ad ad

ब्लग


अफ्रिकामा नेपाली: यो कोरोना रोजगारी खोस्ने, त्यो इबोला ज्यान लिने

अफ्रिकामा नेपाली: यो कोरोना रोजगारी खोस्ने, त्यो इबोला ज्यान लिने

हिक्मत थापा
चैत १९, २०७६ बुधबार ४:३५,

कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि यतिबेला नाइजेरियाका प्रमुख शहरहरु लकडाउनको अवस्था छन्। हाम्रो (डेङ्गोटे समूह) को कार्यालय बन्द छ। म नाइजेरियाको आर्थिक राजधानी लेगोसमा परिवार साथ बस्छु। यहाँ अस्ति रातिदेखि लकडाउन शुरु भएको हो। आज कार्यालय गइनँ तर खाद्य, औषधिजस्ता अत्यावश्यक वस्तुका कारखानाहरु सञ्चालनमै छन्। त्यहाँ काम पर्दा वा मिटिङ हुँदा निस्किनु पर्ने हुन्छ।  

नाइजेरियाका ३६ वटा राज्यमध्ये लेगोस, अबुजा र ओगोनमा लकडाउन घोषणा गरिएको हो। यहाँ दुई जना गभर्नर कोरोनाबाट संक्रमित भएका छन्। यहाँ गभर्नर भनेका नेपालका मुख्यमन्त्री जस्तै हुन्। प्रत्यक्ष भोटबाट चार वर्षका लागि निर्वाचित भएका उनीहरु विदेश भ्रमणबाट फर्केका थिए। अहिले लकडाउन गरिएको क्षेत्र धेरै जनसंख्या भएको ठाउँ हो। संक्रमितको संख्या बढ्दै गएपछि आइतबारदेखि आन्तरिक र आन्तरार्ष्ट्रिय उडान बन्द छन्। यहाँ मंगलबार मध्यान्हसम्ममा १ सय ३५ जना संक्रमित भेटिएका छन् भने २ जनाको मृत्यु भइसकेको छ।

म करिब डेढ दशकदेखि पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा छु। यहाँ भाइरसको कारण संकट भोगेको पहिलो पटक भने होइन। सात वर्षअघि इबोला भाइरसको महामारीले अहिलेभन्दा बढी त्रास उत्पन्न गरेको थियो। पश्चिमी अफ्रिकी मुलुक गुयना, लाइबेरिया र सियरा लियोनमा महामारीको केन्द्र रहेको थियो। इबोलाले ११ हजार ३२३ जनाको ज्यान लियो। नाइजेरियामा ८, मालीमा ६ जनासहित सेनेगल, बेलायत, स्पेन र इटलीमा पनि मृत्यु भएको थियो।

अहिले कोरोनाभन्दा त्यो समयको इबोला बढी खतरनाक थियो। त्रास पनि बढी थियो। इबोला भाइरसबाट संक्रमित भएपछि बाँच्ने सभावना आधा मात्रै हुन्थ्यो। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले ४० प्रतिशत मात्र बाँच्न सक्छन् भनेको थियो। तर कोरोना जस्तो सजिलै त्यो एक जनाबाट अर्कोमा सर्दैनथ्यो। पसिना, रगतबाट सर्ने हुँदा त्यो बेला एक अर्कासँग हात मिलाउन छाडेका थियौं। नमस्कार गर्दथ्यौं, स्यानिटाइजर हातमा दल्ने गर्दथ्यौं। त्यो भाइरसयुक्त रहेका कपडा वा ओछ्यानबाट पनि सर्थ्यो। कोरोना भने चाँडै सर्ने त्रास छ। दुवै भाइरसको जनवारबाट मानिस संक्रमित भएका हुन्। सन् १९७६ मा इबोला पत्ता लागेपछि सन् २०१४ देखि १६ सम्मको तीन देशमा भएको महामारी सबैभन्दा ठूलो थियो। गुयनाबाट शुरु भएको महामारी लाइबेरिया र सेरालियोन पुगेको थियो। निकै जटिल प्रकारको स्वास्थ्य समस्याको रुपमा यो देखिएको थियो।

कोरोनाका कारण नाइजेरियामा तीन प्रमुख प्रान्त लकडाउन भए पनि इबोलाको समयमा त्यस्तो केही भएको थिएन। बाह्य देशसँग सम्बन्ध कम रहेका तीन अफ्रिकी देशमा फैलिएको महामारीले अन्य अफ्रिकी देशहरुमा खासै समस्या परेको थिएन। इबोला लागेका ज्यान जाने सम्भावना बढी थियो तर अहिलेसम्मको यहाँको स्थिति हेर्दा कोरोनाले रोजगारीमा बढी असर पार्ने देखिन्छ। त्यस्तो असर अहिले नै देखिन थालिसकेको छ।

अफ्रिकी मुलुक सेसेल्समा करिब २ सय नेपालीले रोजगारी गुमाइसकेका छन्। सेसेल्सको मुख्य आम्दानीको स्रोत पर्यटन हो। अहिले त्यहाँ पर्यटन ठप्प छ। अन्य अफ्रिकी देशहरुमा समेत यसको असर पर्नेछ। कति महिना बन्द हुन्छ अहिले निश्चित छैन। तीन चार महिना बन्द हुने अवस्था आयो भने कम्पनीहरुले रोजगारी कटौती गर्न शुरु गर्छन्। त्यसको मारमा नेपाली पनि पर्ने निश्चित छ। नेपालीहरु होटल तथा रेस्टुराँमा सेफ, कारखानामा प्राविधिक, अकाउनटेन्टजस्ता पदमा धेरै छन्। दक्षिण अफ्रिकामा नेपाली डक्टर पनि छन्। केहीको आफ्नै व्यापार रहको छ। अहिलेसम्म खुशीको कुरा अफ्रिकामा सबैजसो देशमा नेपाली भए पनि हालसम्म कुनै कोही पनि संक्रमित भएको जानकारी छैन। हाम्रो फेसबुक ग्रुप रहेको छ जसमा हामी निरन्तर रुपमा सम्पर्कमा रहन्छौं।

(हिक्मत थापा गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .