दुबईमा डेजर्ट सफारीअघि एमाले–माओवादी छाडेर कमाउन आएका योद्धासँग यस्तो संवाद

दुबईमा डेजर्ट सफारीअघि एमाले–माओवादी छाडेर कमाउन आएका योद्धासँग यस्तो संवाद

दुबई डेजर्ट सफारीमा परिवारसहित कमल पौड्याल


कमल पौड्याल
कात्तिक २८, २०८१ बुधबार १६:४३, हङकङ

दुबई यात्रा–२

दुबई सहरमा सर्सती घुमफिरको एक बिहान झ्यालको पर्दा खोल्दा सारौँको जोडी बाहिर बाल्कोनीको डण्डीमा बसेको देखेँ।

आकाश धमिलो छ। वातावरण करिबकरिब स्वदेश वा हङकङको चैत–वैशाखको जस्तै तुवाँलोले ढाकेको  छ।

पर–पर आकाशमा कौवा र अरु चराहरू पनि उडिरहेका देखिन्थे। बाहिरको तापक्रम चालीस–पचास डिग्री सेल्सियस हुने अनुमान थियोे त्यो दिन।

पानी वा चारो खोजेका हुन् कि जस्तो लाग्यो। अलिकति कुकिज धुलो पारेर दिएँ, सँगै बटुकोमा पानी राखिदिएँ बाहिर टेबलमाथि।

मरुभूमिको त्यो वातावरणमा पनि हरेक जीवात्मालाई जीवन जिउने शक्ति दिएको छ प्रकृतिले। मानिसले भने पचास डिग्रीलाई बीस–बाइस वा सोभन्दा पनि कम वा माइनसमा झार्ने प्रविधिको विकास गरेको छ। 

अनि त्यही वातानुकूलित अपार्टमेन्ट, होटल, गाडी, बस, रेल र आधुनिक मल भन्ने अघोषित जेलको चौघेरामा रमाएको छ मान्छे। हाम्रो यो सुविधाभोगी जीवनले पृथ्वी ग्रहको वातावरण र अन्य जीवात्माहरूको जीवनशैलीलाई पर्ने असरबारे सचेतता त बढ्दै छ। तर पनि विलासी लिप्ततालाई छोड्न भने मुस्किल छ अझ नयाँ पुस्ताले। 

तल जमिनको फुस्रो माटोमा रुख रोप्दै र हरियो चउर सार्दै छन् दसबाह्रजना मजदुरहरू।

बिराज, काया र बेन्जु पनि बाहिर आए।  

‘बाउ के हेरेको?’ बिराजले सोधे।

‘ऊ हेर न, यस्तो मरुभूमिलाई हरियो पार्दैछन् मजदुरहरू,’ मैले भनेँ।

‘यो त केही होइन, अरु कति यस्ता ठाउँहरू छन्, जहाँको हरियाली हेर्दा यो ठाउँ पनि दुबई हो र भन्ने भान हुन्छ। हङकङ जस्तै छ। अझ तपाईंहरूले यसपालि संसारकै सबैभन्दा ठूलो मिराकल गार्डेन हेर्न पाउनुभएन। समरमा बन्द रहन्छ। म आएको बेला फुस्रो देखिने ठाउँ हरियालीमा परिवर्तन भैसक्यो,’ बिराजले भने।

‘ए साँच्ची! त्यो तल काम गर्ने त पाँचछजना नेपाली दाइहरू हुनुहुन्छ। वहाँहरू काम सकेर चिया खाँदै गफ गरेको सुन्छु। स्टोरी गर्ने भए भेट्न सकिन्छ,’ बिराजले प्रस्ताव राखे।

‘भनेपछि ए... बाउ आज यहीँ बसेर स्टोरी गरे भयो नि त, हामी चाहिँ घुमेर आउछौँ,’ पछाडिबाट कायाले व्यंग्यात्मक शैलीमा भनिन्।

‘ठूलो भएपछि बाउजत्तिकै लेख्न सक्नु नि, उडाउँछेस् बाउलाई! बाउको लेखमुनि कमेन्ट पढेकी छस् कहिल्यै? बाउले बेलामा दुःख नगरेको भए पाउँथिस् दुबई घुम्न,’ बेन्जुले भनिन्।

हाम्रो परिवारमा यस्तै व्यंग्यात्मक र ठेट भाषामा वार्तालाप हुन्छ अक्सर। बाको पालादेखि नै आइस्यो, गइस्यो, दर्शन, पाउ लागेँ भन्नेभन्दा अनौपचारिक सहजतामा रमाउँछौँ हामी।

उनीहरू गर्मी भयो भन्दै भित्र छिरे।

पाँचछजना नेपाली र अरु सायद दक्षिण एसियाली मूलका भाइहरूले काम गरेको हेर्दै गम खाएँ मैले केहीबेर।

स्वदेशमा गाउँको आफ्नो उर्बर खेतबारी सायद बाँझो होला। यो पैँतालीस डिग्रीको तापक्रममा अरुको देश हरियो बनाउन पसिना बगाउँदै छन् हाम्रा दाजुभाइहरू। मन अलि नरमाइलो भयो।

स्वदेशमै रोजगारी सिर्जनाभन्दा विदेशी मुलुकसँग श्रम सम्झौता र रेमिट्यान्समा गर्व र उपलब्धि मान्नेहरूकै शासन सत्ताको पालैपालो निरन्तरता भएपछि कसको के लाग्छ?

म पनि भित्र पसेँ। आजको आइटीनरीको सुरुवातमा सबैभन्दा पहिला बेन्जुलाई मनपर्ने चिया पिउन जाने भन्दै बाहिर निस्कियौँ हामी।

दुबई सहरभरि स्थानीय विदेशी पर्यटकहरूको रोजाइ ‘कडक चाय’ प्रसिद्ध रहेछ। जुमेराह टु भनिने यो एरिया ठ्याक्कै नेपालको झम्सिखेल जस्तो लाग्यो मलाई।

चिनी कम, बढी वा नहालेको पनि पाइने यो चिया लगभग मसला चियाजस्तै भए पनि बास्ना र स्वाद विशेष लाग्यो।

गाडीका ढोकाढोकामा पसिना पुछ्दै चियाका ट्रे र ई–पेमेन्टका यन्त्र बोक्नेमा बङ्लादेशी युवा बन्धुहरूको बाहुल्य रहेछ त्यहाँ। भाषाको लवजले अनुमान लगाएँ मैले।

ल अझ हरियाली हेर्ने त भन्दै बिराजले स्थानीय अमिराती धनाढ्यहरूको बस्तीको सेरोफेरो संक्षिप्त मोटर टुर गराए। हरिया रुख, चउर, पानीका फोहरा बँगैचा र पानीका तलाउले घेरिएका बङ्गलोहरूका मूलगेट भने खुलै हुँदो रहेछ यहाँ। हङकङकै स्टेन्ली, रिपल्स बे वा डिस्कभरी बेको झझल्को लाग्ने रहेछ।

यहाँ चाहिँ खासगरी कति धनाढ्य भन्ने घरको मूल प्रवेशद्वारको सेरोफेरो देखेर अनुमान लगाइने रहेछ। त्यसैले लगभग सबै भव्य बङ्लोबाहिरका मूलगेट खुला थिए।

संसारकै अपराध कम हुने सहरहरूमध्येको दुबई सहरमा अपराध गर्नहुन्न भन्ने सचेतताभन्दा पनि अपराधपछिको कडा कानुनले यस्ता मनोवृत्ति भएकाहरू पनि डराउने रहेछन्।

त्यसपछि बिराजले ल आज कायाको फेबरेट फुड स्वर्मा खानजाने तर एकदम पिरो ज्यानमारा डल्ले खुर्सानी हालेको मात्र हुन्छ भनेर बहिनीलाई जिस्काए।

ल...भन्दै काया मुसुमुसु हाँसिन्।

त्यसपछि हामी दुबई सिटी वाक भनिने ठाउँको स्वर्माको लागि चर्चित एउटा रेस्टुरेन्टमा पस्यौँ। साहुजी र कर्मचारी भाइसँग पनि चिनजान रहेछ बिराजको।

अरबी लवजको अंग्रेजीमा ‘योर कन्ट्री पिपुल लुक आफ्टर देम’ भन्दै काउन्टरका भाइतिर इसारा गरे होटलका साहुजीले।

‘दाइ सञ्चै हुनुहुन्छ? मेरो बा, आमा, बहिनी’ भन्दै परिचय गराए बिराजले।

‘तपाईंलाई त मेक्सिकन खुर्सानी हालेर हैन त? अनि अरु कसरी?’ काउन्टरका नेपाली भाइले बिराजलाई सोधे।

‘अर्को एउटा पनि मटनमा पिरै, दुईवटा चाहिँ चिकनमा नपिरो,’ बिराजले भने। 

‘अनि लास्टमा कडक चाय पनि है,’ बेन्जुले थपिन्।

बोलक्कड, प्रोफेसनल र हँसमुख लागे ती भाइ मलाई।

मसलामा मलेर स्टिलको डन्डीमा बेरिएका खासगरी मटन, चिकन वा बिफका मासुका लाप्साहरूको आकार गाउँका ठूलो थुन्से वा साना मकैका थाँक्रा जत्रै देखिन्छन। बिजुलीको तापक्रममा घुमाएर रोस्ट गरेर पकाइने यो परिकार आजकल अरब देशहरूको प्रमुख स्ट्रिट फुड मानिन्छ।

पातलो रोटीमा रोस्ट मासुसँगै इच्छा अनुसारका सस, सलाद वा पिरो, नपिरो स्वादमा पाइने यो डिस अठारौँ शताब्दीको अन्त्यतिर टर्कीमा उत्पत्ति भएको थियोे रे।

पछि अरबभर हुँदै एसिया, युरोप र संसारभरि फैलिएको यो परिकार एसियन र पश्चिमा परिकारको फ्युजन जस्तो लाग्छ मलाई चाहिँ। हङकङमा पनि यो लोकप्रिय छ।

मेक्सिकन खुर्सानीको मीठो पिरोमा सलाद र सस सहित रोटीमा बेरिएको नरम जुसी मटन स्वर्मा हङकङमा पाइनेभन्दा निकै स्वादिष्ट थियो।

फेरि चियासँगै ती काउन्टरका भाइसँग गफिने उत्सुकता आयो मलाई।

रेस्टुरेन्ट खासै व्यस्त थिएन। रेस्टुरेन्टका सबै ग्राहकतिर आँखा घुमाइरहेका साहुजी नजिकै गएर मैले भनेँ, ‘एक्सिलेन्ट फुड एन्ड एन्भायरमेन्ट!’

‘थ्याङ्क्यु सो मच माइ फ्रेन्ड, द्याट्स ह्वाइ योर सन ब्रिङ्स यु ह्यर,’ उनले भने।

‘यु आर नट सो बिजी, मे आइ ह्याभ च्याट विद आवर नेप्लिज ब्रदर फर फ्यु मिनेट?’ मैले अनुमति मागेँ।

‘स्योर, नो प्रोब्लम।’

कडक चियाको कप समातेर मैले भाइ नजिक उभिएर सोधेँ, ‘अनि भाइको नाम?’ 

‘दुईटा थियो। एउटा मात्र छ अहिले चाहिँ।’

म अकमकिएँ, कसरी?

उनले भने, ‘एउटा बाआमाले दिएको सर्टिफिकेट र पासपोर्टको, अर्को पण्डित कमरेडहरूले न्वारान गरेका।’

त्यति भनेपछि मैले कुरोको चुरो बुझिहालेँ।

‘अनि घर चाहिँ?’

‘पुर्ख्यौली चाहिँ तनहुँ अरे। बा पनि सानै छँदा हजुरबा बुटवलमा बसाइँ आको रे। म त जन्मेकै त्यहीँ।’

‘दुबई आएको कति वर्ष भयो त?’

‘यहाँ त दस वर्ष, बहराइन दुई वर्ष बसेँ पहिला। यो कम्पनीमा चाहिँ चार वर्ष भो।’

‘पढाइ त?’

‘ब्याचलर गर्दा गर्दै राजनीतिमा होमिइयो, आमूल परिवर्तन ल्याउन भनेर,’ खिसक्क व्यंग्यात्मक हाँसो हाँस्दै उनले भने।

‘कुन राजनीतिमा नि?’

‘पहिला विद्यार्थी कालमा एमाले, पछि माओवादीमा।’

‘अनि कस्तो आयो त परिवर्तन देशमा?’

‘आयो नि किन नआउनु। नेताहरूलाई, उनका छोराछोरी, आफन्त, इष्टमित्रहरू र पार्टीका नजिककाहरूलाई। एकपछि अर्को भ्रष्टाचार काण्ड खोलाखोल पोलापोल पढिन्छ क्यारे आजकाल त दिनदिनै अनलाइनमा। यो देशमा भए त शुक्रबार चौबाटोमा जिउँदै झुण्याउँथे। यहाँ राजाका जस्तै हाम्रा राजाका पनि बुद्धि भाको भए दुःखै पाउन्थेनन् कसैले,’ उनले बह पोखे, ‘राजादेखि नेतासम्म पावर र धनकै पछि लाग्ने स्वार्थी मात्र जन्मिए हाम्रो देशमा त। अलिअलि आशलाग्दा पनि अल्पायुमै मरे, मारिए।’

उनको अनुहारमा चरम निराशा र विगतको आफ्नो कर्मप्रतिको पश्चातापको भाव देखिन्थ्यो।

‘बन्दुक पनि चलाइयो भाइ?’ मैले सोधेँ।

‘चलाइयो भन्दा पनि हुन्छ, वसारपसार त्यो भन्दा झन् खतरा काम गरियो। सेनाले भेटेको भए ठाउँको ठाउँ पानी भन्न नि पाइन्थेन,’ उनले सुनाए, ‘धन्न मान्छे भने मारिएनन् यी हातले (दुवै हात उठाउँदै), त्यसैमा खुसी छु। नत्र बाँचुन्जेल पछुतो हुने रहेछ।’

स्वदेशका परिवर्तनका संवाहकहरू ज्वालामुखीबाट निक्लेको लाभा सेलाएजसरी जमेर चट्टानजस्तै भएका छन् विदेशी भूमिमा। जसलाई अब अरु पदार्थमा परिणत गर्न असम्भवप्रायः छ। मैले मनमनै गमेँ।

‘अनि भाइ, नेपालमा को को छन् त?’

‘बा, आमा, श्रीमती र एक छोरा। एकजना दाइ कुवेतमा। वहाँको पनि दुईवटा केटाकेटी अनि भाउजू नेपालमै।’

‘दाइ पनि तपाईंजस्तै पूर्वयोद्धा? मैले सोधेँ।

‘अँ वहा त अझै पहिला। म बरु पछिपछि।’

‘अनि यहाँ तलब सोध्न मिल्छ?’ 

‘किन नमिल्नु दाइ, एकलाख दस हजारजति हुन्छ।’

‘बस्न र अरु खर्च कटाएर सत्तरी, पचहत्तर हजारजति बच्छ,’ उनले भने।

‘अनि भाइ, घर चाहिँ कहिले कहिले जानुहुन्छ?’ मैले सोधेँ।

‘जान मन त सधैँ दसैँमै लाग्छ नि। के गर्नु, त्यै बेला प्लेन टिकटको भाउ अकासिन्छ। तीन वर्ष भो नगको। यसपालि दसैँमा भने जसरी नि जानपर्ला भन्ने सोचेको छु।’

‘ल भाइ शुभयात्रा, यस्तै हो। अब बाँकी जीवनमा सोचविचार गरेर कदम चाल्नुस्, बिताउनुस्। के भनौँ खै? ल शुभकामना’ भन्दै हात मिलाएर अनि साहुजीलाई पुनः धन्यवाद भन्दै बाहिरको बाटो ततायौँ।

‘अहम्दुल्ला (थ्याङ्क गड) सी यु नेक्स टाइम’ भन्दै रेडिमेड कारोबारी मर्यादा पालन गरे ती अरबी साहुजीले।

बिराज कामविशेषले तीन दिनको लागि दुबईबाहिर जाने थिए त्यो दिन।

‘आज डेजर्ट सफारी, भोलि दुबई कनाल टुर, डिनर इन्क्लुडेड। पर्सि तपाईंहरू आफैँ घुम्ने, निपर्सि त म आइहाल्छु’ भन्दै आइटिनरी कागजपत्र दिएर हामीलाई बासस्थानको गेटमा ओरालेर एअरपोर्टतिर लागे।

‘हामी डेजर्ट सफारीको गाडी कुर्न उभियौँ।

केहीछिनमै ट्राभल ऐजेन्सीको गाडी आइपुग्यो। चालक पाकिस्तानी मूलका हुनुपर्छ भन्ने लाग्यो मलाई।

‘अस सलाम वालैकुम भाइजान!’ गाडीमा बस्दै मैले भनेँ।

‘वालैकुम अस सलाम, तसरिफ रख्खिए, मै अब्दुल हुसैन’ उनले परिचय दिए र सोधे, ‘जनाब आप लोग कहाँ से हो?’

‘हम लोग नेपाल से। मेरी वाइफ, बेटी और हमारा बेटा तो यहीँ रहता है आज नहीँ आ पाया। हङकङमे रहते है हम लोग काफी साल से,’ मैले भनेँ।

‘लेकिन आप लोग तो बिल्कुल इन्डियन जैसे लगते हो।’

हम उनके जैसे नहीँ, इन्डियन लोग बिलकुल हमारे जैसे लगते हैँ,’ मैले हाँस्दै भनेँ।

उनी पनि हाँसे।

कितने साल से रह रहे हो आप इधर?’ मैले सोधेँ।

‘सरजी करिबन हो गया चौबीस साल।’

‘और परिवार इधर ही है?’

‘नहीँ साहब, पाकिस्तान मे हैँ, अब्बुजान, अम्मीजान, दो बेटे और बिबी। इधर बच्चे की पढाइ और रहना महँगाइ की बजह से मुस्किल है। अब्बु और अम्मीजानका भी ख्याल रखना पडेगा। बस आनाजाना रहता है,’ उनले भने।

वार्तालापसँगै गाडी आठ लेनको बिजनेस बे मरासी ड्राइभको फन्को मारेर दुबई कनालको पुल पार गर्दै सेख जाइद रोडलाई छाडेर मरुभूमि जाने राजमार्गतिर सोझियो।

दायाँबायाँ फाट्टफुट्ट फुस्रा रुखका पोथ्राहरू ससाना अरबी गाउँपछाडि तरेली परेको मरुभूमिको पहाड देखिन थाल्यो।

अगाडि–पछाडि, दायाँ–बायाँ मिनिबसजत्रा ल्यान्डक्रुजर, निसान, मर्सिडिज, जिपको लावालस्कर प्रतिघन्टा १३०/४० को गतिमा हुँइकिएका छन्।

‘भाइजान ए सब लोग वहीँ जा रहे हैँ क्या?’ मैले सोधेँ।

‘हाँ जी, यह तो कुछ भी नहीँ है, नवम्बरसे लेकर अप्रैल तक तो बहुत बढी ट्राफिक भिड होती है। मेरा तो सालभर ही रोज आनाजाना रहता है,’ उनले भने।

अलि अगाडि देब्रेतिर निकै ठूलो फुस्रो ढुङ्गे पहाड देखियो।

अरे इधर भी तो बडा पहाड है,’ मैले देखाउँदै सोधेँ।

‘ओ अच्छा, यह तो यूएई के दुसरी मुलुक ‘फजैराहकी’ है। बिल्कुल पत्थर से बनी हुई,’ उनले भने, ‘वह जगह यहाँ से कम गर्म है और बारिस भी होती है उधर।’

ग्लोबल वार्मिङले यसरी नै निरन्तर भएमा हाम्रा हिमालयहरू पनि यस्तै फुस्रे ढुङ्गे पहाड हुनेछन् कुनै दिन, मनमनै सोचेँ मैले।

ठाउँठाउँमा दुबईका राजा र राजपरिवारका ठुल्ठूला होर्डिङ बोर्डमा तस्बिर सहितको अरबी स्लोगन देखाउँदै मैले जान्न चाहेँ।

‘ब्रदर, यह अमिराती लोग बहुत पसन्द करते है क्या अपना हुकुमत का?’

‘अरे साहब, पुछो मत। इस मुल्क की दिन दोगुना रात चौगुना तरक्की यिन्ही के वजह से हुई है। अपने मुलुक और अवाम की बहुत हिफाजत करते हैँ यह लोग। अल्लाह हर मुलुकको ऐसे ही हुकुमत दे दे।’ उनले भने, ‘हमारे आपके मुलुक कितने सुन्दर हैँ। लेकिन सब रिस्वतखोर के वजह से डुब गया। सारे के सारे चोर हैँ। कुछ अच्छा होनेवाला भी नहीँ।’

मनमनै गमेँ– नेपाली मात्रै हैन विदेशीलाई समेत हाम्रो देशको बारेमा हुबहु थाहा छ गाँठे।

मैले सोधेँ, ‘हमारे मुल्क के बारे मे भी आपको इतना कुछ कैसे पता?’

‘सर जी, मै भी पढा लिखा हुँ। शिक्षक था अपने मुल्क मे और इधर बहुत सारे नेपाली दोस्त है मेरे, जहाँ मै रहता हुँ। आपस मे बात होती रहती है। रोजाना खबर देखता हुँ।’

करिब पैँतालीस डिग्री तापक्रमको धीपधीप बलेको कालो पिचमा गाडी दौडाउँदै उनले यी कुरा भनिरहँदा उनको मुहारमा देशका शासकहरूप्रति असन्तुष्टि र भविष्यप्रति चरम निराशा देखिन्थ्यो।

उनले थपे, ‘परवेज मुसर्रफ साहब फौजी थे लेकिन हमारे मुल्कका सही तरक्कीका सुरुआत किया था उन्होने। अमेरिका और चीन के हुकुमत से बराबर तवाजुन (सम्बन्ध) था वह समय। अर्थतन्त्र अच्छे होने लगी थी। ओ टिक नहीँ पाए। पिछली बार इमरान खान साहब भी बिलकुल सही थे। पुरे दुनियाँ के अवाम जानते थे उनको। हमारे फौजी लोग और विदेशी हुकुमत ने मिलकर उनका भी पत्तासाफ कर दिया। फिर वही रिस्वतखोर लोगोँ की हालिमुहाली हो गई है।’

‘आप के मुल्क मे दो तो अच्छे निकले, लेकिन हमारे मे तो वो दो भी नहीँ है,’ मैले भनेँ।

‘आपका मुलुक मे भी अपने ही महलके अन्दर पुरे शाही परिवारका खुनखराबा के वाद और बुरी दिन सुरु हो गए। यह वही लोगोँ ने करवाया है जिसने हमारे जिया उल हक साहब और दस जनरलको बम से उडा दिया था। बेनजीर साहिबाको किसने मारा? क्युँ कोइ अतापता नही अभी तक? जबकि उनके पति जर्दारी और बेटा बिलावल भुट्टो भी हुकुमत मे रहे चुके हैँ। बहुत गन्दी चिज है यह राजनीति।’

उनले थपे, ‘मोदी देखने मे साधु अन्दर से बिल्कुल फर्क। और यह आदमी इन्डिया के अलावा पुरे दुनियाँके सियासत घुमानेका चाल चल रहा है। आप के मुल्क मे जब नाकाबन्दी करदिया था तो नेपाली भाइजान रो रहे थे इधर। आपके मुल्क मे भी अपना हुकुमत डालना चाहता है मोदी। अरे हिन्दुस्तानमे कितनी बडी आवादी है मुसलमानोँ की, यिनको देखा कभी मस्जिद के अन्दरबाहर करते हुए?’

दक्षिण एसियाको मात्र होइन, विश्वकै सरसर्ती समीक्षा पो गरे उनले। गाडीको स्टेयरिङ समाउँदै जर्ज बुसदेखि जो बाइडेन, टोनी ब्लेयरदेखि ऋषि सुनाक, इजरायलका बेन्यामिन नेतन्याहुदेखि स्वदेशकै जुल्फिकर अली भुट्टो र सरिफ खानदानसम्मका प्रसंगमा बहकिए बाटाभरि। 

उनी पथप्रदर्शक कम रमाइला राजनीतिक विश्लेषक ज्यादा लागे मलाई।

करिब डेढ घण्टाको मोटर यात्राको चाखलाग्दो वार्तालापपछि डेजर्ट सफारीको मूलगेटमा ओर्लियौँ हामी।

‘अब यह सफारी का मूल गेट खुलने मे पौने घण्टा बाकी है। मेरा भी नमाजका टाइम हो गया। आप लोग थोडा घुमफिर करिए, फिर यहीँ मिलेँगे’ भन्दै उनी प्रार्थना कोठातिर लागे।

प्रवेशद्वारको दायाँबायाँ विभिन्न देशका पर्यटकहरूको बाक्लो चहलपहल छ। अरबी पहिरन उपहार किन्नदेखि सिक्रीले बाँधेको बाजसँग तस्बिर खिचाउने र खिच्नेहरू व्यस्त देखिन्छन्। ड्राइभिङमा सोख भएकाहरू चारपांग्रे मोटरसाइकल दौडाएर धुलो उडाउन लागेका छन्।

कोही पालैपालो उँटमा चढ्दै, हिँडाउँदै फोटो, भिडिओमा रमाउँदै छन्।

४० डिग्रीको तापक्रममा बसिरहेको जनावरलाई उठाएर चढेर हिँडाएर सेल्फी खिच्नुभन्दा उसको टाउको, जिउ मुसारेर उँटसँगको सामीप्य महसुस गर्‍यौँ हामीले चाहिँ।

उखु र थरीथरीका फलफूलका जुस र अरबी स्न्याक्सका पसलेहरूको मिठो लवजमा ग्राहक बोलाउने तरिका सुन्दा आनन्द आयो।

उखुको जुसको स्वाद र बास्नाले भने मलाई धादिङ केबलपुरको बाल्यकालको उखुबारी, कोल, जोडी गोरु, रसेटो, खुदो र सख्खरको सम्झनामा पुर्‍यायो पिउञ्जेल।

चालीस–पचास डिग्रीको तापक्रममा यो चहलपहल छ भने सिजनमा कस्तो होला यहाँको पर्यटन व्यवसाय? बीबीसी, सीएनएन, अलजजिरादेखि संसारका कहलिएका टेलिभिजन च्यानलको प्राइम टाइममा यो देशको प्रचारप्रसार देखिन्छ। संसारकै चर्चित भ्लगरहरूलाई निम्त्याएर बनाइएको दुबईमा घुम्नै पर्ने ठाउँहरूको भिडिओ दिनरात हेरे पनि सकिन्न।

दुबईको फुड, प्रपर्टी र धनाढ्य जीवनशैलीबारे भिडियो बनाउने भ्लगरहरको घुइँचो हुन्छ यहाँ। हङकङका तारे होटलमा दुबई प्रपर्टीको बारेमा हरेक दुईतीन महिनामा मेला लगाउँछन् यो देशका महावाणिज्यदूतावास र प्रपर्टी व्यवसायीहरूले।

सधैँ अझै सेवा सुविधाको उन्नति मूल ध्येय रहेछ उनीहरूको। बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेको यही हो।

एउटै मन्त्र– देशलाई माया गर्ने, देश पहिला भन्ने र गर्ने इमानदार शासक हुनुपर्ने रहेछ बस्।

यिनै गन्थन गर्दै हामी पार्किङतिर सोझियौँ। अब्दुल भाइ आइसकेका रहेछन्। सबै गाडीका लावालस्कर मूलगेटबाट दाहिनेतिर उकालो लाग्दा बिहेका जन्तीझैँ लाग्थ्यो। सबभन्दा अगाडिको गाडीमा एउटा नरसिंगा र बीचमा दुलाहा दुलहीको डोली थिएन बस्।

गाडीको स्क्रिनमा गीत सर्च गर्दै अब्दुल भाइले सोधे, ‘जनाब, हिन्दी, नेपाली, पञ्जाबी कौन सा गाना लगाऊँ?’

‘गीत संगीतका कोई भाषा, सिमाना नही होता है अब्दुल भाइ। हम लोग तो सब समझते हैँ। आपका पसन्दका लगाइए बस्,’ मैले भनेँ।

मीठो पञ्जाबी धुन र गानासँगै मरुभूमिको धुले उकालोमा गाडी ढलपल ढलपल गर्दै अगाडि बढ्यो।

गाडी कहिले फाइटर जेटले नोज ल्यान्डिङ गरेझैँ त कहिले टेकअफ गरेजसरी, कहिले बारीका कान्लामा गुडाएजस्तो कहिल्यै गाडीमा चढ्दा नभएको अनुभव भयो। सिट बेल्ट नै चुँडिएला जस्तो लाग्ने रहेछ। करिब पौने घण्टाको अद्भूत यात्रापछि लगभग सबै चालकहरूले आ–आफ्ना पर्यटक यात्रीहरूलाई यो मरुभूमिको अग्लोभन्दा अग्लो थुम्कामा पुर्‍याएर सूर्यास्तको दृश्य देखाउन तँछाडमछाड गर्दा रहेछन्।

एउटा मरुभूमिको थुम्कोमा हामी गाडीबाट ओर्लिएर पृथ्वी ग्रहले दिएको अर्को एउटा प्राकृतिक चमत्कार, उपहारलाई स्पर्श गर्‍यौँ

कडा हावाको झोँक्काबीच अस्ताउन लागेको सूर्यको किरणले सुनौला बालुवाका थुम्काहरू सुनझैँ चम्किरहेका देखिन्थे।

जताततै प्रकृति नै प्रकृतिबाहेक केही छैन। नब्बे किलोमिटर टाढाटाढाबाट समेत देखिने भनिएको बुर्ज खलिफाको टुप्पी पनि देखिएन। सायद प्रदुषण वा तुवाँलोले पनि हुनसक्छ। यस्तो लाग्यो हामीले पृथ्वीमा हैन, चन्द्रमामा पाइला टेकेका छौँ।

‘केही बेरको फोटोसेसनपछि फर्किने सुरसार भयो। कुनै जीपीएस वा ट्राफिक साइनबिना नै कसरी गाडीहरू यति टाढाटाढा घुमेर फर्किन्छन्, बाटो बिरियो भने?’ मैले अब्दुल भाइलाई प्रश्न गरेँ।

‘जनाव यहाँ तो तेज हावाके बजह से मिनेटमिनेट मे रास्ता मिट जाता है। बस् अपनी एक्सपेरियन्स के हिसाब से चल्ते हैँ हम सब लोग,’ उनले भने।

अब हामी फेरि उही धुलाम्मे उकालीओराली पार गर्दै उही मूलगेट हुँदै करिब एक घण्टामा डेजर्ट सफारीको अर्को विशेष आकर्षण स्थल अरबी सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज गर्ने स्थानमा आइपुग्यौँ।

करिबकरिब चलचित्र सुटिङको सेटझैँ भव्य लाग्यो प्रवेशद्वार र यो स्थान।

करिब दुईतीनसय जनाको लागि मेडिटेरियन, वेस्टर्न र इन्डियन खानाका बफे परिकार र चिसो पेय पदार्थ तयार थिए। मादक पदार्थ सेवन गर्न चाहनेले भने स्वयंले नगद तिरेर किन्न पाइने दर्जनौँ भेराइटी थियोे।

हामीबाहेक अरु दुईवटा नेपाली पर्यटक समूह पनि रहेछन्।

हरेक दिन पर्यटक संख्या अनुसार खाना बाहिरबाट क्याटरिङ गरिने रहेछ।

त्यहीँ पनि बनाइने खानामा पाकिस्तान शासित कास्मिरका इकवाल कबाब सेकाउँदै थिए। गढवाली मूलका भारतीय युवा धवन्तर असिनपसिन हुँदै तन्दुरमा नान रोटी पकाउन व्यस्त थिए। एकजना नेपाली भाइलाई पास्ता बनाउन भ्याइनभ्याइ थियो।

ओठ निचोरे पनि दूध आउँछजस्तो लाग्ने अर्का नेपाली युवा खड्करोबाट चिम्टाले च्यापेर किङ प्राउन पस्कँदै थिए।

मुख्य सेफ बङ्लादेशी मूलका रहेछन्। मैले हात मिलाउँदै बंगालीमै ‘म नेपालबाट। खाना एकदम मीठो छ है बन्धु’ भन्दा एकदम खुसी भए उनी।

फ्लोरमा फिलिपिना र अरु मिसमास कर्मचारी देखिन्थे।

बेलुकीको पैँतीस डिग्री तापक्रममा हामीलाई रमाइलो भए पनि आगोवरिपरि काम गर्नेहरूलाई भने सजिलो थिएन।

अधिकांश एसियाली कर्मचारीहरूसँगको संवादले अपनत्व महसुस भयो। 

थरीथरीका अमिराती सांस्कृतिक नृत्यहरू हेरियो। फायर डान्स भने अद्भूत थियो। बेली डान्स हङकङमा हेरिएको भए पनि विशेष थियो यहाँको।

बेली डान्स हुँदै गर्दा केही दक्षिण एसियाली टेबलबाट दुइटा औँला ओठभित्र राखेर सुई सुई सुसेलेको सुनेर अन्य पर्यटक अचम्मित देखिन्थे।

कबाबसँगै तात्तातो नान पर्खिरहेका एकजना युवाले कर्मचारी भाइसँग नेपालीमा कुरा गरेको सुनेर मैले परिचय दिँदै हात मिलाएँ।

स्याङ्जा पुर्ख्यौली थातथलो भएका प्रकाश गौडेल दुबईमै पर्यटन व्यवसायमा जम्दै रहेछन्।

‘हरेक दिन डेजर्ट सफारी र अन्य धेरै टुर हुन्छ हाम्रोबाट। आज पनि एउटा नेपाली ग्रूप छ, हिजो अभिनेता पल शाह सहितको टोली थियोे’ भन्दै तस्बिर देखाए उनले। 

दुबईमा कामदारदेखि व्यावसायिक स्वरोजगारमा जम्दै गरेका नेपालीहरूबारे संक्षिप्तमा बताए उनले।

‘ल है, अर्कोपटक आउँदा हामीलाई पनि सेवा गर्ने मौका दिनुहोस्’ भन्दै कार्ड दिएर बिदा भए उनी।

खानपिन र सांस्कृतिक कार्यक्रम समापनपछि फर्किने वाहनहरूको लस्कर दुबई सहरतिर सोझियो। 

पुनः शेख जाइद रोडमा मिसिएर ठीक बिहानै भेटेको घरमुनि सुरक्षित साथ ल्याइपुर्‍याए अब्दुल भाइले हामीलाई।

टिप्ससहित धन्यवाद भन्दै हात मिलाउन लाग्दा उनले बस् हात मिलाएँगे भन्दै लिन मानेनन्।

मैले भनेँ, ‘देखो अब्दुल भाइ, आपसे मिल के बहुत अच्छा लगा, हम लोग दोस्त हो गए अब। मेरा मातापिता तो नहीँ है इस दुनियाँ मे। यह छोटा सा भेँट आपका अब्बुजान अम्मीजानके लिए, मिठाइ और बिबीबच्चेके लिए चकलेट बस्।’ 

उनी अलि भावुक भएर समाते। खुदाहाफिज भन्दै बाटा लागे।

उनको गाडीलाई आँखाले देखुञ्जेल हेरेँ मैले।

अनि मनमनै सोचेँ, यहाँ देश र परिवारलाई मनमुटुमा राखेर भविष्य खोज्ने लाखौँलाख प्रत्येक आप्रवासीहरूको आ–आफ्नो कारुणिक कथाव्यथा छ। जसका जीवनबाट यो जुनीमा फ्यामिली लाइफ वा टाइमको शब्द नै मेटिएको छ। 

दिनभरिको थकाइले मीठो निद्रापछि बिहान उठेर फेरि बाहिर हेर्न मनलाग्यो मलाई।

चराहरूले बरन्डाको कुकिज खाए पनि पानी भने जतिको त्यति थियो। बरु तल स्विमिङ पुलको पानी वरिपरि चराहरू सल्लाह गरेजस्तै कराउँदै थिए।

बिहानैदेखि तल रुख रोप्ने र चउर सार्ने काम सुरु भइसकेको रहेछ।

आज त मजदुरहरू पनि अझै थपिएकाझैँ लाग्यो। दुबईको फुस्रो जमिनलाई हरियालीले छोपेको सिमाना हिजोभन्दा अझै फराकिलो भएको देखियो।

झलक्क स्वदेशमा असारे धानको ब्याड, रोपाइँ अनि साउन–भदौमा कोदोको ब्याड र सुकेको मकैबारीभित्र कोदो रोपेको हेर्दा जस्तो अनुभूति भयो।   

अनि हङकङको आकाशमुनि बसेर दुबईको सम्झनाको लेखको बिट मार्दै गर्दा कविवर अर्जुन पराजुलीको हस्तलिखित कवितांश गुनगुनाएँ अन्तमा मैले :

केही वर्षपछि मेरो देशमा–
सटर हुनेछन् ,पसल हुनेछैनन्
जमिन हुनेछ, फसल हुनेछैनन्
अस्पताल हुनेछ, नर्स हुनेछैनन्।

गोठ हुनेछन्, भैँसी गाई हुनेछैनन्।
भाइटीका हुनेछ, दिदीबहिनी र दाजुभाइ हुनेछैनन्।

केही वर्षपछि मेरो देशमा–
सिँदुर,पोते र चुरा हुनेछन् 
लाउने सिउँदो, गला र नाडी हुनेछैनन्!

चौतारो हुनेछ, भारी बिसाउने कोही हुनेछैनन्
वनपाखा हुनेछन्, भाका मिसाउने कोही हुनेछैनन्।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .