते पक्राउ गरिएको हो।
यस्तै, बम बहादुर प्रजालाई केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय धादिङ र चितवन राष्ट्रिय निकुञ्जको नेपाली सेना सहितको विशेष टोलीले धादिङको बेनिघाट गाउँपालिका–३, मलेखुबाट असार १६ गते पक्राउ गरेको हो।
उनीहरु दुवै जनालाई जिल्ला अदालत भरतपुर चितवनमा पेश गरिएको छ।
Shares
प्रतिक्रिया