ब्लग


सधैँ छायामा पारिएका नेपाली टेलिभिजनहरु

सधैँ छायामा पारिएका नेपाली टेलिभिजनहरु

शिवओम अधिकारी
कात्तिक ५, २०७७ बुधबार ११:५,

नेपालमा टेलिभिजन स्थापनाकालको प्रारम्भ हेर्ने हो भने करिब ४ दशक लामो प्रसारण अनुभवप्राप्त एकमात्र सरकारी स्तरबाट सञ्चालनमा रहेको नेपाल टेलिभिजन हो।

समय क्रमसँगै केही अन्य निजीस्तरबाट समेत सञ्चालनमा आएका अन्य टेलिभिजनहरुको पनि करिब २ दशक लामो सञ्चालनको इतिहास छ। २०६२/०६३ सालको जनआन्दोलनपश्चात् त निजीस्तरका टेलिभिजन खोलिने लहर ह्वात्तै बढेर आयो र नेपालमा स्याटेलाइट टेलिभिनहरुको संख्या एक दर्जनभन्दा माथि पुग्यो।

यीमध्ये केही टेलिभिजनहरु आन्तरिक व्यवस्थापन र अन्य विभिन्न कारणले बन्द पनि भए भने धेरैजसो निजी टेलिभिजनहरु हालसम्म पनि सञ्चालनमा नै रहेका छन। जसरी जसरी नेपालमा लोकतन्त्रको स्थापनापछि राजनीतिक परिवर्तनहरु हुँदै आए त्यसरी नै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सञ्चारगृहहरुको अधिकारलाई सुनिश्चित गरी ऐन र कानुन बनाई संविधानमा उल्लेख भएपछि त स्याटेलाइट तथा केवल टिभीहरुको संख्या ह्वात्तै बढ्यो।

नेपालमा सञ्चारमाध्यम राज्यको चौथो अंगको रुपमा रहेको छ। नेपालमा हालसम्मको टेलिभिजनको दर्ता संख्या हेर्ने हो भने १४५ भन्दा माथि पुगेको छ। क्षेत्रीय तथा प्रादेशिक स्तरमा खोलिने स्थानीय टेलिभिजन र राष्ट्रियस्तरमा सञ्चालनमा रहेका स्याटेलाइट टिभीहरुका लागि वार्षिक रुपमा वितरण हुने गरेको सरकारी विज्ञापन तथा अन्य व्यावसायिक विज्ञापन नै टेलिभिजनको प्रमुख आर्थिक स्रोत बन्ने गरेको पाइन्छ। नेपालका अधिकांश टेलिभिजनहरु यही विज्ञापनकै भरमा चल्ने गरी सञ्चालनमा आएको नै देखिन्छ।

केही स्याटेलाइट तथा केवल टेलिभिजनहरु सञ्चालन तथा व्यवस्थपनको पर्याप्त ज्ञान अभावमा पनि जेनतेन चलिरहेका छन्। एकाध टिभीलाई छाडेर हेर्ने हो भने प्रायःजसो नेपालमा हाल सञ्चालनमा रहेका टेलिभिजनहरुको आन्तरिक आर्थिक अवस्था सधैँ नाजुक रहँदै आएको छ। व्यवस्थित भनिएका टेलिभिजनहरुको पनि उच्च रहेको कार्यक्रम उत्पादन तथा सञ्चालन खर्च धान्न हम्मेहम्मे परेको अवस्था छ। यसको कारण हो– सानो बजार र विदेशी च्यानलहरु तथा विभिन्न अन्य माध्यमबाट नेपालमा बज्ने विज्ञापन।

यसैको उचित व्यवस्थापनका लागि नेपालमा लामो समयदेखि क्लिनफिडसम्बन्धी बहस चल्दै आए पनि विभिन्न कारणवश त्यो लागू हुनसकेको थिएन। अन्ततः २०७६ कात्तिक ८ गते विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६को उपदफा (१) संसदबाट पारित भयो र १ वर्षको समय अवधि दिई सम्पूर्ण विदेशी च्यानलले नेपालमा डाउनलिङक अनुमति लिँदा अनिवार्य विज्ञापनरहित च्यानलहरु मात्र देखाउन पाउने कानुन बन्यो। यसको कार्यान्वयन यही २०७७ कात्तिक ८ गतेबाट नेपालमा पूर्णरुपमा लागू हुने अवस्थामा छ।

नेपाली टेलिभिजनहरुका लागि क्लिनफिड : अवसर र चुनौती
नेपालमा अब लागू हुने भनिएको क्लिनफिड कानुन नेपाली टेलिभिजन, विज्ञापन उद्योग र कलाकारिता क्षेत्रका लागि सुनौलो अवसरका रुपमा लिइएको छ। २०७७ कात्तिक ८ उप्रान्त जति पनि विदेशी च्यानलहरुले नेपालमा डाउनलिङ्क अनुमति लिई निःशुल्क तथा सशुल्क च्यानल प्रसारण र नेपालका डीटीएच, एमएसओ, आईपी टिभी, टिटु, एमएम डीएसका माध्यमबाट नेपालीको घर घरमा वितरण गरिँदै आएका ती सबै विदेशी च्यानलहरुले अब कुनै पनि विज्ञापन देखाउन पाउनेछैनन्।

नेपालमा वितरणमा आउँदै गरेका विदेशी सशुल्क च्यानलहरु सोनी, कलर्स, जीटीभी, स्टारलगायतका थुप्रै च्यानलहरुका कार्यक्रमको बीचबीचमा विदेशी विज्ञापनहरु बज्दै आएका थिए। जसको विरोध नेपाल विज्ञापन संघ र टेलिभिजनहरुले गर्दै आएका थिए। अन्ततः अब हेरिने विदेशी सशुल्क च्यानलहरुमा विज्ञापनरहित कार्यक्रम मात्र बज्नुपर्नेछ भने यसअघि नेपालमा हेरिने गरेका थुप्रै विदेशी च्यानलहरु नेपालको कानुनविपरीत रहेको अवस्थामा प्रसारणको अनुमति पाउनेछैनन् जसका कारण अब विदेशी च्यानलहरुको संख्यामा समेत कमी आउने अनुमान छ। अतः नेपाली टेलिभिजनहरुको लागि यो समय अवसर बन्नेछ।

क्लिनफिड लागू भएसँगै नेपाली टेलिभिजनहरुमाझ थप चुनौतीहरु पनि थपिएका छन्। भारतलगायत अन्य विदेशी टेलिभिजनहरुमा राम्रैसँग रमाउने गरेका नेपालका दर्शकहरुको त्यो रोजाइ के नेपाली टेलिभिजनहरुले पूरा गर्न सक्लान् त? ठूलो प्रश्नचिह्न र चुनौती अब नेपाली टेलिभिजनहरुको काँधमा छ।

नेपालको दशकौँ अघिदेखि एनालग वितरकको कम प्राथमिकतामा पर्दै आएका नेपाली टेलिभिजनहरुले नेपाली टेलिभिजन वितरकका अगाडि कहिल्यै पनि आफ्नो टिभीलाई सशुल्क बनाउने प्रस्ताव राख्न सकेनन्। यसका थुप्रै कारणहरु छन् जसमध्ये विदेशी च्यानलहरुसरह स्तरीय कार्यक्रम उत्पादन गर्न नसक्नु नै हो। वितरकहरुले पनि नेपालमा कहिल्यै पनि स्वदेशी टेलिभिजनहरुलाई प्रोत्साहन नगरेकै पाइन्छ। जसरी नेपालमा केवल डिजिटाइजेसन भयो, त्यसपछि भने नेपाली टिभीहरुले स्थान राम्रै पाएको पाइन्छ।

केही टेलिभिजनहरुले त अन्तर्राष्ट्रिय फ्रेन्साइज शो समेत सुरु गरेर नेपाली टिभीहरुले पनि नेपाली टिभी हेर्ने दर्शकहरुको रोजाइमा पर्न सफल भएका छन्। यसरी उत्पादन गरिने अन्तर्राष्ट्रिय फ्रेन्साइज शोहरुको कार्यक्रम उत्पादन लागत खर्च नै अत्यधिक हुने हुँदा टेलिभिजनले उक्त कार्यक्रममा विज्ञापन मात्र बजाएर पर्याप्त लागत उठाउन सकिरहेको अवस्था भने छैन। एउटा टेलिभिजन स्थापना गर्न लाग्ने खर्चभन्दा पनि धेरै खर्च यस्ता प्रकारका कार्यक्रमहरुमा लाग्ने हुँदा यसलाई व्यवस्थापन गर्ने चुनौती त नेपाली टेलिभिजनहरुसामु छँदै छ।

अब पनि नेपाली टेलिभिजनहरुले बेलैमा होस नपु¥याउने हो र नेपालजस्तो सानो बजारमा निर्भर रहेर दर्शक र विज्ञापनदाताको रोजाइमा पर्न नसक्ने हो भने नेपालका थुप्रै टेलिभिजनहरु बन्द हुने अवस्था नआउला भन्न सकिन्न। विभिन्न माध्यमबाट नेपालमा अन्तर्राष्ट्रिय ओटीटी नेट फ्लिक्स, अमेजन लगायत इन्डियन डीटीएच अवैध रुपमा हेर्न थालियो भने नेपालको यो प्रसारक र वितरक दुवैलाई ठूलो क्षति हुने देखिन्छ। नेपाली टेलिभिजनहरुले अबका दिनहरुमा आपूmलाई व्यापक सुधार गरी विभिन्न वर्गका दर्शकहरुलाई समेट्नसक्ने खालका विभिन्न स्वाद र मनोरञ्जनमूलक कार्यक्रमहरु पस्किनुपर्नेछ।

नेपाली टेलिभिजनहरुले आफूलाई स्वदेश लगायत विदेशमा समेत आफ्नो उपस्थिति विभिन्न माध्यमहरु जस्तै नेपाली कार्यक्रमको ओटीटीको माध्यमबाट संसारभर पहुँच पुु¥याउनुपर्नेछ भने नेपाल सरकारले अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेको व्यवस्था गरी विदेशी मुद्रा नेपालमा भित्रिने कुराको लागि सहजीकरण गर्नुपर्नेछ। जसरी नेपालमा पछिल्लो समयमा युट्युब फेसबुकमा कार्यक्रम हालेर केही आम्दानीको लोभमा टेलिभिजनहरु परनिर्भरताको बाटोमा लागेर त्यसमा भएका सबस्क्राइबरमा दंग छन्। यो एक दिन सबैभन्दा घातक साबित हुनेछ।

जसरी भारतमा हरेक चर्चित च्यानलहरुले आफ्नै ओटीटी एप्स जस्तै सोनिको सोनिलिभ, स्टारको हटस्टार, कलर्सको भुट जस्तै नेपाली टेलिभिजनहरुले पनि एउटा सामूहिक एप्स सञ्चालनमा ल्याएर अन्य ओटीटी एप्सहरुलाई निरुत्साहित पार्नुपर्छ। सबैले एकै प्रकारका कार्यक्रमभन्दा पनि फरक–फरक किसिमका नयाँ नयाँ विभिन्न उमेर, वर्ग र समुदायलाई समेट्नसक्ने किसिमका कार्यक्रम उत्पादनमा जोड दिनुपर्छ भने नेपाल सरकारको नियामक निकायले पनि नेपाली टेलिभिजनको गुणस्तर लगायत प्रभावकारिताको विषयमा सूक्ष्म अध्ययन गर्नुका साथै नियमन गर्नुपर्छ र नेपालको रकम विदेशिनबाट जोगिने वातावरणको अवस्था सृजना गर्ने अवसर नेपाली आमसञ्चारजगतलाई जुटाइदिनुपर्छ।

अर्को महत्व पूर्ण कुरा भनेको नेपाली टेलिभिजनहरुले आफ्नो अपलिङक सिग्नललाई इन्क्रिप्ट गरेर नेपालका वितरकहरुबाट उपयुक्त मूल्यांकन गरी प्रतिग्राहक केही रकम मासिक रुपमा लिनुपर्ने हुन्छ। जसका कारण टेलिभिजनको आर्थिक अवस्थामा सुधार आई नेपाली टिभी वितरकहरुको समेत परनिर्भतामा कमी आई यो समग्र क्षेत्र नै आत्मनिर्भरतर्फ उन्मुख हुन मद्दत पुग्छ।

(लेखक अधिकारी विगत १७ वर्षदेखि निरन्तर नेपाली अडियो भिडियो तथा प्रसारणको क्षेत्रमा कार्यरत छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .