भूतपूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले आफ्नो जीवनकालको ठूलो कालखण्ड पञ्चायतको संरक्षण र गोडमेलमा बिताए। २०३७ सालमा बहुदल कि निर्दल भनेर जनमत संग्रह गरिरहँदा उनी प्रधानमन्त्री थिए।
निर्दललाई जिताउन सबै बलबुता लगाएर सफल पनि भए। २०४६ सालमा जनआन्दोलनबाट बहुदल आयो। त्यसपछि पनि थापा राजनीतिबाट पलायन भएनन्। बरु पुरातन एजेन्डा नै बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरे। चुनाव लडे। फेरि प्रधानमन्त्री भएर। तर राजतन्त्रको एजेन्डा त्यागेनन्।
२०६२/६३ को आन्दोलनले राजतन्त्रको जरो उखेलियो। २०६५ साल आजकै दिन गणतन्त्र आयो। त्यसपछि भने सूर्यबहादुर थापाले गणतन्त्रलाई स्वीकारे। कमल थापाले राजतन्त्रको वकालत गर्दै राप्रपा नेपाल गठन गर्दा सूर्यबहादुर थापाले परिवर्तनलाई स्वीकारेर गणतन्त्रको पक्षमा उभिनु उनको राजनीतिक जीवनको विशिष्ट क्षण थियो।
अहिले सूर्यबहादुर थापा बितिसकेका छन्। उनका छोरा सुनील बहादुर थापा नेपाली कांग्रेसको राजनीतिमा जोडिएका छन्। जुन पार्टीले गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको छ। सूर्यबहादुरको विरासत अब राजतन्त्र बोकेर हिँड्ने पक्षमा छैन। सूर्यबहादुरका नाति सिद्धार्थ थापा झन् कट्टर गणतन्त्रवादी भइसकेका छन्।
अर्को दृष्टान्तका रुपमा कमल थापालाई नै लिन सकिन्छ।
कमल थापा तीन महिना अघिसम्म कट्टर राजावादी थिए। २०६२/६३ को जनआन्दोलन हुँदा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले गृहमन्त्री बनाएर आन्दोलन दबाउन लगाएका थिए। गणतन्त्र स्थापनापछि पनि राजतन्त्रको एजेन्डालाई बलियो गरी समातेका थिए उनले। हरेक चुनावमा राजा फर्काउने एजेन्डा बोकेरै भोट मागे। तर, हालै पार्टीको महाधिवेशनमा राजाबाटै धोका पाएको भन्दै उनले राजतन्त्रको एजेन्डालाई सधैँका लागि त्याग गरिदिएका छन्। आफूले जीवनकालभरि बोकेको एजेन्डालाई तिलाञ्जली दिएर गणतन्त्रलाई स्वीकारेका छन्।
यी दुई नेपाली राजनीतिका पात्र मात्र होइन प्रवृत्ति हुन्। सूर्यबहादुर र कमल थापाले जस्तै धेरै राजनीतिककर्मीले राजतन्त्रभन्दा गणतन्त्र नै उत्तम व्यवस्था ठानेर आफूलाई यस व्यवस्थामा समाहित गरेका छन्। आज देशभर गणतन्त्र दिवस मनाइरहँदा देशमा फेरि राजतन्त्रतर्फ फर्किन सक्ने सम्भावनाको एउटा झिल्को पनि देखिँदैन।
अरु त अरु, स्वयम् पूर्व राजपरिवारले समेत गणतन्त्रलाई आत्मसात गरिसकेको छ। पूर्व राजपरिवारको पछिल्लो गतिविधि नियाल्दा उनीहरु गणतान्त्रिक व्यवस्थामै रमाउन थालेको प्रतीत हुन्छ।
पूर्वराजा ज्ञानेन्द्र स्वयम् क्लबमा गएर सर्वसाधारणसँग नाच्नुभएको देखिन्छ। राजतन्त्रकालमा यस्तो दृष्य सम्भव नै थिएन। पूर्व युवराज पारस शाह स्वतन्त्रताका साथ घुमफिर गरेर आफ्नै जीन्दगी बाँचिरहनुभएको छ। उहाँलाई फेरि राजतन्त्र फर्काएर देशको राजा बन्नु छैन।
पूर्वराजाका नातिनीहरू पूर्णिका र कृतिकाहरु टिकटकमा भाइरल छन्। उनीहरु आफूले पाएको स्वतन्त्रतामा खुसीसाथ जिइरहेका छन्। राजदरबारभित्रको बन्दी जीवनमा उनीहरु यसरी आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने थिएनन्। उनीहरुकी आमा हिमानीसमेत बेलाबखत टिकटकमा देखिने गर्छिन्।
यसरी सबैले स्वीकारिसकेको गणतन्त्रमा बेलाबखत प्रश्न उठाउन भने छोडिएको छैन।
हो, गणतन्त्रमा पनि जनता पूर्ण सन्तुष्ट हुन सकेका छैनन्। यही असन्तुष्टिलाई भजाएर फेरि राजतन्त्र फर्काउने सपना देखिरहेका छन् एकथरि राजावादी भनिनेहरू। उनीहरु बेलाबखत सडकमा केही मानिस उरालेर राजा आऊ देश बचाउको नारा लगाउँछन्। यस्तो नारा लगाएर राजतन्त्र फर्किँदैन भन्ने उनीहरुलाई थाहा छ।
कुनै पनि व्यवस्थाले सतप्रतिशत जनतालाई सन्तुष्टि दिन सक्दैन। त्यसको अर्थ व्यवस्था नै बदल्नुपर्छ भन्ने होइन। राजा आउ देश बचाउको नारा लगाउनेहरूले देशमा २४० वर्षसम्म कायम रहेको राजतन्त्रले देशलाई कति उचाइमा पुर्याएको थियो भनेर ठानेका छन् त? यदि राजा सफल भएको भए न पटक-पटक जनआन्दोलन हुन्थ्यो, न देशमा गणतन्त्र नै आउने थियो।
विगतमा दलहरू असफल हुनेबित्तिकै राजालाई विकल्पको रूपमा हेर्न थालियो। गणतन्त्र आएपछि पनि यो व्यवस्था भन्दा राजा नौ ठीक थिए भन्ने भाष्य यदाकदा सुनिन्छ। तर, पछिल्लो समय विशेषगरी स्थानीय तहको निर्वाचनपछि के देखिएको छ भने जनताले देशमा युवा शक्तिकाे नेतृत्व हेर्न चाहेका छन्। यदि जनताले राजा फर्काउन नै चाहेका भए राजतन्त्रको वकालत गर्ने पार्टी राप्रपालाई प्रशस्त भोट दिएर किन पहिलो शक्ति बनाएनन् त? किन कांग्रेस र एमालेलाई नै विश्वास गरे?
अहिलेकाे पुस्ता विकल्पका रूपमा राजतन्त्र हैन कि गणतन्त्रको विकल्प गणतन्त्र नै हुँदोरहेछ भन्ने विषयमा सहमत भएको देखियाे। बरू दलहरूको विकल्पमा स्वतन्त्र भए पनि खोज्ने तर पुरानो वंशानुगत प्रणालीतिर नफर्कने अहिलेको पुस्ताको भावना बुझिएको छ। यो सबैभन्दा ठुलो पाठ हो। हालै सम्पन्न भएको आसन्न स्थानीय तहको निर्वाचनले पनि यही देखायो।
स्वतन्त्र उम्मेदवारहरूलाई दिएको मतद्वारा दलप्रतिको असन्तुष्टि व्यक्त गरेको पाइयो। तर, राप्रपाले नेपालगन्जमा हार्यो, काठमाडौंमा पनि असाध्यै थोरै मत ल्यायो। उसले जनताको मन परिवर्तन गर्न सकेन। यसले स्पष्ट रूपमा के देखायो भन्दा मान्छेहरू दलप्रति असन्तुष्ट त छन् तर उनीहरुले दलको विकल्प राजावादीलाई खोजेनन्।
त्यसैले अहिलेको पुस्ता पूर्णरूपमा गणतन्त्रवादी हुँदै गइरहेको देखिन्छ।
सबैलाई गणतन्त्र दिवसको शुभकामना!
(लेखक सामाजिक अभियन्ता हुन् )
Shares
प्रतिक्रिया