ad ad

ब्लग


सचेत, सभ्य र आलोचनात्मक पुस्ता निर्माणका लागि पठन संस्कृति अनिवार्य

सचेत, सभ्य र आलोचनात्मक पुस्ता निर्माणका लागि पठन संस्कृति अनिवार्य

सरोज खतिवडा
चैत २८, २०७६ शुक्रबार १४:३७,

नयाँ पुस्ताले पुस्तक छुन छोड्यो भन्ने गुनासो बारम्बार सुन्ने गरिन्छ। मोबाइल र इन्टरनेटले बालबालिकालाई पढ्न दिएन भन्ने गरिन्छ। बालबालिका किन इन्टरनेटमा भुलिएका छन् वा नेट प्रयोग गर्नासाथ विद्यार्थी अनुशासनहीन हुन्छ कि हुँदैन भन्नेबारे कसैले चासो दिएको देखिँदैन। अझ बालबालिकालाई पुस्तकबाट टाढा राख्न अभिभावक र शिक्षक बढी जिम्मेवार देखिन्छन्।

अहिले मोबाइल वा इन्टरनेटले विद्यार्थीलाई असाधारण रुपले आकर्षित गर्नुका पछाडि हाम्रो शिक्षा पद्धतिमा रहेका केही गम्भीर त्रुटि जिम्मेवार छन्। पढाइलाई पाठ्यक्रमको रटाइ र शैक्षिक जीवनको सफलतालाई मार्कसिटमा प्राप्त त अंकको घनत्वले नाप्न थालेपछि शिक्षासँग अनिवार्य रुपले जोडिने अन्य बहुआयाम शिक्षाको काल्पनिकीबाट छुट्न पुगेका छन्।

बच्चाले पढ्न जाँगर नलगाएका दिन पाठ्यक्रमबाहिरका पुस्तक पढ्न शिक्षकले प्रेरित गर्दैनन्। कथा वा गीत र कविता सुनाएर विद्यार्थीलाई सिकाउने कला हाम्रा कति शिक्षकहरुमा छ? सामूहिक रुपमा पुस्तक पढ्ने र छलफल गर्ने संस्कृति कति विद्यालयमा छ?समय तालिका मिलाउँदा पुस्तकालय समय छुट्याउने कति विद्यालय प्रशासन छन्?

मेरो अनुभवमा त पाठ्यक्रमबाहेकका पुस्तक साना नानीहरुले विद्यालय वा घरमा छुनसम्म पनि मुस्किल छ। विद्यालयमा सामान्यतया बोर्ड, मार्कर, पुस्तक, कपीबाहेक अरु सामाग्री प्रयोग गरेर पढाइँदैन। पहुँचका हिसाबले पछिल्लो समय देशका हरेक सामुदायिक विद्यालयमा धेरथोर पुस्तक तथा अन्य शैक्षिक सामग्रीहरु पुगेका छन् तर प्रयोग भने न्यून छ।

धेरै विद्यालयमा इन्टरनेटको पनि सहज पहुँच हुने अवस्था छ। विद्यालयमा बुक कर्नरको शीर्षकमा पनि बजेट निकासा हुने गर्छर तर, कार्यान्वयनको अवस्था के छ?

यिनै विषयको सेरोफेरोमा गत ६ महिना शिक्षासँग सम्बन्धित क्षेत्रमा काम गर्दाका अनुभव मैले यहाँ समेट्ने जमर्को गरेको छु।

प्रसंग १
डेढ वर्षअघि म एउटा एनजीओमा काम गर्थेँ। शिक्षकहरुसँग काम गर्नुपथ्र्यो। प्रत्येक महिना स्रोत केन्द्रस्तरीय प्रअ बैठक हुने गथ्र्यो। बैठकमा स्रोत व्यक्तिले बुक कर्नर शीर्षकमा बजेट निकासा भएको सुनाए। स्रोत केन्द्रभित्र करिब ५३ विद्यालय थिए। त्यसमध्ये म २५ विद्यालयमा बैठक सम्पन्न भएपछि पुगेको थिएँ। म पुगेका २५ वटै विद्यालयमा बुक कर्नर थिएनन्।

एसआईपी (विद्यालय सुधार योजना) तथा सामाजिक परीक्षणमा भने बुक कर्नरमा खर्च भएको देखिन्थ्यो। यो सिन्धुलीको कुरा हो।

प्रसंग २
विद्यालय अवलोकनकै क्रममा हामी मकवानपुर पुगेका थियौँ। तामाङ बाहुल्यता रहेको प्राथमिक विद्यालयको रेकर्डमा एक सय विद्यार्थी भर्ना भएको देखिन्थ्यो। विद्यालय भवन सुविधासम्पन्न नै देखिन्थ्यो। कार्यालय कोठाको एउटा कुनामा केही थान बाकसहरु थिए।

त्यसैको अर्को छेउमा फाहोरको डङ्गुर थियो। एकछिनको कुराकानी पश्चात मैले त्यो थुप्रोबारे प्रअसँग जिज्ञासा राखेको थिएँ। धमिराले खाएको पुराना किताब, कापी र कागज भएको बताए। फोहारको थुप्रोजस्तो देखिने चाङमा गएर हेर्दा त्यहाँ बाल साहित्यका पुस्तक, कापी, पेन्सिल, इरेजरजस्ता सामग्री थिए ती। विभिन्न दातृ निकायबाट प्राप्त सिकाइका प्रभावकारी समानहरु विद्यालय भवनको कुनामा धमिराले खाइरहेको थियो।

डङ्गुरमा काम लाग्न सक्ने पुस्तक, कापी, पेन्सिल, कलर पेन्सिलजस्ता चीज बच्चालाई बाँड्न प्रस्ताव गर्दा प्रअले अस्वीकार गरे। उनले तर्क गरे, ‘यस्तो किताब बच्चाहरु पढ्न मान्दैनन्। यी कापी–कलम दिँदा यिनीहरु पल्किन्छन्।’ हामी केही बोल्न सकेनौँ।

प्रसंग ३
विद्यालयमा पुस्तकालय तथा पुस्तक उपलब्ध हुनु र पठन संस्कार हुनु फरक कुरा रहेछन्। जाँगर वा सिर्जनसिलता भए यो विद्युतीय युगमा धेरै आवश्यक चीज सहजै भेटिन्छन्। एउटा विद्यालयमा शिक्षक अनुपस्थित भएकाले एउटा कक्षा खाली थियो। खाली कक्षामा विद्यार्थीलाई गीत गाउन लगाएर भुलाउने चलन रहेछ। मैले त्यो दिन बच्चाहरुलाई बाल उपन्यास तोत्तोचानको कथा सुनाएँ। बच्चालाई बेलाबेला कथा सुनाउन काम लाग्छ भनेर त्यो पुस्तक पनि मैले शिक्षकलाई नै छोडेर निस्किएँ।

पन्ध्र दिनपछि ती शिक्षकसँग मैले कथा वाचनबारे बुझ्न चाहेँ। ‘परीक्षा आउँदैछ। कथा सुनाउन थाले, कोर्स कसरी सकिन्छ?’

त्यसपछि थाहा भयो, स्कुलमै भएका बाल साहित्यका पुस्तक पनि बालबालिकालाई छुन दिइएको रहेनछ।

मकवानपुरको एक स्कुलकी शिक्षिकालाई बाल साहित्यका पुस्तक छन् कि छैनन् भनेर सोेधेको थिएँ। उनको जवाफ थियो, ‘छन्, तर, त्यस्ता किताब पाएपछि बच्चाहरु कोर्समा ध्यान नदिने र कथाका किताबपनि च्यात्ने गर्छन्। त्यही भएर दिने गरेको छैन।’

घरमा बालबालिकाले पढाइतिर ध्यान नदिए अभिभावकले कथा, कविता, सुनाएर उनीहरुलाई पढाइमा फर्काउने हो। तर, हातमा विभिन्न प्रकारका ग्याजेट थमाएर बच्चा भुलाउने गरिन्छ। अभिभावकले आफ्ना बच्चालाई उपहार दिँदा किताब विरलै दिन्छन्। मुख्य समस्या त हाम्रोमा पुस्तक उपहारको संस्कार नै छैन।

आर्थिक रुपले विपन्न र कतिपय विकट ग्रामीण भेगमा पुस्तक सहज उपलब्ध नहुनु अस्वाभाविक होइन तर सहरी र पुस्तक सहज उपलब्ध हुने क्षेत्रमा समेत हालत उस्तै छ। जुनसुकै ठाउँमा बस्ने, जुनसुकै वर्गका भएपनि धेरै अभिभावक छोराछोरीलाई पाठ्यक्रमबाहिरका पुस्तक दिए पढाइ बिग्रिन्छ भन्ने ठान्छन्।

मैले सोधकार्यका क्रममा २५ जना अभिभावकसँग बालबालिकालाई पुस्तक उपहार दिनुहुन्छ कि दिनुहुन्न भन्ने प्रश्न गरेको थिएँ। त्यसमध्ये कसैले पनि बच्चालाई पुस्तक उपहार दिने गरेको पाइएन। अध्ययनमा सहभागी ६ जनाले आप्mना बच्चालाई बेलाबेला कथा र गीत सुनाउने गरेको भने पाइयो।

यसको अर्थ सबैतिर अवस्था खराबमात्रै छ भन्नेपनि होइन। ललितपुरस्थित महालक्ष्मी नगरपालिका सानागाउँमा रहेको एउटा सामुदायिक विद्यालयको प्रसङ्ग भने अलि फरक छ।

त्यो विद्यालय पनि अरुजस्तै आर्थिक र अन्य समस्याबाट ग्रसित छ। तर त्यहाँ शिक्षकहरुकै पहलमा प्राथमिक तहका कक्षाहरुमा बुक कर्नर निर्माण गरिएको छ। त्यहाँको पठन तालिका पनि गज्जबको छ। शिक्षक अनुपस्थित रहेको समय अनिवार्य रुपले बुक कर्नरको प्रयोग हुन्छ।

कक्षाकार्य छिटो सक्ने विद्यार्थीलाई शिक्षकले बुक कर्नरका पुस्तक पढ्न लगाउँछन्। विद्यार्थीलाई दण्ड र पुरस्कार दिँदापनि बुक कर्नरकै प्रयोग गरिँदोरहेछ। शिक्षक स्वयंले कथा र कविता वाचन गरेर विद्यार्थीलाई सुनाउने गरेको समेत पाइयो। उल्लेखनीय तथ्य के भने यस्तो अभ्यासका लागि न त्यहाँ उस्तो खर्च लाग्ने संरचना छन् न त खर्चिला पुस्तक नै। यस्ता विद्यालयबाट सामुदायिक विद्यालयले किन नसिक्ने? शिक्षकको सानो प्रयासबाट नै विद्यालयको पठन संस्कृतिमा उल्लेखनीय सुधार आउने निश्चित छ।

नेपाल सरकारले आधारभूत तहमा पुस्तकालय कुना सञ्चालन गर्ने व्यवस्था त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। शिक्षा नीति, २०७६ मा पनि पुस्तकालय तथा पठन संस्कृतिबारे चर्चा गरिएको छ। अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा अन्तर्गत सबै आधारभूत विद्यालयहरुमा भवन, कक्षाकोठा, फर्निचर, प्रयोगशाला, शौचालय, पानी, पुस्तकालय, बुक कर्नर जस्ता भौतिक तथा शैक्षिक पुर्वाधार पूरा गरिने भनिएको छ। केन्द्रीय पुस्तकालय, प्रदेश पुस्तकालय, स्थानीय पुस्तकालय तथा अध्ययन केन्द्रको बारेमा पनि चर्चा गरिएको छ। तर, विद्यालयहरुले बालबालिकाको पठन संस्कृतिबारे खासै पहल गरेको पाइँदैन।

बुक कर्नर, पुस्तकालय तथा पुस्तकालयमा बालबालिकाको पहुँचको विकास भए के फाइदा हुन्छ भन्ने सवाल पनि महत्वपूर्ण छ। तर, हाम्रा सरोकारवालाहरु यो प्रश्नबाट विमुख छन्। राजनीतिक नेतृत्वको त कुरा गर्नै परेन, बोल्ने र भुल्ने उनीहरुको पुरानै रोग हो। प्रशासकहरु पनि कर्मकाण्डी प्रतिवेदन लेख्न अभ्यस्त छन्।

शिक्षकहरुलाई पनि यसबारे खासै चिन्ता भएजस्तो देखिँदैन, उनीहरु अञ्जान बनिदिन्छन्। अभिभावकहरु पूर्ण बेखबर छन्, सन्तानले प्रमाणपत्र कमाए भइहाल्छ।

तथापि सचेत, सभ्य र आलोचनात्मक पुस्ता निर्माण गर्ने हो भने पठन संस्कृतिको विकास गर्नु अनिवार्य छ। पठन संस्कृतिलाई आदतको रुपमा स्थापित गर्न आवश्यक छ। त्यसका लागि साना कक्षाबाटै सुरुवात गर्नुपर्छ। पठन संस्कृतिको विकासको आधार बालबालिका हुन्। त्यसैले हरेक स्कुलमा बुक कर्नर राखौँ।

पाठ्यक्रम नसकिने, परीक्षा बिग्रिनेजस्ता बहानामा शिक्षक र अभिभावक बालबालिका र पुस्तकबीचको तगारौँ नबनौँ। आधारभूत कक्षा, यिनै कक्षाका शिक्षक तथा अभिभावकको सासाना प्रयासबाट पठन संस्कृति विकास हुने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .