काठमाडौँ महानगरपालिकाले सुकुमवासी बस्ती हटाइएका कारण यस वर्ष नदीजन्य विपद्का घटना कम हुने विश्वास लिएको छ।
महानगरपालिकाका वडा नम्बर ११, १४, ३१ र ३२ आसपास नदी किनारामा घरटहरा बनाएर बसेका नागरिकलाई हटाएका कारण अब नदीजन्य विपद् कम हुने अपेक्षा गरिएको नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले बताए।
‘विगतका वर्षमा नदी आसपासका स्थानमा नै बाढीजन्य घटना बढी घट्ने गरेका थिए। उक्त स्थानमा रहेको बसोबास हटाइएपछि यस वर्ष एक-दुई स्थानमा छिटपुटबाहेक नदीजन्य विपद्का घटनामा कमी आउने विश्वास छ,’ उनले भने।
उनका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनुपर्ने छ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिए।
सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापनाका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने गरी कामपाले काम गरिसकेको उनको भनाइ छ।
सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माणको आवश्यकता रहेको पनि उनले बताए। सामूहिक ज्ञान, सिप र सोच विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा विश्वास लिइएको छ।
आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुसार कार्यक्रम र बजेट प्रस्ताव गरिने उनले बताए। विपद् व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जानकारी उनले दिए।
‘वडास्तरीय विपद् व्यवस्थापनका लागि पूर्वाधार विकासजन्य जोखिमसहित पूर्वानुमान गर्ने, कामपाका केन्द्र र वडास्तरीय क्षमता विकास गर्ने गरी नीति ल्याउनुपर्ने आवश्यकता छ,’ उनले भने।
सहरको पहिलो जोखिम आगलागी रहेको भन्दै जोशीले जोशीले विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको बताए।
‘आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्किने गरेका छन् । सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ,’ उनले भने।
Shares

प्रतिक्रिया