ब्लग


जित–हार भन्न छाडौँ, त्यागको सिलसिला सुरु गरौँ

जित–हार भन्न छाडौँ, त्यागको सिलसिला सुरु गरौँ

बिनु पाेखरेल
मंसिर १५ , काठमाडौँ

भरखरै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकियो। चुनावका बेला हार र जितको खुब चर्चा हुन्छ। हार्नेहरुको सन्नाटा र जित्नेहरुको चुरीफुरी यसबेला हेर्नलायकको हुन्छ। मिडियाले जित हारलाई यसरी प्रस्तुत गर्छन्, मानौँ चुनावले नै मान्छे र अमान्छेबीचको फैसला गरेको छ। के चुनाव जित्नेबाहेक सबैले हारेका हुन्? हामी केलाई जित र केलाई हार भनिरहेका छौँ? जीवनको सार नै यही हो जसरी लागेका हुन्छौँ। यस आलेखमा यिनै विषयमाथि केही विमर्श हुनेछ।

सुरुमा जीवनको अभिन्न अंग राजनीति शब्दको अर्थ खोजौँ। राजनीति राज र नीति दुई शब्दको समासबाट बनेको छ। नेपाली बृहत् शब्दकोशअनुसार राजको अर्थ सबैभन्दा उँचो र प्रधान भन्ने लाग्छ भने नीति भनेको आचरण, आचारसहिंता, सिद्धान्त आदि। अर्थात् प्रधान या सर्वश्रेष्ठ आचरण, जसले समाजलाई आचरणमा बाँधेको हुन्छ। अनि यस्तो नीति अपनाउने व्यक्ति नेता हो। यस्तो सुन्दर छ अर्थ। तर के नेता र राजनीति यहाँ भनेजस्तै छ?

आजको राजनीति कस्तो छ भनेर जान्न समाजले तयार गरेको बिम्ब हेरौँ। कसैले कसैलाई गिराउने या फसाउने काम गर्यो भने यो राजनीतिमा खप्पिस छ भन्ने गरिन्छ। अनि कसैलाई नराम्रो व्यवहार नगर भन्नु पर्यो भने त्यसमाथि राजनीति नगर भन्ने गरिन्छ। किनकि राजनीति राजबाट हटेर निचमा पुग्यो। यसकारण राजनीतिबाट सेवाभाव हटेर व्यवसायमा परिणत भयो।

राजनीतिको अर्थ र त्यसको आजको अभ्यासलाई तुलना गर्दा यो व्यक्तिको वर्ग उत्थानको उद्योग बनिरहेको छ। राजनीतिमा लागेपछि राज्यशक्ति, आर्थिक पहुँच र अवसरको सामथ्र्य विस्तार हुन्छ भने मानिस उद्यमबाट शक्तिशाली हुने बाटोतिर किन लाग्छ? खुला समाज छ, लोकरिझ्याइँका एकदुई वटा फण्डा अगाडि सारेर समाजको मनोविज्ञानमाथि कब्जा जमाउन सक्यो भने एक सिजनको चुनावमा सफलता पाइन्छ। अर्काे सिजनका लागि सत्तामा बसेर दाम कमायो र त्यही रकमको अंश बाँड्यो दानवीर कहलियो। वरपर धेरै लालची जम्म गर्यो। अनि त्यसैको बलले सत्तामा टिकिरह्यो। त्यसैले पत्रकार, वकिल, व्यापारी, कलाकार, लेखक हरेकको छनौटको पेसा आज राजनीति बनेको छ।

नेता पदले होइन, अनुभूतिले तयार हुनु पर्ने हो। तर हाम्रा नेता कि हिंसा कि त प्रियतावाद टिपेर बनेका छन्। यहाँ त अर्को खतरा के छ भने एउटा प्रियतावाद काट्न अर्को प्रियतावाद जन्मिरहेको हुन्छ। यस्तो जनउत्तेजक प्रियतावाद (पपुलिजम) समाजको लागि सबैभन्दा घातक कुरा हो। जुन कुरा नेता, दल मात्र होइन मिडियामा पनि छ। मिडियाले सिंगारपटार गरेर बनाएका नेता यहाँ छन्, नाम नलिए पनि उनीहरुलाई सबैले चिनेकै छन्।

आजको सन्दर्भमा हेर्ने हो भने धनलोलुपभन्दा प्रतिष्ठालोलुप व्यक्ति समाजको विकासका लागि खराब देखिन्छ। मिडियामा जसको बढी प्रशंसा छ, उही व्यक्तिबाट राजनीति गलत बाटोमा जाने खतरा छ। मिडिया खराब राजनीतिको सहउद्योग बनेर उदाएको छ। फलतः जो सबैभन्दा धेरै बेइमान र चालबाज हुन्छ, उसैको गुणगानमा राष्ट्रिय छापाहरु भरिएका हुन्छन्। 

अब नेता कसरी जन्मन्छ, त्यो हेरौँ। कोही पनि मानिससँग सबैथोक हुन सम्भव हुँदैन। धन भए बुद्धि हुँदैन, बुद्धि भए पद हुँदैन। यस्तो मान्छे भेटिँदैन, जोसँग सबैथोक होस्। यदि कोही भए पनि बाँकी भएका मान्छेले उसलाई उजस्तो रहन दिने छैनन्। किनकि उसँग जे छैन, अर्कोसँग भएको मान्छेले सहनै सक्दैन। आफू होचो भएको महसुस गर्छ र त्यसको खिलापमा जान्छ। जोसँग ज्ञान छ, उसको खिलाप जान्छ। जोसँग आनन्द छ, उसको खिलाप हुन्छ। किनकि हरेक मान्छेलाई आफू भित्रको कमीको सूचना हुन्छ। आफ्नो कमीलाई पुरा गर्ने यस्तै प्रयासले नेता जन्मन्छ। 

भनिन्छ, नेपोलियन बोनापार्ट अरुको तुलनामा होचा थिए, मात्र पाँच फुटका। उनी आफू सम्राट थिए। तर अग्लो शरीर भएको भिखारी देखे पनि आफू निचो भएको महसुस गर्दथे। लेनिनका खुट्टा एकदमै छोटा थिए। उनी कुर्सीमा बस्दा कहिल्यै भुइँ छुन सक्दैनथे। यो नै तिनका कमी थिए। त्यस्तै, हाम्रा वरपरका नेता हेर्नुभयो भने ती केका लागि नेता बनेका हुन् प्रष्ट हुन्छ।

खासमा राजनीति भनेको सबैभन्दा उत्कृष्ट नीति हो तर आफू शासक बन्ने अहंकार तुष्टि गर्ने नीतिका रुपमा मात्र यसको प्रयोग भयो। यसैको अभ्यासले आजसम्मका युद्ध भए। शान्तिको समयमा ठूलो नेता हुनै सक्दैन। देशबाहिर नभए देशभित्र, देशभित्र नभए पार्टीमै। पार्टीभित्र पनि नपुगेर व्यक्तिव्यक्ति विरुद्ध यसरी प्रतिद्वन्द्वी तयार हुन्छन्। भनिन्छ नि, एकमा एक जोड्दा दुई हुन्छ भने त्यो गणित हो। एकमा एक जोड्दा एघार हुन्छ भने त्यो संगठन हो। त्यसैगरी एक र एक जोडिन दिइन्न भने त्यो कूटनीति हो र एकलाई एक विरुद्ध लडाइन्छ भने त्यो राजनीति हो। 

आजको राजनीतिमा नेता भनेकै आफू ठूलो देखिन अरुलाई गिराउने तिकडम जानेको मान्छे हो। एकथरीको शंका के छ भने स्टालिनले आफूलाई नेतृत्वमा पुर्याएका लेनिनलाई नै विष दिएका थिए। 

खासमा हामीले कुर्सीलाई दिएको महत्वको कारण यो सबै भइरहेको छ। कुर्सीमा कोही गएर बसोस्, फूलमाला लिएर जाने कोही नहोस्, उसको पछि हिँड्ने कोही नहोस्। कसैले जयजयकार पनि नगरोस्। अघिपछि कोही नखटियोस्। अनि को नेता हुन खोज्छ? कुर्सीको मूल्य यति घटोस् कि कोही त्यहाँ जाने चेष्टै नगरोस्। जति कुर्सीको पूजा हुन्छ उति नै गलत मान्छे कुर्सीमा पुग्न सफल हुन्छ। सबै नेता बन्ने ताँतीमा तयार भएकाले यो सम्भव पनि छैन।

समाजको मानवीयकरण गरे मात्रै राजनीति सही बाटोमा हिँड्छ, नत्र राजनीति उद्योग हुन्छ। त्यसैले आजको राजनीतिले मानवीयता सिध्याउँदै छ। किनकि मानव जातिमा जात, धर्म, सम्प्रदाय यति फाटो ल्याइयो, अब मान्छे मान्छे नभएर देशको, धर्मको, रङको, जातको, थरको भएको छ। त्यसैले तिनका नामका अनेक पार्टीको जन्म भएको छ।

प्राचीन समयमा सम्राटहरु सन्यासीको चरण छुन्थे। मान्छे सन्यासी हुने सपना देख्थे। सन्यासीहरुलाई सबैभन्दा महत्व दिइन्थ्यो। त्यसबेला राजा पनि सन्यासी हुन्थे। जनक पनि अष्टवक्रलाई गुरु थापेर बोध मार्गमा गए। मतलब कुर्सीको महत्व कम थियो र राम्रा मान्छे कुर्सीमा पुग्थे। अब त्यो समयमा पुग्न राजनीतिले मानवीयताको धेरै ठूूलो मूल्य चुक्ता गरेपछि मात्र सम्भव छ।

नेतालाई गलत भैरहन प्रेरित गर्ने स्वयं नेता मात्र नभएर कार्यकर्ता पनि हुन्। नेताको पछि लागेको कार्यकर्ता कति अन्धो हुन्छ भन्ने विषयमा एउटा सत्य घटना राख्न उचित होला। अमेरिकाको सिकागोमा द सिकर्स नामक पन्थकी अगुवा डोरोथी मार्टिनले २१ डिसेम्बर १९५४ मा पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरेकी थिइन्। तर, त्यो दिन आयो, गयो केही भएन। भविष्यवाणी सत्य नभएपछि पन्थका थुप्रै सदस्यले उनको साथ छाडे। तर, उनका भित्रियाहरुले भने उल्टो उनको प्रार्थना र शक्तिको कारण घटना टरेको बताए र उनको साथ छाडेनन्। यसैगरी नेताको गल्तीको ढाकछोप गर्न तिनका कार्यकर्ता खटिन्छन्। किनकि उसलाई पनि नेता बन्नु छ। उसमा उसको छनौट गलत थिएन भन्ने अहंले काम गरेको हुन्छ।

प्रसिद्ध काव्य महाभारतको नाम महाभारत हुनु भन्दा पहिला जय थियो। जयको अर्थ हुन्छ, आफूमाथिको पनि विजय (इन्द्रिय माथिको नियन्त्रण)। विजय या तपस्या सफल परिणाम या आफैँमाथिको जित हो।

महाभारत कालको राजनीतिले पनि सिकाउँछ, पाण्डवहरुले राज्य युद्धबाट जिते। तर, उनीहरुलाई जितको सुख प्राप्त भएन। पाण्डवहरु अन्तिममा उत्तराधिकारीलाई राज्य सुम्पेर सन्यास आश्रममा गए। धर्मको सुख समाधि हुन सक्थ्यो तर राजनीतिको सुख त्यागसम्म हुन सक्छ। त्योभन्दा माथिको हुन सक्दैन। त्यसैले राजनीतिमा एउटा प्राप्तिपछि त्यागको सिलसिला आरम्भ भए मात्रै त्यसले सामाजिक व्यवस्थालाई मानवीय बनाउन सक्छ। नत्र राजनीतिको गन्तव्य युद्ध हो।

म त भन्छु, चुनावजस्तो कुरामा जित र हार शब्द प्रयोग गर्नु नै गलत हो। यति साना घटनालाई जितहारमा तौलनु नै छुद्र सोच हो। आजको राजनीतिमा त्यागको संस्कृति विकास गर्नु नै राजनीतिमा सामाजिक विजय हो। समाजको जित हो।

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.