ad ad

ब्लग


ज्यानमारा जात-व्यवस्था मुर्दावाद !!

ज्यानमारा जात-व्यवस्था मुर्दावाद !!

संगीत
असार ९, २०७८ बुधबार १३:५४,

एउटा खड्काजी भेटिए भने अर्का खड्काजी तुरुन्तै अँगालो मारिहाल्छन्। एउटा आचार्यजीले अर्को आचार्यजीलाई गोत्र सोधिहाल्छन् र आफन्तको साइनो लगाइहाल्छन्। एउटा ओलीजी अर्को ओलीजीसँग ओली भएकै कारण तुरुन्तै निकट भइहाल्छन्। हो, यसरी ‘ठूल्जाते जीहरूको एकता’ दैनिक जीवनमै प्रतिबद्ध छ!  र, त्यसको लामो प्रक्रियाको निष्कर्षमा राजनीतिक पार्टीहरूको डफ्फा नै बाहुन वा क्षेत्री पुरुषहरूको क्लब बन्छ, बनिरहेकै छ। यसरी नै समाजका संरचना, संस्था, निकाय, मिडिया र ‘आन्दोलन’हरू समेत जातवादी सञ्जाल बन्छन्, बनिरहेकै छन्!

लोकतान्त्रिक होस् या उदारवादी बाउ, प्रगतिशील होस् या वामपन्थी बाउ, आफू पोखरेल छ भने छर्छरीलाई पनि आफ्नै पोखरेल थर लेखाइदिन्छ र चिनारुहरूसँग सन्तानको चिनारी गराउँछ– यी हुन्, मेरी छोरी फलानी पोखरेल वा मेरा पुत्र ढिस्कानु पोखरेल! हो, यसरी पितृसत्ताले घरतहबाटै बाउवंशलाई संस्थागत गर्ने र कथित उच्च जात–वाचक थरमा गर्व गर्न दोहोरो तालिम एकैचोटि दिन्छ! र, कालान्तरमा यसको निष्कर्ष निस्कन्छ– उत्पीडित जात वा जातिलाई दमन गरिराख्न, भेदभाव गरिराख्न र आफ्ना उच्च जातीय विशेषाधिकार जोगाइराख्न एकताबद्ध हुने अहंकार बेलाबेला प्रकट भइरहन्छ!

अहिले पनि त्यो अहंकारको त्यो कर्कश आवाज सामाजिक सञ्जालमा छ्यालब्याल छ!

अन्तरजातीय प्रेम गरेको निहुँमा जब शर्माजीहरूले विश्वकर्मा युवाहरूको सामूहिक संहार गरेर खोलामा लासहरू मिल्काउँछन्, शक्तिशाली शर्माजी संसदबाटै हत्याराहरूको बचाउमा कुर्लन्छन्! मिडियाहरू झुर्लुक्क बोल्छन् र चुप लाग्छन्। बौद्धिक आन्दोलनहरू विषय उठाउँछन् र घर फर्कन्छन्। मौकाछोपुवा नेताहरू एकछिन नारा लगाउँछन् र भोट बटुल्ने अर्को नारा टिप्न जान्छन्। अनि, निष्कर्ष यस्तै हुन्छ– प्रहरी प्रशासन र अड्डा–अदालतहरू पनि शर्माजीहरूकै इशारामा वर्षौंसम्म ल्याङल्याङ गरिरहन्छन्, गरिरहेका छन्! अनि अदालतकै दैलाभित्र न्यायको हत्या हुन्छ, भइरहेकै छ!

तसर्थ, ख्याल राख्नुपर्ने के छ भने ठूला घटनामा ठूलै कुरा गर्न ठूल्ठुलो स्वरमा खड्काजी, आचार्यजी, पोखरेलजी, शर्माजीहरू पनि समावेशीकरणका पक्षमा र न्यायका पक्षमा देखिन अघि सरिहाल्छन्। तर, जात–व्यवस्था र पितृसत्ताका मसिना–मसिना इँटाहरू यिनै जी–मु–ख्य–जी–हरूले नै बनाइरहेका र पर्खाल थपिरहेका त छैनन्? आफैंलाई बदल्ने र सांस्कृतिक रूपान्तरणमा हेलिने मसिना–मसिना काम थाल्न संवाद गरौं! ख्याल राखौं, ध्यान राखौं, सचेतना राखौं र न्यायदिशातिरको संघर्षलाई सबैभन्दा केन्द्रमा राखौं!

र, यो साताको मुख्य सवाल– काठमाडौंमा जातीय छुवाछुत गरेर रूपा सुनारलाई डेरा नदिने घटना जात व्यवस्थाकै उपज हो। अझ, भर्खरै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री (ख्याल गरौं– शिक्षा तथा विज्ञान प्रविधि मन्त्री!!) सरकारी शक्ति दुरुपयोग गर्दै पीडकलाई छुटाइसकेछन्। विभेद गरिएकोदेखि पीडक छुटाउनेसम्मको यस घटना शृंखलाका विरुद्ध जात–व्यवस्था अन्त्यका पक्षधरहरूले एकताबद्ध आवाज उठाउन, पीडितका पक्षमा बोल्न र जात–व्यवस्था समूल अन्त्यका लागि दीर्घकालीन संघर्ष–यात्राको सहकार्य उठाउन आवश्यक छ।

यसलाई पीडकको जाति, सम्प्रदाय वा संस्कृतिसँग जोडेर साम्प्रदायिक रूप दिन खोज्नु पूर्णतः गलत छ। सबै शोषित वर्ग, उत्पीडित समुदाय र किनारीकृत पंक्ति सबै प्रकारका शोषण र शासनका साङ्ला फुकाल्ने ध्याउन्नामा एकै ठाउँ हुनु दरकार छ। क्रूर प्रकृतिको यो जातको ठूल्याइँलाई राज्य र समाज–संरचनाले बलमिच्याइँ गरेर लागू गरेको थियो इतिहासमा, अहिलेको त्यही थितिको नयाँ रूप चल्तीमा छ। तसर्थ, यो व्यवस्थाकै अन्त्यको समग्र परियोजनासँग जात–व्यवस्था अन्त्यको आन्दोलनलाई एकाकार गराउँदै अघि बढ्नु छ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .