हामी अमेरिकाका डाक्टर हौँ। भर्खरै हामीलाई नयाँ जिम्मेवारी दिइएको छ।
हिजो हामीमध्ये कोही बाल रोग विशेषज्ञ थियौँ। कोही मुटुरोग विशेषज्ञ त कोही शल्य चिकित्सक। आज हामी सबै कोभिड डाक्टर भएका छौँ। तपाईंले यसअघि हामीसँग समय लिनुभएको हुनसक्छ। तर, त्यो सबै रद्द भएको छ। हाम्रा अफिस बन्द भएका छन्। हामीलाई अग्रमोर्चामा बोलाइएको छ।
यो एक विश्वव्यापी युद्ध हो र हामी सिपाही हौँ। पूरै संसार एउटा साझा शत्रुविरुद्ध एकताबद्ध भएको छ। यो शत्रु अदृश्य तर ज्यानमारा छ। यसका बारेमा हामीले अझै धेरै कुरा जान्न बाँकी छ। तर, हामी हरेक क्षण थप सिकिरहेका छौँ। उपचारको विधि हरेक दिनजसो परिवर्तन हुन्छ। बिरामी मर्ने छन्। र, हामीमध्ये केहीलाई चोट पुग्नेछ। हामीमध्ये केही त मरेका पनि छन्।
न्युयोर्कका अस्पतालमा के भइरहेको छ, हामी सबैले ती भयंकर कथा सुनिसकेका छौँ। यी कथा वास्तविक हुन्। तथापि मैले बहादुरी र बलिदानीका आश्चर्यजनक घटना पनि देखेको छु। र मैले डाक्टरहरुबीच अहिलेसम्मकै पवित्र मित्रता पनि देखेको छु। हामी एकअर्कालाई प्रेरित गर्छौँ। घरमा रहेका प्रियजन पनि हाम्रो हौसला बढाइरहेका छन्।
हामी वर्षौँदेखि तालिम लिइरहेका थियौँ। हामी हाम्रो काममा पोख्त भएका छौँ, आफ्नो सीपलाई तिखार्न सफल भएका छौँ। यो क्रममा हामीले अनगिन्ती चुनौती पार गरेका छौँ। हामीले क्यान्सर उपचार गरेका छौँ। अंग प्रत्यारोपण गरेका छौँ, मुटुको प्वाल टालेका छौँ। हामीले जीवन बचाएका छौँ। तर, यो ती सबै कामभन्दा फरक छ। कोभिड–१९ फरक छ।
केही साता अघिसम्म पनि कोभिड डाक्टर भन्ने नै थिएनन्। अहिले हामीजस्ता हजारौँ भइसकेका छन्। हामीमध्ये केही डराएका छौँ। तर, परिआउँदा हामी कोही पनि खुट्टा कमाउने छैनौँ। हामी डरलाई जित्नेछौँ। हामी नयाँ खाले सीप सिक्नेछौँ। हामीले कहिल्यै नसोचेका कुरा सिक्नेछौँ। र, एकदमै चाँडो सिक्नेछौँ। कुनै बखत हामी पराजित महसुस गर्नेछौँ। हामी सहयोगका लागि गुहार माग्नेछौँ। अग्रमोर्चामा जोकोही हराउन सक्छ। तर, कसैलाई पनि पछाडि छाडिने छैन।
कोभिड डाक्टरका रुपमा हामीले हाम्रा अहंहरुलाई छेऊ लगाएका छौँ। हामीले गर्नुपर्ने काम थुप्रो छ। त्यसैले हामी विनम्र छौँ। हामी सबै फेरि सिकारु बनेका छौँ। फेरि सुरुदेखि सबैथोक सिकिरहेका छौँ। र, हामीले आफूलाई सिकारु मान्नेबित्तिकै कुनै पनि काम सानो हुँदैन। कुनै पनि काम तल्लो स्तरको हुँदैन। जुनसुकै योगदानले पनि सहयोग पुग्छ। हामी सबैको उत्तिकै महत्व हुनेछ।
हाम्रो शत्रुले हाम्रो व्यवस्थामा रहेको कमजोरी उदांगो बनाएको हुनसक्छ। तर, सँगसँगै यसले हाम्रो शक्तिलाई पनि उजागर गरेको छ। महामारी बढ्दै जाँदा हामीले कठिन निर्णयहरु लिनुपर्ने छ। अत्यावश्यक औजारको चरम अभाव हुनसक्नेछ। औषधि सिद्धिन सक्छ। तर, हाम्रो सहानुभूतिको आपूर्ति कहिल्यै समाप्त हुने छैन। हाम्रो समझदारी र सहयोगको आपूर्ति सदा चलिरहने छ।
हामी यो युद्ध एक्लै लडिरहेका छैनौँ। वास्तवमै अग्रमोर्चाका लडाकु त नर्सहरु हुन्। श्वासप्रश्वाससम्बन्धी थेरापिस्ट र सहायक फिजिसियनहरु हुन्। यो युद्धमा घाइते हुने उच्च जोखिममा उनीहरु छन्। हामी डाक्टरहरु सकेसम्म सबै तरिकाले उनीहरुलाई सहयोग गर्नेछौँ। आवश्यक सबै उपाय लगाएर हामी उनीहरुको रक्षा गर्नेछौँ। उनीहरुबिना हामी यो युद्ध जित्न सक्दैनौँ।
अरुले नसक्ने काम गरेर मानवताको सेवा गर्न पाउँदा हामी गर्व महसुस गर्छौँ। यस्तो समयमा हात बाँधेर बस्न हाम्रो स्वभावले नै दिँदैन। जो कुनै सहयोग गर्न सक्दैनन्, उनीहरुले पक्कै निरासा महसुस गरिरहेका छन्। तथापि हामी तपाईंको प्रेम महसुस गर्न सक्छौँ। तपाईंको सहयोग महसुस गर्न सक्छौँ। घाम अस्ताउँदै गर्दा तपाईंहरुले हाम्रा लागि ताली पिटेको वा झ्यालमा निस्केर हौसला बढाएको हामी नसुन्न सक्छौँ। हाम्रो कानसम्म भेन्टिलेटरको आवाजबाहेक केही आइपुग्दैन। तथापि, जब हामी घर हिँड्छौँ, हामीलाई थाहा हुन्छ, तपाईंहरु हाम्रो साथमा हुनुहुन्छ।
हाम्रो घरपरिवारका लागि केही भन्न चाहन्छु। हामी खाना खानेबेला सँगै हुने छैनौँ। नुहाउने, कथा सुनाउने बेला साथमा हुने छैनौँ। हामी हप्तौँसम्म घरबाट टाढा बस्न सक्नेछौँ। ताकि हामीबाट भाइरस नसरोस्। तर, तिमी सधैँ हाम्रो मन र मुटुमा हुन्छौ। तिमी र हाम्रा बालबच्चाका लागि हामी यो युद्ध लडिरहेका छौँ। हामी युद्धको नायक बन्ने छौँ, जसलाई हाम्रा बालबच्चाले हेरेर एक दिन गर्व गर्नेछन्। हामी तिम्रो धैर्यका लागि धन्यवाद दिन्छौँ। तिम्रो त्यागका लागि धन्यवाद दिन्छौँ।
केही डाक्टरहरु हामीले गुमाइसक्यौँ। ती हाम्रा सहकर्मी थिए। उनीहरुकै नाममा हामी यो युद्धमा भाग लिँदैछौँ। उनीहरुकै नाममा हामी यो युद्ध जित्नेछौँ। उनीहरु व्यर्थै मरेका होइनन्। हामी यो युद्ध जित्नेछौँ।
हामी अमेरिकाका डाक्टर हौँ र यो नयाँ जिम्मेवारीमा तैनाथ हुन पाउनु हाम्रा लागि गर्वको विषय हो।
(द न्युयोर्क टाइम्सबाट। हादी हालाजुन न्युयोर्कस्थित हृदयरोग विशेषज्ञ हुन्)
प्रतिक्रिया