दुबई यात्रा–१
कोभिडको कहरभरि र पछिसम्म सुनसान हङकङ वा संसारकै विमानस्थल र हवाइजहाजहरूको व्यस्तता निकै बढेको छ पछिल्लो समय।
हङकङ एअरपोर्टमा ९/१० वटै वायुयानहरू उड्नका लागि लामबद्ध भएर धावनमार्गमा पालो कुर्दैछन्। तेस्रो रनवेमा क्यासल पिकको आकाशमार्ग हुँदै मिनेट–मिनेटमा जहाज अवतरण गर्दै छन्।
यसरी विमानस्थलको चहलपहल कोभिड पहिलाजस्तै सामान्य हुन थालेको अनुभूति हुन्छ पछिल्लो समय।
तर पनि हङकङ हवाइ सेवा विभागका प्रवक्ताका अनुसार सन् २०२४ को मध्यान्तरमा आइपुग्दा पनि यात्रुहरूको दैनिक चाप भने कोभिड पहिलाको बराबरी पुगेको छैन। जसको लागि अझै सन् २०२५ को पहिलो त्रैमासिकसम्म पर्खिनु पर्ने हुन्छ।
कोभिड र त्यसपछिका वर्षमा ठूलो नोक्सान बेहोरेको हङकङको क्याथे प्यासिफिक वायुसेवाले यो वर्षको मध्यान्तरसम्म आइपुग्दा उल्लेख्य नाफाको जानकारी सार्वजनिक गरेपछि यसको सेयरको मूल्य उकालो लागेको छ। तर लो बजेट भनिने यसको भगिनी एअरलाइन्स हङकङ एक्सप्रेस भने अझै घाटामै छ।
छोरा बिराजको आग्रह र सम्पूर्ण प्रायोजनमा यसपालिको पारिवारिक छुट्टीको गन्तव्य दुबईलाई बनाउने सोच बनाएका थियौँ हामीले।
हङकङ र बहामासको उतारचढावको अनुभवपछि करिब एक वर्षदेखि दुबईको विद्युतीय वित्तीय बजारमा रोजगारदेखि स्वरोजगार उन्मुख छोराको उन्नति–प्रगति स्वभावतः हाम्रो लागि अति नै खुसी र हर्षको विषय थियोे।
पारिवारिक भिडिओवार्तामा छोराले भिसा र हवाइ टिकट ईमेलमा पठाएको छु भन्नेबित्तिकै मैले प्रश्न गरेँ– कुन एअरलाइन्स?
‘एमिरेट्स,’ छोराले भने।
‘ए ल गज्जब। एअरबस ३८० कि कुनचाहिँ?’ मैले पुनः प्रश्न गरेँ।
‘आ तपाईं पनि, छोराले त्यत्रो खर्च गरेर टिकट–भिसा पठाएको छ। अब तपाईंलाई प्लेन पनि रोजीछाडी?’ बेन्जुले भनिन्।
‘हैन हैन, एअरबस ३८० भए झन् गज्जब भनेको पो त। मलाई त्यो चढ्ने संयोग जुरेको छैन अझै,’ मैले भनेँ।
हङकङमा कमै अवतरण र उडान गर्ने यो अहिलेसम्मकै सबैभन्दा ठूलो यात्रुवाहक हवाइजहाज आउँदाजाँदा म बासस्थानको झ्यालबाट चाखपूर्वक हेर्ने गर्छु।
‘हैन बाउ, यो त बोइङ ट्रिपल सेभेन हो। बरु कहिलेकाहीँ यात्रु धेरै भए ३८० पनि पठाउन सक्छ,’ बिराजले भने।
ल ठीक छ भन्दै म जीवन यात्राका धेरै पुराना दिनहरू सम्झँदै आफ्नै अतीतमा हराउन पुगेँ केहीबेर।
हुन त कतिपय मानिसहरू जब धनधान्यसम्पन्न हुन्छन्, अतीतलाइ बिर्सन्छन्। या नबिर्से पनि धक फुकाएर भन्न चाहँदैनन्। आआफ्नो स्वभाव हो। तर मलाई चाहिँ अतीतमा डुबेर वर्तमानमा रमाउनु असाध्यै रमाइलो लाग्छ।
हवाइजहाजलाई हावजात र हेलिकप्टरलाई भटभटे भनिने युगमा जन्मिएको म।
यन्त्रको नाममा दम दिएर चल्ने बाको स्विस हाते घडी र स्पिडोला नामको ६ वटा ब्याट्री लाग्ने रसियन रेडियो मैले अलि बुझ्ने भएपछि थाहा पाएको। अझ कति पछिसम्म रेडियोभित्र ससाना मान्छे हुन्छन् र उनीहरूले नै बोल्ने, गाउने, बजाउने गर्छन् भन्ने लाग्थ्यो।
स्कुल जाँदा धादिङ केवलपुर डाँडाको तेर्सो मूलबाटोबाट तल महेश खोलाको किनारको नौबिसे–पोखरा पृथ्वी राजमार्गमा अब कताबाट गाडी आउँछ? बस कि ट्रक? भन्दै बाजी थापिन्थ्यो।
पहिलोपटक काठमाडौँ जान आमाले धार्केमा बस चढाउन लाग्दा डराएर भागेको सम्झना ताजै छ।
पुराना संस्मरणमा पनि उल्लेख गरेजस्तै काठमाडौँबाट पश्चिम नेपाल वा अरु देश जाने र आउने थरीथरीका साना ठूला जहाजहरू ठूलो आवाजसँगै अलि तलबाट आयो गयो भने हावजात आयो भन्दै खाँदाखाँदैको जुठो हात चाट्दै आँगनमा उभिएर आकाशतिर हेर्थ्यौँ छर छिमेकका साथीहरूसँगै।
हेलिकप्टर आउँदा भटभटे आयो भन्दै नागार्जुनदेखि गोगनपानीको थुम्कोसम्म देखिन्जेल आँखा र मनले पछ्याउँथ्यौँ।
हवाइजहाजलाई मैले धेरै नजिकैबाट सायद नौ वर्षको उमेरमा पहिलोपटक देखेको थिएँ।
म बासँग गाउँबाट काठमाडौँ सहर आएको थिएँ। बा नास्तिक हुनुभएकोले मठ मन्दिरहरू दर्शन पूजाआाजाभन्दा छाउनीको पुरातात्त्विक संग्रहालय, स्वयम्भू, जावलाखेलको सदर चिडियाखाना र हनुमानढोकाको सेरोफेरो मलाई डोर्याएर घुमाउनु भयो।
हामी चाबहिल देवपाटन स्थित बाका दौँतरी कृष्णप्रसाद ‘सर्वहारा’को घरमा पाहुना बसेका थियौँ। सिद्धान्त र विचारको हिसाबले उनी तुलसीलाल अमात्य समूहसँग नजिक भएकोले रसियन कम्युनिस्ट भन्थे अरुले। ब्राह्मण कुलमा जन्मिए पनि जातपात नमान्ने र जनै लगाउँदैनथे। बाको हलोक्रान्ति र प्रगतिशील साहित्य सिर्जनशीलताले गर्दा बालाई यी काकालगायत माले, मसाले, बन्दुके सबैले माया सम्मान गर्थे।
यी काकाले मलाई सोधेका समान्यज्ञानका प्रश्नहरू मिलाएपछि राजा वीरेन्द्रको टाउको भएको एकरूपैयाँको नोट हातमा दिँदा म कति खुसी भएथेँ त्यो दिन। त्यो समयमा पाँचदस पैसा वा सुका मोहोरमै रमाउने मेरो लागि त्यो रकम सबैभन्दा ठूलो थियोे। करिब २०३१ सालतिरको कुरा हो यो।
एकदिन बिहान बा, यिनै सर्वहारा काका र अर्का एकजना षडानन्द शर्मा भन्ने काकाले मलाई प्लेन देखाउन लाने भनेर घरबाट निस्कियौँ।
गौशाला चोकमा जेरी स्वारी, आलु केराउको लेदो तरकारी अनि काँचको पाटे ग्लासमा चियाको स्वाद पाँच दशकपछि पनि भुलेको छैन।
एअरपोर्टलाई बोलीचालीमा गौचरन भनिन्थ्यो त्यो बेला। अहिलेजस्तो कडा सुरक्षा व्यवस्था थिएन।
चौरको काँडेतारबाहिर उभिएर एउटा मझौला र अर्को सानो प्लेन उडेको पहिलोपटक देखेर म चकित भएथेँ त्यो बेला।
अर्को एउटा हरियो रङको जहाज मर्मत हुँदै थियो। ‘सर्वहारा’ काकाले बच्चाले प्लेन हेर्ने रहर गर्यो भनेर अनुरोध गरेपछि नजिकै गएर हेर्ने अनुमति पाउँदा म झनै खुसी भएँ। त्यसका पंखा चुच्चो नभएर काटिएको सिधा थियोे। पछि बुझ्दा शाही नेपाली सेनाको मालवाहक जहाज रहेछ त्यो।
जहाजको पांग्रा उडान अवतरणमा निकाल्ने अनि उड्दा भित्र हाल्ने भन्ने सुन्दा मेरो बालदिमाग निकै घुम्यो त्यो बेला।
यही ठाउँमा सात सालमा त्रिभुवन दिल्लीबाट आएर ओर्लेको जहाज नै पहिलोपटक देख्नुभएको थियोे रे बाले पनि।
गाउँ फर्केपछि के चाहियो? गौचरनमा बसेको हावजातलाई नजिकै पुगेर हेरी आएको भनेपछि बालसाथीहरूले प्रश्न गरेर घेर्थे मलाई।
एक्काइस वर्षको उमेरमा पहिलोपटक शाही नेपाल वायुसेवाको बोइङ चढेर ढाकाबाट काठमाडौँ जाँदाको जीवनकहानी अर्कै थियो।
अनि चौबीस वर्षको उमेरमा उही शाही नेपाल वायुसेवा निगमको बोइङले काठमाडौँमा उकालेर हङकङमा ओरालेको पैतीस वर्ष बितिसकेछ।
त्यही म आज छोरालाई टिकटसँगै प्लेनको मोडल नम्बर समेत सोध्ने भएछु। वास्तवमा साँच्चिकै अद्भूत रमाइलो लाग्छ मलाई मेरो जीवन।
जे होस्, साँझको फ्लाइट भएकोले फुर्सदमा सबै सामान प्याक गरेर हङकङ एअरपोर्ट पुगियो। निकै लामो लाइनमा सबै जाँचपास गराइसकेपछि ढोका नम्बर त्रिसट्ठीको प्रतिक्षालयमा सुस्तायौँ केहीबेर। नजिकै टाउको जोडेर उभिएको एमिरेट्स वायुसेवाको बोइङ प्राविधिक जाँच, इन्धन भर्न र पेटमा हाम्रा झिटीगुन्टाहरू मिलाएर राख्नमा व्यस्त देखिन्थ्यो।
जहाजका क्याप्टेन र पाइलटहरूसँगै चिटिक्क परेका लर्के सुन्दरी परिचारिकाहरूको समूह जहाजतिर लागेको केही समयपछि हाम्रो पनि जहाजभित्र जाने पालो आयो। समायान्तरपछि एमिरेट्समा फेरि पाइला राख्यौँ हामीले।
झम्के साँझमा बोइङ ट्रिपल सेभेनका चौधवटा पांग्राहरूले पालैपालो हङकङको भुइँ छाडे। जहाज क्यासल पिक, ताइमोसन, लायन रक पहाडलाई देब्रे पार्दै मुख्य हङकङ द्वीपको टोलो हार्बर चाइवान र स्टेन्ली हुँदै दक्षिण चीन सागर माथिबाट बत्तीस हजार फिटको उचाइ लिएर सिधै पश्चिमतिर अकाशियो।
केही बेरपछि सिटपेटी खोल्न सकिने र शौचालय पनि खुलेको चिन्ह देखिएपछि यात्रुहरूको चहलपहल सुरु भयो।
यसरी पृथ्वीग्रहको सतहबाट करिब अठतीस हजार फिटको उचाइमा पुगेपछि परिचारिकाहरूको सटरपटरसँगै खानाको मीठो बास्ना आयो।
कुनै समय लगातार ‘एअरलाइन्स अफ द इयरको’ पगरी गुथ्न सफल यो वायुसेवाको खाद्य तथा पेय पदार्थहरूको गुणस्तर भने पहिलाभन्दा अलि खस्केको पाएँ मैले।
हङकङबाट मूलभूमि चीनको वुजाउ, कुनमिङ, छेन्दु, अनि थाइल्यान्ड, भियतनाम, बर्मा, बंगलादेश, कलकाता, भोपाल, अहमदावाद, इन्दौर, पाकिस्तानको कराची सहर र अरेबियन सागरमाथिको आकाशे बाटोको जम्मा दूरी ५ हजार ९१९ किमि रहेछ।
अन्ततः आठघण्टा दस मिनेटमा बल्ल बोइङका पांग्राहरूले धुवाँ उडाउँदै दुबईको जमिन टेके।
आकर्षक इमराती पहिरन ‘कन्दुरा’ लगाएर बसेका अध्यागमन र भन्सार कर्मचारीहरूको मिजासिलो व्यवहार र जाँचपछि हामी बाहिर निस्कियौँ।
बिराज बाहिर प्रतीक्षारत रहेछन्।
खिसिक्क हाँस्दै हामीलाई झम्टन आाए।
मलाई बाआमालाई हङकङ एअरपोर्टमा पालैपालो यसैगरी भेटेको सम्झना आयो।
कास! आजको दिन पनि हामी तीनपुस्तै सँगै हुन पाएको भए। म अलि भावुक भएँ।
बिराजले दुबई घुम्न बोलाएको कुरा सुनेपछि सासूआमाले फोनवार्तामा भन्नुभएको सम्झिएँ।
‘जीवन पनि अन्नजस्तै हो, जे रोप्यो त्यही फल्छ। हजुरले बाआमालाई जसरी माया गर्नुभो, हङकङ बोलाएर घुमाउनुभो, सधैँ हाँसीखुसी राख्नुभो। त्यै पितृको आशीर्वादले छोराले त्यही गर्दै छ अहिले।’
सायद त्यै पो हो कि!
हामी पार्किङमा पुग्यौँ। बिजनेस बे, मरासी ड्राइभ, एजी टावरको जीपीएस सेटिङ गरेर बिराजले गाडी अगाडि बढाए।
हङकङभन्दा अझै झल्झलाकार, अद्भूत आकर्षक भवनहरूका डिजाइन, धेरै कोणबाट देखिने बुर्ज खलिफा र दोहोरीलत्तर आठ लेनको बाटोमा गुडिरहेका सवारी साधनहरू छिचोल्दै बासस्थान पुगियो।
स्वास्थ्य तथा धार्मिक कारणले साउन महिनाभरि शाकाहारी बनेकी बेन्जुले मन्दिर दर्शन गरेर मात्रै व्रत समापन गर्ने इच्छा गरेपछि भोलिपल्ट बिहानै छोराले हामीलाई बर दुबईमा रहेकोको कृष्ण मन्दिरतिर डोर्याए।
इस्लामिक देशमा मन्दिर प्रवेशअगाडि फूलका माला तथा पूजा सामग्रीको निकै लामो बजार देख्दा झण्डै–झण्डै स्वदेशकै पशुपति, दक्षिणकाली प्रवेशद्वारको झझल्को आयो।
सन् १९५८ मा दुबईका तत्कालीन राजा शेख राशिद बिन साइद अल माकतुमले मस्जिदसँगै सिमाना जोडिएको जमिन तोक आदेशद्वारा मन्दिरको लागि उपलब्ध गराएपछि निर्माण गरिएको यो मन्दिरको वास्तुकला हवेली शैलीको छ। यो बाहेक दुबईभरि अरु विभिन्न देवी देवताको आधा दर्जन बढी मन्दिरहरू रहेछन्।
राम मन्दिर र बाबरी मस्जिदकै अहंमा जलेर हत्याहिंसाको अति पीडादायक इतिहासका कालखण्ड बेहोरेका हाम्रो छिमेकी देशमा भने अझै पनि यही विषयमै राजनीतिक खिचातानीको मियो घुमिरहेको देखिन्छ।
बर दुबईमै रहेको चर्चित दक्षिण भारतीय परिकारको भोजनालयको मसला डोसा, साम्बर, नरिवलको चटनी, पानीपुरी, पावभाजीले कुनै समय काठमाडौँको न्युरोड पिपलबोटनजिकैको बैङ्लोर कफी हाउसको सम्झना आयो।
पुरानो दुबईको पर्यटकीय क्षेत्रको पैदल यात्रा र परम्परागत डुङ्गा यात्रापछि हामी दुबई फ्रेम भनिने चर्चित संसारकै सबैभन्दा ठूलो तस्बिरको फ्रेम आकारकै अजङ्गको अत्याधुनिक भवन भएतिर लाग्यौँ।
जबिल पार्कनजिकै बनेको यो स्मारक भवन सन् २०१३ मा सुरु भएर २०१८ जनवरीमा उद्घाटन गरिएको रहेछ।

सुनौलो रङको १५० मिटर अग्लो र १०५ मिटर चौडा यो भवनका डिजाइनकर्ताले यसको डिजाइनको लागि ९२६ सहभागीमध्येबाट पहिलो भएर ‘थाइसनक्रूप इन्टरनेसनल अवार्ड’ समेत जितेका रहेछन्।
प्रतिघन्टा २०० जना पर्यटक घुम्न मिल्ने यो फ्रेमको सबैभन्दा माथिल्लो भागको ग्लास वाक गर्न भने उचाइदेखि डर लाग्नेहरूलाई मुस्किल हुन्छ।
त्यसपछि म्युजियम अफ फ्युचरतिर अगाडि बढ्यौँ।
शेख जाइद रोड, दुबई फाइनान्सियल डिस्ट्रिकमा पर्ने एकपट्टि मोटो देखिने करिब औँठी आकारको यो अजङ्गको २३ तले डिजाइन भवन थिएटर तथा एक्जिबिसनको लागि बनाइएको रहेछ।

दुबईका ७५ वर्षीय वर्तमान राजा तथा युनाइटेड अरब एमिरेट्सका उपराष्ट्रपति शेख मोहम्मद बिन राशिद अल मकतुमले विज्ञान, प्रविधि आविष्कार र विकासको लागि भनेर यस संरचनाको निर्माण गराएका रहेछन्।
सन् २०१६ मा निर्माण सम्पन्न चाँदी रङको भवनको बाहिरी भागमा यसैसँग सम्बन्धित विषयमा उनै राजाले लेखेका कविता अरबी भाषामा देख्न र बुझ्नेले पढन सक्छन्।
त्यसपछि साँझपख संसारकै सबैभन्दा अग्लो भवन दुबई सहर वा देशकै पर्याय बनेको ‘बुर्ज खलिफा’ हेर्नतिर लाग्यौँ।
बुर्जको अर्थ अरबी भाषामा अग्लो टावर वा संरचना र खलिफाको अर्थ उत्तराधिकारी, शासक वा नेता हुने रहेछ।
करिब १२ हजार मजदुरहरूद्वारा सन् २००४ जनवरीमा निर्माण सुरु भएर २००९ अक्टोबरमा तयार भएको यो भवन बनाउन करिब १.५ अर्ब डलर खर्च भएको बताइन्छ।
८३८ मिटर उचाइ भएको १६३ तले यो अजङ्गको रकेटजस्तो लाग्ने टावरको वास्तुकला शैलीलाई ‘नयाँ भविष्यवाद’ भनिने कुरा पथप्रदर्शकले बताए।

फ्रान्सको आइफल टावरभन्दा तीन गुणा अग्लो यो भवनमा ५८ वटा तीव्र गतिमा चल्ने लिफ्टहरू, ३७ वटा तला अफिस फ्लोर, ९ सय वटा अपार्टमेन्ट, ३ हजार कारपार्क र ३०४ वटा होटलका १२०० कोठाहरू रहेछन्।
सूर्योदय र सूर्यास्तको समयमा अत्यधिक पर्यटकहरूको घुइँचो लाग्ने यो संरचना ९७ किमि टाढासम्मबाट पनि देख्न सकिन्छ र यसले धेरै विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएको रहेछ।
दुबईको चर्चित प्रपर्टी डेभ्लपर एमार ग्रूपद्वारा बनाइएको यो भवनको डिजाइन ‘स्किमडोर, अइङ एन्ड मेरिल’ नामक अमेरिकी कम्पनीले गरेको रहेछ।
तीन लाख तीस हजार क्युबिक मिटर कंक्रिट, फ्रान्सबाट आयात गरिएको ७ हजार मेट्रिक टन विशेष फलाम, एअरबस ३८० को वजन बराबरको आल्मुनियम अनि २६ हजार ग्लास प्यानल प्रयोग गरिएको यो भवनको बाहिरी भाग मात्र सफा गर्न करिब तीन महिना लाग्ने बताइन्छ।
टावरको बेलुकीको लाइट र वाटर सो हेरेपछि स्थानीय अरबी परिकारको लागि चर्चित नजिकैको जाम जाम मण्डी भन्ने भोजनालयतर्फ लागियो।
मटन वा चिकनलाई विभिन्न प्रकारका अरबी मसलाहरूमा मोलेर विशेष प्रकारको चामलसँगै सानो आगोमा दम लगाएर पकाइने यो परिकारको स्वाद हैदराबादी बिरयानीसँग मिल्दोजुल्दो लाग्यो। बिफ वा उँटको मासुमा पनि बनाइने चलन रहेछ।
ठूलो नाङ्लो जत्रो थालमा मीठो बास्ना आउने र मसलादार राइसमाथि जुसी, नरम, सिँगै खसीको फिला वा ह्याकुलो, सिंगै चिकन सबै परिवार वा पाहुनासँग वरिपरि पलेटी कसेर हातले खाँदा आपसी आत्मियता बढ्छ भन्ने जनश्रुति रहेछ।
पछिल्लो समय भने घर वा रेस्टुरेन्टमा कुर्सी टेबुल र चम्चा काँटाको प्रचलनमा रूपान्तरण हुँदै छ।
भरिभराउ रेस्टुरेन्टका कति टेबलमा ग्राहकहरूले आधा खाना नबुत्याएर हिँडेको देख्दा मन कटक्क भयो।
नहोस् पनि कसरी?
युद्घग्रस्त प्यालेस्टाइनको गाजा र सेरोफेरोमा एकटुक्रा पाउरोटी वा एक बटुको भातको लागि बालक देखि वृद्धसम्मको लुछाचुँडी भएको टेलिभिजको ह्रदयविदारक दृश्य सम्झेँ मैले।
अझ पेटभरि मासु या यसका परिकार खान दसैँ नै आउनुपर्ने जमानाको म। चैते दसैँ, माघे वा साउने सङ्क्रान्तिमा गाउँमा कहीँकतै बोका–खसी काटिए एक बिसौली वा किलो झोल हालेको मासु आमाले पित्तले कसौँडीबाट डाडुले दामसाहले पस्कनु हुन्थ्यो सबैलाई।
खाना कहिल्यै फाल्न नहुने कुरामा मसँगै बेन्जु, बिराज र काया पनि सचेत छन्।
दुबईमा हङकङजस्तो जतासुकै सर्वसुलभ पाइने अल्कोहलिक पेय पदार्थका पसल वा बारहरू भने देखिन्नन्।
तारे होटल वा इजाजतप्राप्त स्थानमा बसेर मजासँग पिउन सकिन्छ। तर सार्वजनिक स्थानमा हातमा पिउँदै बोकेर हिँड्ने वा नसामा कुनै होहल्ला गरिए कानुन कडा रहेछ।
इच्छुक विदेशीहरूको हकमा भने सरकारद्वारा जारी अल्कोहलिक पेय पदार्थ किन्ने परिचय पत्र देखाएर निश्चित स्टोरहाउसहरूबाट सजिलै चलनचल्तीकै मूल्यमा उपलब्ध हुने रहेछ।
बरु खानापछि कफी, जुस वा मिठाइ पसलमा गफिँदै बस्ने चलन व्यापक रहेछ यहाँ।

हामी पनि बर दुबईनजिकै डेरा भन्ने ठाउँको निकै चर्चित अरबी मिठाइ पसलतिर लाग्यौँ। नेपाल वा भारतको परम्परागत मिठाइ पसलको झझल्को आउने यो मिठाइ क्याफेको ‘खुनाफा’ भनिने विशेष र अरु परिकारका मिठाइ खान स्थानीय र पर्यटकहरूको भिड थियोे।
चिज, चिनी र पिस्ताचुबाट बनाइने यो खुनाफा मिठाइ प्यालेस्टाइनको ‘नाबलुस’ भनिने सहरमा उत्पत्ति पछि मध्यपूर्वभरि फैलिएको रहेछ।
काउन्टरमा बसेका स्थानीय इमराती मूलका साहुजीसँग गफिने बहाना खोज्दै मैले भनेँ, ‘भेरी नाइस डिजर्टस एण्ड योर प्लेस। वि लाइक इट। हाउ लङ यु बिन हेयर?’
‘ओ सिन्स माइ ग्रान्डफादर्स टाइम,’ उनले खुसी हुँदै भने अनि मलाई सोधे, ‘ह्वेर आर यु फ्रम?’
‘फ्रम नेपाल। बट वि लिभ इन हङकङ। बट आवर सन लिभ्स ह्यर सिन्स लास्ट वन इयर,’ मैले भनेँ।
‘ओ नेपाल, भेरी नाइस नेचुरल प्लेस, हाइएस्ट माउन्टेन एन्ड पिपुल अल्सो। नाउ दे आर मेनी इन आवर कन्ट्री एज वेल। भेरी हार्ड वर्किङ एन्ड अनेस्ट पिपुल,’ उनले थपे।
‘एस्, वि आर बट नाउ दुबई इज मोर फेमस फर टुरिस्ट एन्ड अमेजिङ डिभलपमेन्ट इन अ सर्ट पिरियड!’ मैले भनेँ।
‘बिकज अफ आवर प्रेजेन्ट किङ। हि इज नट वन्ली किङ अफ आवर नेसन, हि इज आवर गड एन्ड अल डिभलपमेन्ट क्रिएटर। वि लभ हिम। हमदुल्ला (थ्याङ्क गड),’ उनले भने।
‘वाउ भेरी लक्की कन्ट्री एन्ड पिपुल। ह्युज कङ्य्राचुलेसन्स!’ भनेर हात मिलाउदै त्यहाँबाट हिँडियो।

हामी सहर परिक्रमा गर्दै घरतिरको बाटो सोझियौँ।
हङकङ र दुबई कताकता उस्तैउस्तै लागे पनि हङकङका गगनचुम्बी आवास र वाणिज्य भवनहरूमा यसका डेभ्लपर अर्थात् निर्माण कम्पनीहरूको सानो लोगो राखिएको हुन्छ त्यसको धुरी वा मूलगेटमा।
तर दुबईमा भने डेभ्लपरहरूको नाम भवनको उचाइ बराबरकै वा छतमा झलझलाकार ठुल्ठूला बोर्डमा लगाइने चलन रहेछ।
एमर, एलिङ्टन, दमक, अजिजी, दुबई प्रपर्टी, बेङ्गाती र शङ्काराजस्ता डेभ्लपरका ठूल्ठूला बोर्डहरूले अझै उज्यालो थपेको छ यो सहरलाई।
हङकङका स्थानीयहरू पानीलाई शुभ मान्छन्। हङकङका पूरा वा आंशिक समुद्री दृश्य भएका आवास अपार्टमेन्ट वा अफिसहरू अन्यभन्दा बेच्न सजिलो र किन्न महँगो हुन्छ।
तर दुबईमा भने प्रपर्टी एजेन्टहरूको मुखमा बुर्ज खलीफा भ्यु, दुबई फ्रेम भ्यु बराबरै सि भ्यु, कनाल भ्यु आउने रहेछ पछिल्लो समय।
त्यो रात बासस्थानको बाल्कोनीबाट बुर्ज खलीफाको चुच्चोसँगै पूर्ण चन्द्रमामा निकैबेर हेरेर बहकिएँ म।
भूगर्भशास्त्रीहरूले साठी मिलियन वर्षअगाडि उत्पत्ति भएको भनेको सगरमाथा हाम्रो देशमा छ। सन् १८५० को दशकमा सगरमाथा विश्वको सर्वोच्च शिखर हो भन्ने तथ्य पत्ता लाग्दै गर्दा पर्सियन गल्फको तटमा अवस्थित दुबई ८–९ सय जनसंख्या भएको एउटा साधारण माझी गाउँ थियो।
२९ मे १९५३ मा पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले मानव पाइला राखेपछि हाम्रो देशको प्रसिद्धि अझै चुलियो सगरमाथाको देश भनेर।
जतिबेला दुबईको खासै चर्चा थिएन।
अहिले पृथ्वी ग्रहका सबैभन्दा अग्लो पर्वत हाम्रो सगरमाथाजति नै चर्चा मानव निर्मित बुर्ज खलिफाले कमाइरहेको छ। पृथ्वी ग्रहका १४२ वटा स्मार्ट सिटीमध्ये आठौँ नम्बरमा पर्छ दुबई अहिले। यहाँको यो कायापलट करिब ३०/४० वर्षमै भएको रहेछ।
हाम्रो सगरमाथामा वर्षको सीमित महिनामा मात्रै पर्यटक आँउछन्, चहलपहल हुन्छ। तर माउन्ट एभरेस्टभन्दा करिब ८ हजार मिटर होचो बुर्ज खलिफा र यहाँका अरु मानव निर्मित संरचनामा बाह्रै महिना भिडभाड लाग्छ।
वास्तवमा देश हाँक्नेहरूमा देश हितको महत्त्वाकांक्षाको साथै देशप्रेम, लगनशीलता, अनुशासन र इमान्दारी भैदिए सजिलै देश विकास र समुन्नत मात्रै हैन मरुभूमि पनि हरभरा हुन सक्ने रहेछ भन्ने दुबईको दुई दिनकै अनुभवले अनुभूति गरेँ मैले।
हामीलाई प्रकृतिले विश्वकै सर्वोत्कृष्टमध्येको खास क्षेत्र दिएको छ। अत्यधिक तापक्रम हुने मरुभूमिलाई सुनको टुक्रामा रूपान्तरण गर्दैछन् उनीहरू।
हाम्रो देशका हजारौँ युवासँग एअरपोर्टदेखि यो सहरका गल्तीगल्लीमा जम्काभेट हुँदा भने दुःख लाग्छ, मन चसक्क हुन्छ।
हामी खासमा तीन बाली धान रोप्न मिल्ने खेत बाँझो राखेर अरुको खेतमा ज्यालादारी गर्न किन कसरी बाध्य पारियौँ?
स्वदेशको युवा पुस्तालाई यो अवस्थामा पुर्याउने कारण र दोषी को?
राजतन्त्र, राणातन्त्र, राजासहितको प्रजातन्त्र, शक्तिशाली राजा सहितको पञ्चायति तन्त्र, संवैधानिक राजा सहितको प्रजातन्त्र वा दुई दशक पुग्न लाग्दा पनि धर्मराँउदै हिँडिरहेको गणतन्त्र? या सबै शासकहरू?
पारिवारिक ग्रुपच्याटमा बिराजले पठाएका बाँकी दस दिनमा घुम्न र अनुभव गर्न बाँकी ठाउँहरूका सूची हेर्दै दुबईको आकाशमुनि यिनै प्रश्नहरू सोच्दै सुत्ने तरखरमा लागेँ म त्यो रात।
Shares

प्रतिक्रिया