ब्लग


दिदीभन्दा पहिले बहिनीको विवाह गर्न मिल्दैन?

दिदीभन्दा पहिले बहिनीको विवाह गर्न मिल्दैन?

मञ्जरी दवाडी
साउन ८ , काठमाडौँ

हाम्रो समाजमा जेठी छोरीलाई नै सुरुमा विवाह गर्ने बाध्यता किन छ? दिदीको भन्दा बहिनीको विवाह पहिले हुँदा दिदीलाई संकोच किन हुन्छ?

यो संकोच मनमा पक्कै आफ से आफ उत्पन्न भएको होइन। एउटी छोरी जन्मेदेखि वयस्क भएर कुरा बुझ्ने हुँदासम्म छोरीहरुलाई पाइला पाइलामा गर्ने विभेदले मनोबल गिराएका कारण यस्तो संकोच सिर्जना भएको हुनुपर्छ।

म घरकी जेठी छोरी। मेरा एक भाइ र एक बहिनी छन्। हाम्रो समाजमा पहिला जेठी छोरीको विवाह गरिदिनुपर्ने चलन रहँदै आएको छ। यो परिपाटीबाट मेरो परिवार पनि अलग रहन सकेन। बुवा आमालगायत सबै आफन्तले मेरो विवाहका लागि कि योग्य जीवनसाथी आफैँ खोज् कि हामी खोजिदिन्छौँ भनेर कम्तीमा पनि ७–८ वर्ष अगाडिदेखि भन्दै आइरहनुभएको थियो।

तर, मैले आफ्नो जीवन बिताउने साथी पनि अरुले खोजिदिएर हुन्छ र? भनेर उल्टै प्रतिप्रश्न गरेँ। किनकि मैले जीवन बिताउने साथी भेटाएकी थिइनँ। अरुले खोजिदिएको मानिससँग जीवन बिताउने आँट मसँग थिएन।

मेरो विवाहको कुरा निकाल्ने बित्तिकै म रिसाउँथे।

यत्तिकैमा मेरी बहिनीले एक दिन अफ्ठ्यारो मान्दै सोधिन्– ‘दिदी तपाईँ साँच्चिकै अहिले बिहे नगर्ने त? तपाईंले बिहे गर्ने भए म १–२ वर्ष कुर्न सक्छु। नभए म बिहे गरौँ कि भन्ने सोच्दैछु।’

मैले उनलाई सहज भाषामा भनेँ, ‘हुन्छ। तिमी विवाह गर। म अनिश्चित छु।’

मेरो विवाह कहिले, कोसँग, कसरी होला भन्ने विषयमा म अन्योलमा थिएँ। यसैक्रममा बहिनीको विवाहको कुरा घरमा चल्न थाल्यो।

अब बुवा आमालाई संसारमै खोज्दा नपाउने चिन्ता पर्न थाल्यो। जेठी छोरीको विवाह नगरी कसरी कान्छी छोरीको विवाह गरिदिने? अपवाद बाहेक दिदीको भन्दा पहिले बहिनीको विवाह नहुने हाम्रो समाजमा पहिला बहिनीको विवाह गरिदिन लाग्दा आफन्त, छरछिमेकी, साथीभाइ, नातागोताबाट आउने प्रश्नहरुको उत्तर दिँदा दिँदा बुवाआमाको पसिना छुटेको भयो रे !

कठै मेरो समाज ! आफ्नो खानु छ, तर अरुका लागि बाँचिदिनुपर्ने।

बहिनीको विवाहको कुरा चल्न थालेपछि घरबाट मलाई तनाव आउन थाल्यो। तिमी पहिला विवाह गर। कोही भए भन, नभए हामी केटा खोज्छौँ ....।

अन्ततः मेरो असहमतिका कारण बहिनीकै पहिला विवाह हुने पक्का भयो र तयारी पनि शुरु हुन थाल्यो। म बहिनीको विवाहलाई लिएर भने एकदमै खुशी थिएँ। तथापि, मेरो मनमा कता कता डर पस्न थाल्यो। बहिनीको विवाहमा कसरी घर जाने? ढिलोमा पनि विवाहको अघिल्लो दिन त काठमाडौँबाट घर पुग्नैपर्छ।

बुवाआमालाई किन छोरीहरुको विवाह नगरिदिएको भन्ने प्रश्नको अब दिनदिनै उत्तर दिन नपर्ने भएको थियो। कम्तीमा एउटी छोरीको त विवाह गरिदिएर भए पनि मन हलुका होला भन्ने मलाई लाग्यो। तर, मेरो भने छटपटी भने सुरु भयो।

म जेठी भएकै कारणले मलाई विवाह गरिहाल भनेर जबरजस्ती गर्न जायज छ र? छैन। घरमा बुवाआमाले तिम्रो इच्छाले विवाह गर भनेर स्वीकृति दिइसक्दा पनि आफन्त, साथीभाइको घरमा जाँदा मैले अनेक मानसिक समस्या झेलेकी छु। यसबाट एक समय मेरो आत्मबल निकै कमजोर भयो।

एकजना विवाहित आफन्त बहिनीको घरमा जाँदा ऊ भन्दा सानी नन्द विवाह भइवरि बच्चा जन्माएर सुत्केरी बस्न माइत आएकी रहिछन्। ती आफन्त बहिनी पनि गर्भवती थिइन्। उनकी सासूले मलाई विवाह किन नगर्नुभएको भनेर सोध्ने ठेक्का नै लिनुभएको थियो।

वहाँ आफ्ना छोरीहरूले कलिलै उमेरमा भकाभक छोरा पाएकोमा दंग परिसक्नुभएको थियो। वहाँकी बुहारीको पनि सुत्केरी हुने पालो आयो। उनले पनि छोरा पाइदिइन्। उनलाई भेट्न म पनि पुगेँ। दंग परेकी उनकी सासूले मलाई देख्नासाथ प्रश्न तेर्साइहाल्नुभयो– ‘सबैकी दिदी भएर पनि अहिलेसम्म विवाह गर्नुभएको छैन? कहिले विवाह गर्नु, कहिले बच्चा पाउनु? बहिनीहरुले उछिनेर छोरा पाइसके। बूढी भइसक्नुभयो है।’

यस्ता कुराहरुलाई वास्ता गर्दिनँ भन्दाभन्दै पनि मनमा गहिरो असर छोड्दै जाने रहेछ। जति नै हिम्मतिली भए पनि, महिला हक अधिकार र समानताको वकालत गरे पनि समाजमा रहेका ढुंगा भन्दा कडा एवं कठोर सामाजिक नीति नियमका अगाडि म डराउन थालेँ। नढाँटिकन भन्नु पर्दा मलाई बहिनीको बिहेमा सहभागी हुन एकदमै डर लाग्न थाल्यो। कसैले केही सोधेमा के–कसरी उत्तर दिने?

मानव जीवनमा विवाह लगभग अनिवार्य मानिन्छ। विवाहले पनि जन्म र मृत्युको जत्तिकै महत्व राख्छ। अझ हाम्रो समाजमा त महिलाहरुका लागि  विवाह अपरिहार्यजस्तै छ। विवाह कहिले? कोसँग? कसरी? आदि प्रश्नहरु छोरीको जन्म हुनासाथ गर्न थालिन्छ। वास्तवमा विवाह व्यक्तिगत रोजाइ हो। तर, हामी आफ्नो विवाह अरुले बनाइदिएको ढाँचा, परम्परा, सोच र सामाजिक नियमअनुसार गर्न बाध्य हुन्छौँ नि हैन?

कुनै युवतीले ‘म त विवाह नगर्ने’ भनेको सुन्यौँ भने हामीमध्ये धेरैलाई असामान्य लाग्छ। यस्तो लाग्छ कि विवाह गर्दिनँ भन्ने महिला मान्छे नै हैन।

हाम्रो समाजमा विवाह नगर्नु अथवा समाजले तोकेको एउटा उमेरभित्र विवाह नगर्नु अप्राकृतिक कुरा मानिन्छ। मानिसले विवाह आफ्नो सहज जीवन यापन, दुःख, सुःख र यौन चाहना परिपूर्तिका लागि गर्छ। तर, हाम्रो समाजमा अरुलाई देखाउन यति पढेको, यति धनी, सरकारी जागिरे, पीआर भएको भनेर प्रचार–प्रसार गरेर विशेष गरी छोरीहरुको विवाह गरिदिन्छन्।

के यसरी अरुलाई देखाएर गरिने विवाहले मानिसहरु साँच्चिकै खुशी छन् त? उनीहरुले नै जानु न ! यो अमूल्य जीवन हामी खुशी भएर बाँच्नलाई हो। हरेक दिन हामी अरुलाई देखाउन बाँच्ने कि हरेक दिन आफ्नो तवरले बाँच्ने? यो आजको मितिमा सोच्नैपर्ने भएको छ। 

मेरो पनि विवाहले जीवनप्रतिको धारणा नै बदलिदिएको छ। जब किशोरावस्था सकिने समय थियो, विवाह गर्ने चाहना पनि त्यति नै तिव्र थियो। तर, यो भन्दैमा मलाई आफ्नो करिअर, पढाइ, चाहना र सपनाको पछि नलागेर खाली विवाह गरेर सन्तान मात्र जन्माउने, श्रीमानको कमाइमा बाँच्ने भन्ने पटक्कै थिएन। तर, त्यसबेला मेरो विवाह भएन। यसो भनौं, मैले त्यो समयमा विवाह गरिनँ।

विवाहलाई रहर किन नबनाउने? बाध्यता किन बनाउने? हरेक छोरीले आफूलाई कस्तो जीवनसाथी चाहिन्छ, कुन उमेरमा विवाह गर्ने, कसरी विवाह गर्ने, गर्न मन नलागे नगर्ने भनेर खुल्ला हिसाबले कहिले भन्न सक्ने? कहिले निर्धक्क भएर बाँच्न सक्ने? किन उमेर अलिकति बढी भएमा बिहे गर्ने केटा भेटिँदैन, केटाले हेर्दैन इत्यादि भनेर छोरीहरुलाई तर्साइन्छ? विवाह नगरे समाजमा असामान्य मान्छेलाई जस्तो व्यवहार किन गरिन्छ?

छोरीहरुलाई मनको एउटा कुनामा सधैँ विवाहलाई लिएर डराउन बाध्य पारिन्छ। यो बिर्सिइन्छ कि हरेक मानवको छुट्टै अस्थित्व, छुट्टै पहिचान, रुचि, सपना, खुशी हुने आधार र बाँच्ने तरिका बेग्लाबेग्लै हुन्छ। जीवनप्रतिको धारणा आ–आफ्नो हुन्छ।

एउटा व्यक्ति कुन परिवेश, कस्तो पारिवारिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक, वातावरणमा हुर्केको छ, त्यसले मानिसको स्वभाव बनेको हुन्छ। म एउटा शिक्षित बुवाआमाको कोखबाट जन्म लिई विभेदरहित परिवारमा हुर्केकी हुँ। तर, यही समाजमा सामाजिक प्राणी भएर बाँच्नुपर्ने हुँदा, नातागोता, घरपरिवार, सम्बन्धहरु, छरछिमेक एवं साथीभाइका बीचमा विवाहलाई लिएर विभेद भएको अनुभव गरेकी छु। सबै कुरालाई प्रत्यक्ष रुपमा देखेकी र भोगेकी छु।

हाम्रो नेपाली समाज महिलाप्रति हरेक कुरामा असंवेदनशील किन छ? पाइला पाइलामा समान व्यवहार किन गर्दैैैन? अब यो विषयमा छलफल गर्नैपर्छ। अहिले हरेक मान्छेको हात–हातमा प्रविधि पुगेको समयमा पनि आफूलाई कसरी खुल्ला मनले हरेक कुरामा मानिसलाई स्वतन्त्र हुन दिने? कुसंस्कारलाई विस्तारै हटाउँदै जानेबारे कम्तीमा बहस शुरु होस् भन्ने चाहन्छु। सबैभन्दा मलाई खट्कने भनेको हामी बोल्न त शुरु गरौँ न भन्ने लागिरहन्छ।

विवाह गर्दा मात्र छोरीहरुको भविष्य सुनिश्चित हुन्छ भन्ने धारणा जबसम्म हाम्रो समाजमा रहिरहन्छ, तबसम्म छोरीहरुको मन कसरी विवाह गरेर सुनिश्चित हुने भन्नेमै सीमित रहन्छ। त्यसर्थ विवाह गरेर सुनिश्चित होऊ भनेर सिकाउनुको सट्टा बरु आफ्नो पढाइ पूरा गर्ने, आफूले चाहेको क्षेत्रमा करिअर बनाउने र स्वावलम्बी बन्ने भन्नेमा जोड दिन आवश्यक छ। हैन भने छोरीहरुले अदृश्य रुपमा विवाहलाई लिएर मनमा ठूलो रोग पाल्नुपर्ने हुन्छ। त्योभन्दा ठूलो रोग छोरी भएका बुवाआमालाई कहिले छोरी विवाह गरिदिएर ढुक्क बस्ने भन्नेमा सधैँ जान्छ।

म यहाँ फेरि आफ्नै प्रसंग भन्न चाहन्छु। मलाई किशोरावस्था पार गर्नेबित्तिकै किन विवाह गरिहाल्नुपर्छ भन्ने लाग्यो होला त? ढिला विवाह गर्दा केटीहरूले योग्य वर पाउँदैनन्, श्रीमती मरेको, पारपाचुके भएको केटा मात्र पाउने धारणा आम समाजको रहेको छ। यही कारणले गर्दा थाहै नपाई केटीहरूलाई एसईई सकेपछि, अझ त्योभन्दा अगाडिदेखि नै विवाहको तनाव आउन थाल्छ। के साँच्चिकै योग्य वर नभेटिने नै हो त भनेर हामी पनि मन–मनै डराउन थाल्छौँ। विवाह नै पो नहुने हो कि? करिअर बनाउन लाग्दा विवाह छुट्ने, विवाह गर्दा करिअर छुट्ने !

मेरो कुरा गर्दा करिअर फिल्मी क्षेत्रमा बनाउने मन थियो। साथसाथै विवाह पनि गरिहाल्नुपर्छ, नत्र फिल्मी क्षेत्रमा लाग्दा झन न यताको न उताको भइन्छ भन्ने धारणा व्याप्त रहेका कारण विवाहलाई लिएर मैले धेरै नै टाउको दुखाएँ। समाजले बनाइदिएको ढाँचा अनुरुप नै चाँडै विवाह गर्न अत्तालिएकी थिएँ म। तर, सोचेजस्तो र खोजेजस्तो कहाँ हुन्छ र जीवन ! न मेरो विवाह नै भयो, न मैले चाहेको जस्तो करिअर नै बन्यो।

सुन्दा सामान्य लाग्छ, तर छोरीहरुलाई चाँडै विवाह नगरे तिम्रो जीवन खतरामा धकेलिन्छ भनेर मानसिक तनाव दिन लागिपरेको छ यो समाज। छोरीहरु अलिअलि कुरा बुझ्ने भएदेखि नै विवाहको कुरालाई लिएर धेरै नै तनावमा परेको प्रशस्त देखेकी छु मैले।

यसरी जरो गाडेर बसेको विवाहको रोगले छोरीहरुलाई आफू र आफ्नो करिअर बारे नसोच्दैमा उनीहरुको जीवन सकिन्छ। हामीले हाम्रा छोरीहरुलाई स्वतन्त्ररुपमा विवाह गर्ने अधिकार नदिँदासम्म हाम्रो समाजमा छोरीहरु अघि बढ्न सक्दैनन्। आधाभन्दा बढी हिस्सा ओगटेर बसेका महिलालाई खुम्च्याएर राखेपछि सभ्य र समृद्ध समाजको परिकल्पना कसरी गर्ने?

आफैँले आफैँलाई प्रश्न सोध्न थालेँ– के म साँच्चिकै दिदी र दाइको विवाहमा जस्तो निस्फीक्री खुशी हुन सक्छु त? मेरो आँखामा हाँसो देखाउन खोज्दा आँशु त झुक्किएर निस्किँदैन? निस्किएमा के गर्ने, के नगर्ने? म अन्योलमा रहेँ। अनि सोचेँ म बहिनीको बिहेमा नजान पाए पनि हुने नि। तर, यो त असम्भव कुरा हो। मेरो मनभरि प्रश्नै प्रश्न पो आउन थाले ! एउटा मनले भन्न थाल्यो, लौ म किन डराएकी? मैले के अपराध गरेकी छु र?

बहिनीको विवाह झन् झन् नजिकिन थाल्यो। मनमनै डराए पनि कसैलाई आफ्नो कुरा सुनाउन सकेकी थिइनँ। एकदिन आँट गरेर सानैदेखिकी साथी मितिनीलाई सबै कुरा खुलस्त सुनाएँ। साथीले मलाई नडराउन ढाडस दिनुभयो र मेरो अनुरोधमा मसँगै काठमाडौंबाट बहिनीको विवाहका लागि घर जाने बताएपछि अलिकति भए पनि मेरो मन ढुक्क भयो।

त्यसबेला अति नै डर लागेमा सुटुक्कै वाइन लगेर लुकेर खाने, अनि कन्फिडेन्ट देखिने सल्लाह पनि गर्यौँ।

विवाहको अघिल्लो दिन पनि आयो। त्यो दिनमात्र म काठमाडौँबाट घर पुगेँ।

बिहेघरमा गीत बजिरहेको थियो। माहोल रमाइलो थियो। कसार बटार्ने, मेहेन्दी लगाउने दिन। कोही कसार बनाउँदै थिए। कोही पकाउँदै। सबै आ–आफ्नै कामधन्दामा व्यस्त।

आफ्नो मनमा भने कैयौँ दिनदेखि चलिरहेको आँधी झनझन बढ्दै गरेको अनुभूत भइरहेको थियो। तर, मैले यो अनुभूतिलाई आफ्नो मुहारमा एक झल्को पनि आउन दिइरहेकी थिइनँ। त्यत्तिकैमा एकजना सरकी श्रीमतीले मञ्जरी यहाँ आऊ त भन्नुभयो।

मेरो छाती ढक्क फुल्यो। म निश्चित थिएँ, किन विवाह नगरेको भनेर प्रश्न आउँछ भनेर। वहाँले भन्नुभयो, ‘लौन तिमीले यो के गरेकी?’

मैले थाहा नपाएजसरी हाँसेर सोधें, ‘मैले के गरेँ र म्याम?’

वहाँले भन्नुभयो ‘के भयो र विवाह नगरेकी तिमीले?’

हाँसे, जवाफ केही दिइनँ। जवाफ दिँदैमा कसले बुझ्छ र? कसैलाई भनेकी थिएँ र मैले विवाह नै गर्दिन भनेर? मानिसहरु आफैँ तपाईबारे, विशेष गरेर महिलाको विषयमा सबै कुरा तय गरिदिन्छन्।

विवाहको दिन आयो।

जन्ती आउने बेला भइसकेको थियो। मेरो मन अत्तालिएर के गर्ने कसो गर्ने, जन्तीलाई कसरी फेस गर्ने, स्वागत गर्ने कि नगर्ने भन्नेतिर गयो। मुटु ढक्क फुलेर बाहिर निस्केको जस्तो भएको थियो। तर, पनि अरुलाई थाहा नहुने ! जन्ती आउदा भाग्न खोज्ने मेरो हालत थियो। बहिनीको विवाहमा लोकन्दी (केटी साथी) बस्ने त आँट नै भएन। मलाई कसैले लोकन्ती बस्न सोधेन पनि।

बाजा गाजामा नाच्दै रमाउँदै जन्तीको लर्को घरनजिकै आइपुग्न पनि लाग्नु, आन्टीकी छोरी (बहिनी) को छोरा रुन थाल्यो। मलाई भने एकदमै सजिलो भयो। उसैलाई बोकेर बाटोतिर निस्किएँ।

एकैछिनमा स्वयम्बर भयो। म भने परबाट भिडसँगै चियाएर हेरिरहेकी थिएँ। अनि यताउता गर्दै फोटो खिच्दै रमाएँ। अलिकति सहज पनि हुँदै गयो।

विवाहको मध्य समयमा एक हुल मान्छेको भिडले बीचमा राखेर सोध्यो– तिम्रो विवाह पहिले नगरेर बहिनीको विवाह किन गरेको? फेरि हाँसेरै टारेँ। यो क्रम २–४ पटक नै चल्यो। यही भएर होला, मलाई आजकल अनावश्यक बोल्ने मान्छेभन्दा नबोल्ने प्राणी कुकुर नै असाध्यै प्यारो लाग्छ।

फेरि पालो आयो, गोडा धुने। अब म एक्लै छु। बुवाआमाले धुनुभयो। भाइले धोयो। अनि त्यसपछि पालो आयो मेरो। मलाई मेरी मितिनीले सहयोग गर्नुभयो।

बहिनीको विवाह पनि सकिनै लाग्यो। खै किन हो, बहिनीलाई अन्माउँदा पनि मलाई रुन मन लागेन। म रोइनँ।

बेलुका बुवाले भावुक हुँदै आजबाट कान्छी छोरी तिमी भयौ भन्नुभयो। मैले किन भनेर प्रतिप्रश्न गरिनँ। मलाई पनि म कान्छी छोरी नै हुँ कि जस्तो लाग्यो। लगाएको सारी र मेकअप उतार्दा पनि आजको दिन कट्यो भनेर ठूलो सास फेरेँ।

फेरि भोलिपल्टैदेखि अर्को खटपट सुरु हुन थाल्यो।

मञ्जरी दवाडी

बहिनी–ज्वाइँ दुल्हन फर्काउन आउने। आएपछि दिदीलाई टपेर बहिनीले विवाह गर्दा ज्वाइँले जेठीसासूलाई ढोगभेट गर्नुपर्ने चलन रहेको कुरा चल्न थाल्यो। दिदीको विवाह हुन नसकेर बहिनीको चाँडो विवाह भएको मान्ने हाम्रो समाजलाई के थाहा कि विवाह आफ्नो लागि गर्ने हो भनेर।

हातभरि चुरा, गलामा पोते, सिउँदोभरि सिन्दुर, रातो सारी, रातो पोते, हरियो छड्के तिलहरी र गरगहनाले भरिपूर्ण भएर गाडीभरि कोसेली बोकेर ज्वाइँ लिएर माइत आउँदा बहिनीको रुप एकोहोरो भएर हेरिरँहु जस्तो लाग्यो।

म त अवाक् भएँछु। कसैलाई केही भन्न सकिनँ। मैले नयाँ घरमा कस्तो भयो त अनुभव भनेर खुलेर केही सोध्न पनि सकिनँ। मनमा अनेकौँ कुराहरु खेले। साँच्चिकै म कान्छी छोरी भएर दिदी भिनाजु दुल्हन फर्काउन आएका भए? मैले कति जिस्काउँथे होला? दिदीको विवाहमा साली बनेर सोल्टीहरूसँग आँखा जुधाउन पाएको भए कति मज्जा हुन्थ्यो होला? तर, म त दिदी हुँ। मलाई त रमाईलो भन्दा अप्ठ्यारो मात्रै भइरह्यो।

यो अप्ठ्यारोपन बहिनी, ज्वाइँ र घरका मानिसहरुले चाल नपाउन् जस्तो लागिरह्यो। त्यसैले म घरी भित्र, घरी बाहिर गरिरहेँ। केही असर नपरेजस्तै आफैँलाई व्यस्त देखाउन खोजिरहेँ। मेरा हजुरबुवा, हजुरआमा, फुपूहरु, सानिमाका छोरीहरु, आफन्तहरु रमाइरहेका थिए । तर, मेरो विवाह नभएकै कारण म आफ्नै बहिनीको विवाहमा रमाउन सकिरहेकी थिइनँ। 

अब शुरु हुन लाग्यो ढोगभेट कार्यक्रम।

हजुरबुवा आइपरेका बेलामा पण्डित काम पनि गर्नुहुन्थ्यो। घरका मानिसहरुका अगाडि सामान्य पूजाविधि गरेर बहिनी र ज्वाइँले मलाई टीका लगाइदिए। अनि खाममा पैसा र उपहार पनि दिए। अन्ततः जेठी छोरी भएर शुरुमा विवाह नगरिकन बस्न खोज्दाको कर्तव्य पनि सकियो।

सुतिरहेका बेलामा बिहानै बोलाएर हजुरबुवाले मलाई धेरै नै उदाहरण दिँदै विवाह गरिहाल्न सल्लाह दिनुभयो। अब भने म आफ्नो भूमिका सकाएर मन हलुका बनाउँदै मोरङबाट काठमाडौ फर्किएँ।

विवाह के हो? कहिले गर्ने? कसका लागि गर्ने? विवाह नगर्दा के हुन्छ? विवाह गर्न मन नहुनु भनेको के असामाजिक हुनु हो? आफ्नो जीवन बिताउन कस्तो मान्छे सही छ भनेर स्वयम् विवाह गर्ने मान्छेलाई निश्चित हुनुपर्छ वा अरुका लागि विवाह गर्ने? कसले के सोच्ला भनेर किन विवाह गर्ने?

सोच्ने र अरुको हेर्ने दृष्टिकोण तपाईले जे गरे पनि उसको धारणा उसैसँग हुन्छ। तसर्थ, आफ्नो खुशीलाई प्राथमिकतामा राखौं। अरुको खुशीका लागि बिहे नगरौं। अरुले के भन्लान् भनेर चाँडो बिहे नगरौं। आफूलाई मन नभई–नभई विवाह गर्दा आफ्नो भविष्य र आफ्नो परिवारलाई जीवनभरि पार्ने असर विवाह नगर्दाको भन्दा अकल्पनीय मानसिक तनाव झेल्नुपर्ने खालको हुन सक्छ।

साउन ७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad