एउटी २७ वर्षीया युवतीको जलेर मृत्यु भयो। के उनको शरीर मात्र जल्यो होला त? उनले प्रेमीका लागि सजाएको सपना उनीसँगै जल्यो होला कि भड्किरहेको होला यतै कतै? आफ्नै शरीरमा आगो झोस्न उनलाई केले बाध्य गरायो होला? जिन्दगी नै सिध्याउने निर्णय गर्नुअघि कतिपटक हिसाब गरिन् होला पुष्पाले बाबु–आमाले उनीमाथि लगानी गरेको समय, भावना, उनलाई लिएर बाबु–आमाले देखेका सपना र उनलाई उनी बनाउन लत्याएका आफ्ना सपना, मारेका रहर, बगाएको रगत र पसिना? यी यावत प्रश्नका जवाफ पनि पुष्पाले आफूसँगै लिएर गइन्।
इन्गेजमेन्ट तोडेपछि पुष्पाले प्रेमीको खुट्टा समातेर बाबु–आमाको इज्जत जोगाइदिन भनेकी रहिछन्। आफ्नै जिन्दगीको मूल्य भूलेर समाजका लागि कसैको पाउमा आफ्नो जिन्दगी राख्न पुगेकी पुष्पाको आँसुको साक्षी बनेकी उनकै सखीले पनि नबोलेर भूल गरिन्। सम्झाइदिएको भए जिन्दगीको महत्व, आफ्नालाई भनिदिएको भए उनको हालत, सायद टर्थ्यो कि दुखान्त! हामीले यो विषयमा कहिल्यै सोच्ने गरेकै छैनौँ। अझै हामीलाई अरुका समस्या समस्या नै लाग्दैनन्। हल्का रुपमा लिइदिन्छौँ आफ्नाले गरेका जीवन र मरणका कुरा। जब परिणाम नराम्रो भैसक्छ अनि खुल्छन् हाम्रा आँखा। तर कसैको जीवन ढलेपछि खुलेको चेतना र बगेको आँसुले खास अर्थ राख्दैन।
हामीलाई भन्न सजिलो छ, उनले मर्नु हुँदैनथ्यो। मर्न त कहाँ त्यति सजिलो होला र?
सार्वजनिक रुपमा जोडिएको एउटा सम्बन्ध तोडिएपछि यो समाजमा छोराहरुलाई बाँच्न जति सहज छ, त्यो सजिलो छोरीलाई छैन। यदि समाजले हरेक अवस्थामा छोरालाई झैँ सजिलै बाँच्न दिन्थ्यो भने पुष्पाहरुले यसरी आफ्नै शरीरमा आगो झोस्दैनथे। स्नातकोत्तर सकेकी, आफैँ सक्षम एउटी युवती इन्गेजमेन्ट तोडिएकै कारण आफैँलाई जलाएर मार्नु पर्ने अवस्थामा आउनु कति डरलाग्दो सामाजिक अवस्था होला? यो सामाजिक अवस्थामाथि बहस हुनु जरुरी छ।
पुष्पाको मृत्युको खबर पढ्दै चुकचुकाइरहेको यही समाज हो उनलाई मर्न विवश पार्ने। यसमा पुष्पाको परिवार अथवा सुदनको परिवार मात्रै दोषी छैन। हाम्रो सिंगो सामाजिक मान्यता, हाम्रो चेतना, हाम्रो संस्कार लगायत थुप्रै कुरा दोषी छन्। अब छोरीहरुको जीवनका लागि जिन्दवाद र मुर्दावादको नारा लाग्नुअघि समाजका यी संरचनामाथि बहस हुनु जरुरी छ। अब पनि बा–आमाले आफ्ना छोरीहरुलाई आफ्नो इज्जतको कसीमा राखेर हुर्काइरहने हो भने अझै कति वर्ष जिउँदै जल्नु पर्छ पुष्पाहरुले थाहा छैन।
प्रेम बस्यो, प्रेम बसेको चिज सुन्दर हुन्छ, प्रिय हुन्छ र सँगै राख्न मन लाग्छ। त्यही चाहनाले न हो पुष्पाले सुदनसँग बिहेको तयारी गरेको। जिन्दगीभरको यात्राका लागि निस्कनै लाग्दा टुटेको यात्राले विक्षिप्त भएकी छोरीलाई एक्लै छोडिदिनु बा–आमाको पनि त गल्ती हो। यो घटनाबाट अन्यले पाठ सिक्नु जरुरी छ। पुष्पाको त जीवन सकियो, कुनै पनि मूल्यमा फिर्ता आउने छैन। त्यसैले हरेक बाबुआमाले आफ्ना छोराछोरी हुर्कंदै गर्दा भन्न नभुलौँ, ‘संसारमा तिमीले हरेक चिजको विकल्प पाउँछौँ। विकल्पमा पाइँदै नपाइने त्यो तिम्रो जिन्दगी मात्रै हो। त्यसैले सबैभन्दा धेरै माया आफैँलाई गर्नु।’
अब अलिकति प्रसंग बदलौं।
पुष्पामाथि जे भयो, त्यो हुनुहुँदैनथ्यो। उनले आत्मदाह गर्दै गर्दा सुदन र उनको परिवार हेरेर बसेको सत्य हो भने त्यो भन्दा अमानवीय केही छैन। पुष्पाको ठाउँमा जो कोही भएको भए पनि आगो निभाउने, अस्पताल लैजाने, उनको जीवन जोगाउने प्रयत्न गर्नु पथ्र्यो। यो विषयमा पनि फरकफरक कुरा सार्वजनिक भैरहेका छन्। कसैले पुष्पाको आत्मदाहमा सुदनको परिवार रमिते बनेको भनिरहेका छन्। अर्काथरी त्यो समय सुदनको घरमा बुढी हजुरआमाबाहेक कोही नभएको भनिरहेका छन्। भलै यो प्रहरीले अनुसन्धान गर्ने विषय हो। उसले आफ्नो काम थालेको छ। सुदनले गरेको कसुर र कानुनले दिने सजाय उनले भोग्नु पर्छ।
तर हामी पनि एकपाखे भएर बोलिरहेछौँ, मानौं सुदनको परिवारले नै पुष्पाको शरीरमा आगो लगाएका हुन्। हो, घटना शंकास्पद छ भनिएको छ, पुष्पाको परिवारले किटानी जाहेरी दिएका छन्, प्रहरीले अनुसन्धान गरिरहेको छ, प्रमाणित भएको खण्डमा उनीहरु सजायको भागिदार हुन्छन्। तर सुदनले पनि त भनिरेहका छन्, ‘म निर्दोष छु।’
कसैले पनि कसैलाई जिन्दगीभरी प्रेम गरिरहनु पर्छ भन्ने बाध्यता छैन्। आज मिलेको मन भोलि नमिल्न सक्छ। नमिल्न पाउनु पर्छ। कयौँ वर्षका वैवाहिक सम्बन्ध टुटेका छन्, प्रेमी छुटेका छन्, उनीहरु पनि त बाँचिरहेकै छन्। पारिवारिक सहमतिमै तोडिएको एउटा सम्बन्धले निम्त्याएको दुर्घटनालाई लिएर हामीले लगाएका आक्षेप अर्को दुर्घटना गराउने खालका छन्। सुदनका परिवारलाई गाली गलौज गरिरहेका छौँ।
हो, हाम्रो सामाजिक संरचना छोरीहरुका लागि पूर्वाग्राही छ। यसको मतलब लोग्ने मान्छेहरुलाई चाहिँ घाउ नै लाग्दैन भन्ने पनि होइन। कम्तीमा हाम्रो संवेदनाले यी कुराहरु पनि सोच्नु पर्ने हो कि?
मैले यहाँ पुष्पाको मृत्युलाई सामान्य रुपमा हेरिनु पर्छ भन्न खोजेको होइन। एउटी केटीलाई मर्न बाध्य पार्ने अवस्था आउनु सामान्य कुरा होइन। उनको मृत्युले उनको परिवारमा परेको क्षतिको भरपाइ कसैले पाएको कुनै पनि सजायले गर्न सक्दैन। पुष्पाका बाबु–आमाको मुटुमा जिन्दगीभरिका लागि घाउ लागेको छ। त्यो कुनै पनि ओखतीले निको हुँदैन। मैले भन्न खोजेको यत्ति मात्रै हो, त्यस्तै घाउ अर्कोलाई लाग्नबाट बचाउँ। यो कानुनी राज्य हो, बरु अनुसन्धानमा प्रहरीलाई साथ दिउँ। पुष्पाका बाबु–आमालाई पनि ‘तिम्री छोरी मर्ने अवस्थामा कसरी पुगी’ भनेर सोध्नुअघि विचार गरौँ। यी प्रश्नहरुले उनीहरुलाई पुग्ने चोट नजरअन्दाज नगरौं।
कुनै पनि घटना घट्छ, हामी खुब धेरै प्रतिक्रिया दिन्छौँ। तत्कालका लागि त्यसलाई ठूलो मुद्दा बनाउँछौँ, अनि सेलाउँछौँ। तर, त्यसको कारण खोज्नतिर लाग्दैनौँ।
परिवारको इज्जतका लागि छोरीहरुलाई मर्न बाध्य पार्ने समाजका विरुद्ध बोलौँ। व्यक्तिगत रुपमा कसैले कसैलाई हिलो छ्याप्ने काम नगरौँ। छोरीहरुलाई हिम्मत दिउँ, छोराहरुलाई पनि संस्कार सिकाउँ। समाजमा घट्न सक्ने सम्भावित अन्य घटना न्यूनीकरणका लागि भूमिका खेलौँ।
Shares
प्रतिक्रिया