शनिबार राष्ट्रपति निवासमा एक कार्यक्रमबीच राष्ट्रिय चलचित्र अवार्ड वितरण गरियो २०७३–०७४ र ०७५ गरी ३ वर्षका अवार्ड विजेतालाई पुरस्कृत गरियो। म प्रायः यस्ता अवार्ड वितरण कार्यक्रममा सहभागी हुन्न। तर आफू पनि यस क्षेत्रमा भएको नाता एवं चलचित्र समाजको ऐना भएको हुनाले यो विषयमा चासो रहनु स्वभाविक हो। त्यसैले यो विषयमा लागेका कुरामा बोल्न पाउनुपर्छ भन्ने लाग्छ।
चलचित्र अवार्ड भनेको सिने क्षेत्रसँग सम्बन्धित मानिसको मात्र नभएर हरेक दर्शक (जनता)को चासोको विषय हो। जनताले आफूले हेरेका राम्रा र नराम्रा फिल्मको आफै मूल्यांकन गर्न सक्छन्।
मेरो फिल्म जात्रा (०७३ सालले) दुई विधामा चलचित्र अवार्ड पाएको छ। यस वर्षको अवार्डका लागि मेरो कुनै फिल्म थिएन। त्यसैले यसले पाएन त्यही भएर बोल्यो भन्नेहरुलाई मेरो जवाफ छ, म पाए पनि नपाए पनि बोल्ने मान्छे हुँ। अवार्डहरु वितरण गर्दा निकटताका हिसाबले होइन, फिल्म र व्यक्तिले नेपाली चलचित्र क्षेत्रलाई के–कति योगदान दियो भन्ने कुरालाई आधार मान्नुपर्छ।
हाम्रो नीतिमै राम्रो शिक्षा दिने फिल्मलाई पुरस्कृत गरिने भन्ने छ। यस्ता शिक्षा दिने फिल्म कृषिसम्बन्धी कृषि मन्त्रालय, शिक्षासम्बन्धी शिक्षा मन्त्रालय वा सम्बन्धित विषयका फिल्म सम्बन्धित मन्त्रालयले बनाए भइहाल्यो नि। राम्रो फिल्मले त जनतालाई प्रश्न गर्न सिकाउनुपर्छ, आफ्नै मौलिक दृश्य, भाषा निर्माण गर्ने खालको पनि हुनुपर्छ । विशेष क्षेत्र, समुदाय वा तप्काका मानिसहरुको बोली बन्छ। हुन त हामीकहाँ यस्ता फिल्महरु कमै बन्छन् तर बनेकाहरुलाई पनि प्रोत्साहन गर्ने काम भइरहेको छैन।
लबिङका आधारमा व्यक्तिगत, पार्टीगत वा संस्थागत रुपमा राम्रालाई भन्दा पनि हाम्रालाई पोस्ने परम्पराले गर्दा अन्य क्षेत्रजस्तै फिल्म क्षेत्रको अवस्था पनि खस्किएको छ। भागबन्डा पुर्याउन हुँदै नभएको शीर्षक थपेर अवार्ड दिने गरिन्छ। भाग लगाएर यसको–त्यसको मुख टालिदेउँ भन्ने प्रवृत्तिले फिल्म क्षेत्रमात्र होइन सिंगो देश नै बिग्रिएको छ। फलानो रिसाउला, फलानो उसको मान्छे भनेर पुरानालाई नेतृत्व तहमा राख्ने प्रबृत्ति हाबी छ। पुरानालाई त सल्लाहकारमा राख्ने हो, समितिमा राख्ने भनेको त नयाँलाई हो नि।
राजनीतिक नियुक्ति खाएर आएको मान्छेले कसको लागि काम गर्ला? नियम, कानुन पनि यहाँ भन्नेमात्र भएको छ। यहाँ नियत नै खराब छ। आजको युवा पुस्ता नबोलेसम्म नियत सुध्रिदैन। यदि कतै खराब भइरहेको छ भने युवाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नैपर्छ। हामी पनि आफ्नो ठाउँबाट बोलिरहेका छौँ। अरु पनि बोल्नुपर्छ। जसले फिल्म क्षेत्रसँगै देशको पनि विकास चाहन्छ।
हामी चलचित्र विकास बोर्डलाई पनि घचघच्याइरहेका छौँ। कस्ता फिल्म र कलाकारलाई पुरस्कृत गर्ने भन्ने कुरामा नीतिगत रुपमा स्पष्ट हुनु आवश्यक छ भन्ने कुरा हामीले राखेका छौँ। शिक्षा दिनेभन्दा जनतालाई प्रश्न गर्न सिकाउने, मौलिक दृश्य, भाषा निर्माण गर्ने फिल्मलाई पुरस्कृत गरौँ भन्ने हाम्रो माग हो।
निर्णायक वा जुरीमा पनि मान्छे राख्दा विचार पुर्याउनुपर्ने देखिन्छ। अहिले अवस्था यस्तो भइसकेको छ कि जुरीमा राम्रो मान्छे आउन पनि डराउँछ। किन कि उसको मूल्यांकनको कदर नहुने अवस्था यहाँ छ। जुरी छान्दा सर्वमान्य मानिस छानिएको छैन। कसैको रुचिमा छानिएको मानिसले कस्तो निर्णय गर्छ? मानसिकता नै खराब भएका मानिसहरुले कस्तो निर्णय गर्लान्?
विभिन्न समिति, उप–समिति बनाउने, त्यसमा स्वतन्त्र र निष्पक्ष मान्छे राख्ने र उत्कृष्ट चीजलाई पुरस्कृत गर्ने परम्पराको विकास नभएसम्म नेपाली चलचित्र माथि उठ्न गाह्रो छ।
हरेक संस्थान, स्वायत्त निकायमा राजनीतिक नियुक्ति हुन थालेपछि यस्तो हुनु स्वभाविक हो। मूल शुद्ध भएपछि पानी शुद्ध आउने हो। हुन त मानिसको मुख्य अंग मस्तिष्क, मुटु र फोक्साले नै काम नगरेको अवस्थामा औँला चलेन भन्नु भनेर के गुनासो गर्नु । त्यसैले पहिले मुख्य अंगको अप्रेशन गर्नुपर्छ। त्यसपछि औँला पनि चल्न थाल्छ। सबै ठिक हुन्छ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया